मलेसिया पठाइदिने स्किमलाई जनताले पत्याएनन्, धनगढीमा स्वतन्त्र उम्मेदवारको जीत

२०७९, ८ जेष्ठ आईतवार १४:३५

कैलाली: ‘आ-आफ्ना मान्छेलाई टिकट दिएर ‘पावर सो’ गर्ने प्रवृत्तिका कारण मेयर र वडा अध्यक्षसमेत अप्ठ्यारोमा पर्ने र वडामा मिश्रित परिणाम आउने खतरा देखिरा’छु,’ धनगढी उपमहानगरमा कांग्रेसबाट मेयर आंकक्षी कृष्णबहादुर महराले करिब एक महिनाअघि सामाजिक सञ्जालमा लेखेका थिए। महरा धनगढीमा मेयरका लागि बलिया पात्रका रूपमा हेरिएको थियो।

नृप वडसँगै २०७४ र यस पटकको स्थानीय तहको निर्वाचनमा टिकट पाउने सूचीमा महराको नाम पनि चर्चामा थियो। यसपटक त उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै मेयरमा उम्मेदवारी सिफारिस गरिदिन आग्रह गर्दै पत्र पनि पठाए। तर, त्यसको केही दिनमै गठबन्धन गर्ने र त्यसमा नेपाली कांग्रेसले निवर्तमान नगर प्रमुख वडलाई नै दोहोर्‍याउने निर्णय गर्‍यो। यस्तो निर्णयलगत्तै महराले असन्तुष्टि जनाउँदै आएका थिए। त्यसो त उनी आरजुलाई हराएको आरोपमा पार्टीबाट कारबाहीमा परेका कांग्रेसका नेता पुष्करनाथ ओझा निकट मानिन्छन्।

एक महिनाअघि उनले भनेझैं अहिले धनगढीको अन्तिम मत परिणाम मिश्रित मात्र हैन, २०७४ मा एक्लै कांग्रेसले ल्याएभन्दा सिंगो गठबन्धन कमजोर देखिएको छ। उपमहानगरका १९ वडामध्ये कांग्रेसले ११ र नेकपा माओवादी केन्द्रले २ गरी गठबन्धनले १३ वडा जित्दा पनि मेयरमा भने गठबन्धनका साझा उम्मेदवारलाई झन्डै दोब्बर मतान्तरको लज्जास्पद हार चखाउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमालले २०७४ को बदला लिन सफल भए। २०७४ मा वडसँग झन्डै २ हजार ८ सय मतान्तरमा पराजित भएका हमालले अहिले भने वडलाई झन्डै १२ हजार मतान्तरले पछि पारे।

सुदूर पश्चिमको एकमात्र उपमहानगरपालिकाको नेतृत्वका लागि हमालले २६ हजार ८ सय ६५ मत पाए भने वडले १४ हजार ८ सय १७ मत पाएका छन्। यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्। उपमहानगरपालिकाका उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४ सय ७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६ सय ७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत पाए। उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली कांग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो। माओवादी केन्द्र ५ वडामा विजयी हुँदा एमाले भने २ वडामा मात्रै विजयी भएको थियो।

यसपटक एमालेले भने धनगढीमा अवस्था सुधार गरेको छ। वैशाख ३० गते भएको मतदानमा ६३ हजार ६ सय ४७ मत खसेको थियो। यसरी अन्तिम मत परिणाम हेर्दा गठबन्धनको निर्णयले धनगढी कांग्रेसमा ठूलो असन्तुष्टि उब्जिएको देखिन्छ।

किन दोब्बर मतले हारे गठबन्धनका नृप वड?

नेपाली कांग्रेस कैलालीका निवर्तमान उपसभापति तथा सभापतिमा पराजित भएका प्रकाश बमले टिकट वितरणपछि जिल्ला कार्यसमितिको कार्यशैलीप्रति तीव्र असन्तुष्टि राखेका थिए। उनले तत्काल सच्चिएर नगए जिल्लामा कांग्रेसको भागमा परेका ७ मध्ये केही स्थानीय तह गुमाउनुपर्ने अवस्था आउनेसमेत सचेत गराएका थिए। उनले भने झैं कैलालीमा नेपाली कांग्रेसले पकड क्षेत्र नै गुमाउन पुगेको छ।

‘जिल्ला कार्यसमितिले आफ्ना खल्तीका मान्छेलाई टिकट दिने र केन्द्रको निर्देशन तथा प्रदेशको निर्णयलाई कुल्चिएर हिँड्ने गरेकाले अहिले यो परिणाम आएको हो,’ बमले भने, ‘यसको सम्पूर्ण जिम्मा जिल्ला कार्यसमिति कैलालीले लिनुपर्छ। नेपाली कांग्रेसको विधान एउटा कुरा बोल्छ तर कार्यसमितिले त्यसको एउटा बुँदासमेत कार्यान्वयन गरेको छैन। सभापति, उपसभापति र सचिवले आफ्ना खल्तीमा टिकेट राखेर वितरण गरेको प्रस्ट छ।’

धनगढीको ४ नम्बर वडामा २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासनमा परेका बुद्धिबहादुर खड्कालाई समेत यसपटक टिकट दिइएको थियो। उनीसहित २३ जना निष्कासनमा परेकालाई समेत जिल्ला कार्यसमितिले टिकट दिएकाले समस्या सिर्जना भएको बमले बताए।

गठबन्धनमा फरक दललाई भाग परेको स्थानीय तहमा समेत आफ्नालाई टिकेट वितरण गरिएको उनको भनाई छ। फलस्वरूप माओवादीले भाग पाएको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ। त्यसले गठबन्धनभित्रै असन्तुष्टि सिर्जना भएको उनको भनाई छ। यसको सम्पूर्ण जिम्मेवारी जिल्ला कार्यसमितिका सभापति, उपसभापति र एक जना सचिवले लिनुपर्ने समेत बमले बताए।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि जिल्ला कार्यसमिति र पार्टीले नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताए।

‘अहिले सबैको दोष बराबरी छ। सबैले सच्चिनुपर्ने समय आएको छ,’ उनले भने,‘२२-२३ हजार त हामीसँग क्रियाशील सदस्य छन्। तर, त्यसको आधामात्रै मत आउनु त सबैका लागि अचम्मको कुरा हो। वडा पनि घटेको छ। त्यसैले टिकट वितरणमै कमजोरी थियो भन्ने निष्कर्षमा हामी छौँ। यसको तत्काल समीक्षा हुन्छ।’

वडाध्यक्षमै टिकट पाएकाहरूले वडामा आफू र नगरप्रमुखमा स्वतन्त्रलाई जिताउन लागिपरेकाले हार बेहोर्नुपरेको नेताहरूले बताउन थालेका छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी डा आरजु राणाले स्थानीय तहको निर्वाचनमा देखाएको क्रियाशीलताले उनी फेरि चुनाव लड्ने मनस्थितिमा रहेको देखिन्छ। तर, कांग्रेसभित्रको अहिलेको किचलोले भने उनलाई थप जटिल हुने प्रष्ट छ।

त्यसो त धनगढीमा कांग्रेस नेतृ आरजु पुगेर केही युवालाई मलेसिया पठाइदिने अफरसमेत गरेकी थिइन् जुन निक्कै भाइरल बन्न पुगेको थियो। वैशाख २३ गते धनगढीको वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जिताएमा दु:ख पाएका केहीलाई मलेसिया पठाउने योजना सुनाएकी थिइन्।

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’ उनले भनेकी थिइन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौँ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौँ। तर, दुःख पाएकाहरू एक/दुई जनालाई पढाउने प्रयास गर्छु। मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ। फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ। ५/६ जनालाई पठाउँछौँ। सबैलाई हामी लग्न सक्दैनौँ।’

आरजुले मलेसिया पठाउने स्किम सार्वजनिक गर्दासमेत धनगढीमा गठबन्धनका उम्मेदवारले प्रमुखमा जित निकालेन मात्र होइन उपप्रमुखमा समेत एमालेकी कन्दकला राना निर्वाचित हुन पुगिन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु