खानेपानीको समस्या झन विकाराल हुँदै

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर र छहरा छन् । गाउँको पुछारमा म्याग्दी नदी सललल बगिरहेको छ । बाहिरबाट पहिलो पटक गाउँमा आएका मानिसका लागि यहाँ के कुराको दुःख होला र ? जस्तो लाग्ने बगरफाँट गाउँमा गर्मी सुरु हुने वित्तिकै खानेपानीको हाहाकार नै हुने गर्दछ ।

गाउँमा धारा छन् । बाढीपहिरो र समय समयमा ट्याङ्की तथा पाइपलाइनमा देखिने खराबीका कारणबाहेक अघिपछि ती धारामा पानी पनि आउँछ । तर त्यो पानीले स्थानीयवासीको आवश्यकतालाई पूर्ति गर्न नसक्दा पानी भर्ने र घरघरमा पाइपमार्फत पानी लैजाने निहुँमा छिमेकीसँग स्थानीयवासिन्दा झगडा गर्न बाध्य हुन्छन् ।

बगरफाँटको खहरेखोला टोलमा सात घर परिवारका लागि एउटा धारो छ । धारोमा सानो पानी झर्छ । धारा वरिपरि पाइप असरल्ल विछ्याइएका छन् । पाइप जोडेर आफ्नो घरमा पानी लैजानका लागि छिमेकी हानथाप गर्ने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी डोलेन्द्र शर्मा (गोपाल) ले सात घर परिवारका करिब ३० व्यक्तिले दैनिक रुपमा एउटै धारो प्रयोग गर्नुपर्दा समस्या हुने गरेको बताए। “धारामा सानो पानी आउँछ । सबैले धाराको पानी पाइपमार्फत आआफ्नो घरसम्म पु¥याउन खोज्छन् । त्यही पानी तरकारी र फलफूलमा सिँचाइका लागि पनि प्रयोग गर्नुपर्ने हुँदा छिमेकीको सधैँ झगडा हुने गर्दछ ।” उनले भने ।

खहरेखोला टोलमा मात्रै होइन, २२२ घरधुरी रहेको बगरफाँट गाउँभरि नै यस्तै समस्या रहेको स्थानीयवासी बताउँछन् । यहाँ माघदेखि जेठसम्म सधैँ खानेपानीको समस्या हुने गरेको स्थानीयवासी टीकाबहादुर कार्कीले बताउनुभयो । “वस्ती विस्तार हुँदै जाँदा पानीको समस्या उत्पन्न हुँदै गएको छ”, उनले भने “पानीको स्रोत सुक्दै गएपछि यो समस्या आएको हो ।”

स्थानीयवासीका अनुसार बगरफाँटका जलकुनी, आप्रे छहरो, भिरकुना, उडाइनो छहरा, जरुवालगायत ६ ठाउँका पानीका मूल सुकेपछि खानेपानीको समस्या जटिल बन्दै गएको छ । बगरफाँट गाउँ सदरमुकामदेखि नजिकै रहेको र प्रायः सबै सुविधा यहाँ उपलब्ध भएकाले जिल्लाका अरु गाउँबाट पनि बसाइ सरेर कामको खोजीमा यहाँ आउने क्रम बढेकाले पनि खानेपानीका लागि थप समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गाबहादुर थापाले बताए।

बगरफाँटमा बेनी नगरपालिका–३ भकिम्ली र वडा नं २ को बगरफाँट सामुदायिक वनको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ । विसं २०६८ मा सञ्चालनमा आएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना १० वर्ष नबित्दै जीर्ण बन्दै गएको र मर्मत सम्हारको अभावमा पानीको चुहावटसमेत हुने गरेको स्थानीयवासीको गुनासो छ । साविकको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र स्थानीयवासीको श्रमदान गरी करिब रु ६० लाखको लागतमा निर्माण भएको सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि अहिले समस्या देखिएको हो । आयोजना पूर्णरुपमा उपभोक्ता समितिकै स्वामित्वमा रहेको छ । अहिले सो समिति पनि निस्क्रिय अवस्थामा रहेकाले पाइपलाइनमा समस्या देखिएको छ । समयमा मर्मत कार्य नहुँदा खानेपानीको समस्या झन विकाराल हुँदै गरेको स्थानीयवासीको भनाइ छ । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago