प्रधानमन्त्री देउवाको भारत भ्रमण चैत १८ देखि २० सम्म हुने

२०७८, ११ चैत्र शुक्रबार ०६:२०

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।
स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने संभावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री यी शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै देउवा भारत जान लागेका हुन् । देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर, कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्ध भएको थियो । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन् । हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार (भोलि)मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।

Comments

ताजा खबर