यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

फाइल तस्विर

‘काकेन दधि भक्षितम्’अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो। यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवद्र्धनपूजा) र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ। यसवर्ष सूर्य ग्रहण लाग्ने भएकाले लक्ष्मी पूजा सोमबार परेको छ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो।

शास्त्रअनुसार बहिनीको घरमा रहँदाबस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए। यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदीभाइ र दाजुबहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजुभाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन्। यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए। राससको सहयोगमा ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago