काठमाडौँ – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्व बजारमै आर्थिक गतिविधि प्रभावित बनेको छ । विश्वभरका प्रायः सेयर बजारमा बिहीबार भारी गिरावट आएको, पेट्रोलियम पदार्थ र सुनको मूल्य बढेको, बिटक्वाइनलगायतको मूल्य उच्च दरले घट्नुले आर्थिक गतिविधि नराम्ररी प्रभावित हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विश्व बजारमा बिहीबारसम्म तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर पुगेको छ । यो पछिल्लो ८ वर्षयताकै उच्च हो । सन् २०१४ मा प्रतिब्यारेल तेलको मूल्य १ सय ६.४५ अमेरिकी डलर थियो । तेलको मूल्यमा भएको भारी वृद्धिको असर तत्काल नेपाली बजारमा पनि देखिनेछ । त्यसै पनि केही महिनायता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको थियो । यही कारण नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । रुस र युक्रेनको युद्धले ती राष्ट्रहरूको अर्थतन्त्र प्रभावित हुने भएपछि विश्व बजारमै तेलेको मूल्य अकासिने भएको हो ।

युरो जोनको सेयर बजार पनि नराम्ररी प्रभावित भएको छ । यसअनुसार बिहीबार युरो जोनका सेयर बजार करिब ४ प्रतिशत घटे । तर उच्च मूल्यमा कारोबार हुँदै आएका सरकारी ऋणपत्र, अमेरिकी डलर, स्विस फ्र्यांक, जापानी ऐन र सुनको मूल्य भने बढेको छ । सेयर बजार उच्च अंकले ओरालो लागेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएका उल्लिखित औजारमा लगानीकर्ताले लगानी बढाएपछि तिनको मूल्य बढेको हो । रुसी मुद्रा रुबलको भाउमा पनि करिब ७ प्रतिशत गिरावट आएको छ । युद्धको समयमा हिंसात्मक गतिविधिमा धेरै मुद्रा उपयोग हुने अनुमान छ ।

पेरिसस्थित ‘क्याक ४०’ सूचक बिहीबार ४.३८ र फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ ५.०९ प्रतिशत घटे । लन्डनस्थित ‘फुट्सी १००’ ३.०५, युरोपका युरोनेस्क्ट ३.८० र स्विट्जरल्यान्डको स्विस मार्केट सूचक ३.०३ प्रतिशत घटेको छ । रुस र युक्रेनको युद्ध धेरै दिन लम्बिए यी सबै क्षेत्रका सेयर बजार थप प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक पनि बिहीबार घटेर बन्द भए । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक करिब २ प्रतिशत र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट १.४९ प्रतिशत घटे । ‘डाउजोन्स’ सबैभन्दा धेरै करिब २ प्रतिशत र न्यासड्याक करिब १.३० प्रतिशत घटे ।

रुसी सेनाले युक्रेनका धेरै सहरमा मिसाइल प्रहार गरेसँगै विश्व बजारमा बिटक्याइनको मूल्यमा भारी गिरावट आएको छ । यसअनुसार बिहीबार मात्र बिटक्याइनको मूल्य करिब ८ प्रतिशत (३४ हजार ३ सय २४ अमेरिकी डलर) घटेर पछिल्लो एक महिनायताकै न्यून बिन्दुमा ओर्लेको छ । इथरको मूल्य १०.४ प्रतिशत घटेको छ । युद्धले अनिश्चितता बढाएकाले जोखिमपूर्ण मानिएको बिटक्वाइन, क्रिप्टोकरेन्सीलगायत औजारको मूल्यमा भारी गिरावट आएको बताइएको छ ।

रुस र युक्रेनको युद्धले विश्व बजारमा मूल्यवृद्धि दर उच्च हुने अनुमान गरिएको छ । युद्धले आपूर्ति प्रणाली प्रभावित हुने भएकाले त्यसको प्रत्यक्ष असर मूल्यवृद्धिमा पर्ने अनुमान गरिएको हो । ‘रुसी सेनाले गरेको प्रत्यक्ष आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्यमा चर्को वृद्धि हुन भय लगानीकर्तामा परेको छ, जसले विश्वभरको अर्थतन्त्रमा लगानी र अर्थतन्त्र वृद्धिलाई खतरामा पार्न सक्छ,’ न्युयोर्क टाइम्सले लेखेको छ ।

केही महिनायता नेफाली बजारमा बजार मूल्य बढ्न थालेको छ । यही समयमा रुस र युत्रेनको युद्धले विश्व बजारमै मुद्रास्फीति बढ्ने बलियो संकेत देखिएको छ । यसबाट तत्कालै नेपाली बजार प्रभावित हुने अर्थविद्हरू बताउँछन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको बढोत्तरीले नेपाली बजार पनि छिट्टै प्रभावित हुने देखिन्छ । नेपालको कुल उपभोगमा कम्तीमा ४० प्रतिशत हिस्सा बाहिर (आयात) बाट आउनेकै छ । त्यसमा पनि तोरी र भटमासको तेल, मकै, घरपालुवा जनावरलाई दाना, सुन्दरताका सामग्री, स्मार्ट वाच र थोरै परिमाणमा सुन युक्रेनबाट आयात हुने गरेको छ । रुसले आक्रमण गरेपछि यहाँको अर्थतन्त्र प्रभावित हुने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने जानकारहरूको भनाइ छ ।

केही साताअघि मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य अनुमान सर्वेक्षणले आउँदो तीन महिनामा ८ र एक वर्षमा १० प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण गरेको छ । यही अवस्थामा अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको मूल्य अकासिँदा आयातमा निर्भर नेपाली अर्थतन्त्र तत्कालै प्रभावित हुने जानकारहरूको तर्क छ । यसकारण सम्भावित उच्चदरको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार (वित्तीय औजार) र राष्ट्र बैंकले (मौद्रिक औजारमार्फत) परिचालन गर्नुपर्ने उनीहरू बताउँछन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago