अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेट–वार्तापछि राजनीति फेरि तरंगित

काठमाडौँ : अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेट–वार्तापछि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेपछि राजनीति फेरि तरंगित हुन पुगेको छ । भेटपछि देउवा र ओली दुवै समूहका नेताहरु हँसिलो मुद्रामा बाहिरिएका छन्, सँगै नेताहरुले नयाँ समीकरण निर्माणको संकेत पनि गरेका छन् ।

बेलुकी डिनरसहितको बालुवाटार वार्तामा पहिला दुवै समूहबीच सामूहिक र पछि देउवा–ओलीबीच मात्र ‘वान अन वान’ वार्ता गरे । उक्त ‘वान अन वान’ वार्ताबारे नेताहरुले स्पष्ट बताउन चाहेनन् ।

बालुवाटार वार्ताको प्रारम्भमा एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले ओलीसँग आग्रह गरेका थिए । एमालेकै सरकार हुँदा एमसीसी अनुमोदनका निम्ति संसद्‍मा दर्ता गरेकाले अब पारित गर्न पनि एमालेले नै सहयोग गर्नुपर्ने देउवाको प्रस्ताव थियो । ओली सरकार हुँदा २०७६ असारमा एमसीसी संसद्‍मा दर्ता भएको थियो ।

तर माओवादीका सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया र पद्धतिविपरीत प्रस्ताव कार्यसूचीमा राख्‍नै चाहेका थिएनन् । निकै चर्काे दबाबबीच केही दिनअघि अर्थात् ३२ महिनापछि मात्र उक्त प्रस्ताव संसदीय कार्यसूचीमा चढेको थियो । उक्त प्रस्ताव कार्यसूचीमा चढेकै दिन माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले काठमाडौंमा तान्डव दृश्य प्रदर्शन गरेका थिए ।

सामूहिक वार्तामा एमाले अध्यक्ष ओलीले पहिला आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान दोहोर्‍याए । अर्थात् एमालेबाट चोइटिँदै नयाँ दल नेकपा एकिकृत समाजवादी खोलेका माधवकुमार नेपालसहित १४ जना सांसद पद खारेजीका निम्ति सहयोग गर्नुपर्ने भनाइ उनीहरुको रह्यो । सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली पालना नगरी बद्नियतपूर्वक शैलीमा १४ जना सांसदको पद खारेजीको सूचना टाँस्न अस्वीकार गरेको हुँदा त्यसमा कांग्रेसले सहयोग गर्नुपर्ने धारणा एमालेको थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल लगायतलाई साक्षी राखेर अध्यक्ष ओलीले एमसीसी अनुमोदनका बेला संसद्मा राजनीतिक रुपमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासँग माग गरेका थिए ।

आफ्ना माग सुनुवाइ गर्न सरकार तयार भए एमसीसीका विषयमा बालुवाटारमा होइन, संसद्मै छलफल गर्न सकिने प्रस्ताव पनि ओलीले गरेका थिए । ओलीको माग सभामुख अग्नि सापकोटा लक्षित थियो । आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले तत्काल पदमुक्त नगर्दा एमाले फुटाएको आरोप लगाउँदै ओलीले त्यसको जिम्मेवार सापकोटा भएको बताएका थिए ।

एमसीसीभन्दा पहिला आफ्ना मागमा कांग्रेस गम्भीर हुनुपर्ने ओलीको तर्क थियो । भेटमा सहभागी नेताहरुका अनुसार, ओलीका भनाइ देउवाले गम्भीरतापूर्वक सुनेका थिए । सभामुख सापकोटा माओवादीका भएको हुँदा यसबारे देउवाले तत्काल कुनै टिप्पणी गरेनन् ।

‘प्रधानमन्त्रीज्यूले एमसीसी पारित गर्न सहयोग गर्नुपर्छ भनेपछि हामीले हाम्रा माग र मुद्दा पहिला सम्बोधन गर्नुस् भनी अध्यक्षज्यूले भन्नुभएको हो,’ ओलीको भनाई उद्धृत गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले इकागजसँग भने, ‘हाम्रा माग सम्बोधन गरेर सदनमा भाग लिने वातावरण मिलाउनुस् । त्यसपछि एमसीसीमा हाम्रा दृष्टिकोण लिएर सदनमै उपस्थित भएर छलफल गर्न तयार छौँ ।’

भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमसीसी ओली सरकारकै पालामा संसदमा दर्ता भएकाले पारित गर्न प्रधानमन्त्री देउवाले सहयोग मागेको बताए ।

‘एमसीसी तपाईँकै पालामा दर्ता भएको हो । तपाईंकै अविछिन्न उत्तराधिकार यो सरकार भएकाले अब पारित गर्न सहयोग गर्नुपर्यो भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो’ देउवाको भनाई उदृत गर्दै कांग्रेस उपसभापति खड्काले इकागजसँग भने, ‘त्यसमा उहाँहरुले पहिला आफ्ना माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । त्यसबारेमा मोटामोटी कुरा भएपनि ठोस कुरा भएन । दुवैले आ–आफ्ना कुरा राख्ने काम भयो ।’

ओलीका ती मागहरुमा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगर्ने सभामुख सापकोटालाई हटाउनुपर्ने भन्ने छ । त्यस्तै एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउने माधवकुमार नेपाललाई पनि कारबाही गर्नुपर्यो भन्ने एमाले नेताहरुको माग देखिन्छ ।

तर यसबारे प्रधानमन्त्री देउवाले अनुहार हेराहेर गरेपनि तत्काल कुनै टिप्पणी भने बालुवाटारमा गरेनन् । पौडेल र खड्काका भनाईमा एमसीसी केन्द्रित छलफलमा अब मिलेर पारित गर्नतिर दुबै शीर्ष नेताको ध्यान थियो । तर ठोस सहमति भने भएन ।

त्यसपछि ‘वान टू वान’ वार्ता

अमेरिकी राजदूत बेरीलाई भेटेर बालुवाटार पुगेका ओली र देउवाबीच निर्णायक छलफल भएको स्रोत बताउँछ । खासगरी एमसीसी टेबल भएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको द्वैध चरित्र देखाएपछि कांग्रेस सत्ता सहयात्रीबाटै आजित बनेको छ ।

सत्तारुढ माओवादी र समाजवादीका कार्यकर्ताले तोडफोड र ध्वसांत्मक राजनीति देखाएपछि देउवा, प्रचण्ड र माधव नेपालबाट बिच्किएका छन् । त्यसमाथि एमसीसी टेबल गर्ने विषयमा पनि अन्तिम समयसम्म प्रचण्डले देखाएको द्वैध चरित्रबाट देउवा झन् त्रसित भएका हुन् ।

टेबल गर्नै सकस बनाएर पारित गर्न असहयोग गर्ने स्पष्ट संकेत सत्ता सहयात्रीबाट पाएपछि देउवा प्रमुख प्रतिपक्षी नेता ओलीसँग निर्णायक वार्तामा जुटेका हुन् । जहाँ आवश्यक सत्ता गठबन्धन निर्माण गरेर भएपनि एमसीसी पारित गर्ने विषयमा दुई नेताबीच आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

‘मुख्य विषय भनेकै एमसीसी हो,’ बालुवाटार स्रोतले भन्यो, ‘एमसीसी पारित गर्दा यो सत्ता गठबन्धन भत्किएमा केन्द्रमा कांग्रेसलाई सहयोग गर्ने र प्रदेशमा एमालेलाई सहयोग गर्ने कुराले ठोस आकार लिन सक्छ ।’

सत्ता गठबन्धनमै रहेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीका विषयमा सत्तामै उल्झल ल्याउने संकेत दिएपछि देउवा अब ‘किक आउट’ गर्ने निष्कर्षमा पुगेका छन् । तर यसका लागि ओलीसँग लिखित सम्झौता हुन बाँकी छ ।

विगतदेखि ओली–देउवाबीच आपसी सत्ता साझेदारी हुँदै आएकोमा दुई पुराना नेताले फेरि सत्ता गठजोड गर्ने सम्भावना उत्तिकै छ । त्यसमाथि माओवादी र समाजवादीमा भरपर्दा नेता नभएको निस्कर्षसहित देउवा ओलीसँग सघन वार्तामा उत्रिएका हुन् ।

Comments
Kamal Panthi

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago