इटहरी उपमहानगरकाे प्रमुखमा कांग्रेसका हेमकर्ण पौडेल विजयी

२०७९, ८ जेष्ठ आईतवार ११:१४

विराटनगर- सुनसरीको इटहरी उपमहानगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन्।

गठबन्धनतर्फबाट उम्मेदवार भएका पौडेलको नेतृत्वमा उपमहानगरपालिकामा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मदेवार यामकुमार सुब्बालाई ५ हजार १८ मतको अन्तरले पराजित गरेका हुन्। पौडेलले ३३ हजार ४९ मत हासिल गर्दा सुब्बा २८ हजार ३१ मतमा सीमित भए। त्यसैगरी, राप्रपाका उम्मेदवार आकाश लिम्बू ३ हजार ९०८ मतसहित तेस्रो स्थानमा रहे।

अर्कोतर्फ, उपमेयरमा एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी ३२ हजार ४३६ मतले विजयी भएकी छन्। चौधरीले नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टलाई १४ हजार ४ सय ५ मतको अन्तरले पराजित गरेकी हुन्।राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव विष्टले १८ हजार ३१ मत पाएका छन्। मेयरमा विजयी पौडेल २०५७ सालमा इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्ववियुमा जितेर राजनीतिमा सक्रिय हुँदै आएका हुन्।

कम्युनिष्टको पडक क्षेत्रका रुपमा स्थापित रहेको इटहरीको मेयरमा विजयी पौडेलले आगामी कार्यकालमा इटहरीको विकास र जनताको अपेक्षा अनुरूप काम गर्ने बताएका छन्।

२० वटा वडा रहेको उपमहानगरपालिकामा मेयरमा पौडेलले जित निकाले पनि वडामा ५ वटामा जित हात पारेको छ।यसअघिको निर्वाचनमा कांग्रेसले १२ वटा वडामा जित निकालेको थियो। यसपटक वडामा नेकपा एमालेले वर्चश्व छ। एमालेले १४ वटा वडामा जित सुनिश्चित गरेको छ। त्यसैगरी, १४ वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यसअघिका मेयर एमालेका नेता द्वारिकालाल चौधरी उपमहानगरमा पटक-पटक विवादमा पर्दै आएका थिए। उनको अभिव्यक्ति र कार्यशैलीका कारण जनतासमेत आजित भएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु