खटपट परे पदै जोखिममा, अर्को दलको चिह्नमा लड्दा के हुन्छ ?

काठमाडौं: स्थानीय तहको निर्वाचनमा अहिले दुईवटा गठबन्धन तयार भएका छन् । एउटा गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ भने अर्को गठबन्धनको नेतृत्व एमालेले ।
कांग्रेसले गरेको गठबन्धनमा सत्तामा रहेका राजनीतिक दल रहेका छन् भने एमालेले गरेको गठबन्धनमा सत्ता बाहिर रहेका राजनीतिक दल ।
अहिले साना दलले ठूला दलको चुनाव चिह्न लिएर निर्वाचनमा पनि होमिएका छन्, जस्तै राप्रपा नेपाल ।

कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल अहिले सूर्य चिह्न लिएर मैदानमा उत्रिएका छन् भने सत्ता गठबन्धनले भागबण्डा गरेका केही स्थानमा पनि रुख चिह्नमा चुनाव लड्ने तयारी छ ।
पोखरामा पनि कांग्रेसले एकीकृत समाजवादीका उमेदवारलाई रुख चिह्न लिएर चुनावी मैदानमा उत्रिन आग्रह गरेको छ । त्यसो गरेको खण्डमा सहयोग गर्न सकिने र जित हासिल गर्न सकिने कांग्रेस नेताहरुको धारणा छ ।

यसरी चुनावमा जाँदा निर्वाचन आयोग र कानुनले भने एउटा दलको कार्यकर्ता अर्को दलको चुनाव चिह्नमा मत माग्न गएको भनेर चिन्दैन ।
अर्थात् नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धामा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता भए पनि निर्वाचन आयोगले भने नेकपा एमाले कार्यकर्ता नै भनेर चिन्ने एक आयुक्तले जानकारी दिए ।
त्यसले गर्दा यसरी निर्वाचित जनप्रतिनिधिको पद जहिले पनि जोखिममा रहेको हुन्छ ।
नेकपा एमालेको पार्टी कार्यालय बबरमहलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो । सहमतिअनुसार राप्रपा नेपालका उमेदवारहरु एमालेकै चुनाव चिह्न लिएर उमेदवार बन्नेछन् ।
“राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने,” दुई दलबीचको सहमतिको बुँदा नम्बर–४मा भनिएको छ, “निजहरु निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आवद्ध रहने ।”
बुँदा नम्बर ४ को दोस्रो वाक्यांस स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यान्वयन हुन सक्ने अवस्था देखिँदैन ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ ले निर्वाचन चिह्न सम्बन्धी व्यवस्था गरेको छ । त्यो व्यवस्थाअनुसार कुनै दलको निर्वाचन चिह्न अन्य दलका उमेदवारले प्रयोग गर्न पाउँदैनन् ।
“उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न त्यस्तो दलका उमेदवार वा दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन,” ऐनको दफा २६को उपदफा ३ मा भनिएको छ ।
त्यति मात्र होइन अर्को दलको उमेदवार बनेको प्रमाण पुगेपछि सम्बन्धित दलको सदस्यता समेत खारेज हुने छ ।
एमालेले कमल थापाको राप्रपा नेपाल जस्तै ‘धर्म प्रचार’को आरोप लाग्दै आएको एकनाथ ढकालको नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चाको विद्रोही समूह राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वयन समिति, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेलको सहमति गरेको छ ।
यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र पृथकतावादी आन्दोलनबाट आएको सीके राउतको मधेसकेन्द्रित जनमत पार्टीसँग पनि सहकार्यका लागि छलफल गरिरहेको छ ।
एमालेले लोसपा बाहेक अन्य दल र समूहसँग आफ्नै चुनाव चिह्नमा उम्मेदवारी दिनेगरी सम्झौता गरेको छ भने विप्लव र सीके राउतलाई पनि सूर्य चुनाव चिह्नमा लड्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेले गर्न लागेको यो अभ्यास राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ अनुरुप हो ।
राजनीतिक दलसम्बन्धी एनको दफा ४९ ले एकभन्दा बढी राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचनमा जानसक्ने व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा यो व्यवस्था कुनै दुई वा दुई भन्दा बढी राजनीतिक दलहरुबीच एकता हुने सुनिश्चित भइसके पनि निर्वाचन प्रयोजनका लागि छुट्टै दल दर्ता भइसकेका समयमा एउटै चुनाव चिह्नमा जाने प्रयोजनका लागि राखिएको थियो । तर, कमल थापाले सम्झौता गरेसँगै अन्य दलले पनि एमालेले गरेको सम्झौतामा भने सूर्य चिह्नबाट निर्वाचित भएका आफ्ना उमेदवार आफ्नै पार्टीमा क्रियाशील हुने उल्लेख छ ।
“दफा ४८ बमोजिम निर्वाचनको प्रयोजनको लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्नेछन्,” राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९मा भनिएको छ, “उपदफा (१) बमोजिम संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उमेदवारी दिँदा त्यस्तो उमेदवार कुन दलसँग सम्बन्धित हो त्यो समेत खुलाउनु पर्नेछ ।”
यसरी संयुक्त चुनाव चिह्नमा निर्वाचनमा जाने छुट दिएको दफा ४९ कै उपदफा ४ ले भने निर्वाचित प्रतिनिधिले जसको चुनाव चिह्न लिएको हो उसैको निर्देशन पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।
“..तर उपदफा (१) बमोजिम नयाँ निर्वाचन चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरुको दफा २४बमोजिम नयाँ संसदीय दल गठन हुनेछ । त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरे बमोजिम हुनेछ,” दफा ४९ को ४ मा भनिएको छ, “(४) उपदफा (३) बमोजिमको संसदीय दलका सदस्यले दफा २८ को उपदफा (१) विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ ।”
निर्वाचन आयोगले पनि एकल चुनाव चिह्नमा चुनाव लडेका जनप्रतिनिधले चुनाव चिह्न लिएकै दलको गणना हुने बताएको छ ।
उसले त्यसरी एकल चिह्नमा चुनाव लडेका जनप्रतिनिधिविरुद्ध आधिकारिक चुनाव चिह्न भएको दलले सिफारिस गरेका दिन भने आयोग कारवाही गर्न बाध्य हुने बताएको छ ।
“जुन दलको चुनाव चिह्नमा निर्वाचित भएको हो, त्यही दलको जनप्रतिनिधि भनेर आयोगले चिन्छ,” एक निर्वाचन आयुक्तले बाह्रखरीसँग भने, “यदि चुनाव चिह्न लिएको जनप्रतिनिधिले अर्को दलको दावी गरेर स्वतन्त्र भूमिका खोज्यो र सम्बन्धित चुनाव चिह्नवाला दलले कारवाही ग¥यो भने उनीहरुको पद जान्छ ।”
ती आयुक्तले निर्वाचन चिह्नको आधिकारिक दलले सिफारिस गरेपछि निर्वाचन आयोग कारवाहीका लागि बाध्य हुने पनि जानकारी दिए ।
आयुक्तको भनाईबाट प्रस्ट हुन्छ –राप्रपा नेपाल, परिवार दल वा अन्य समूह जो कसैले पनि एमालेको सूर्य चिह्नबाट चुनाव जितेपछि एमालेको निर्देशन पालना गर्नु पर्ने हुन्छ । उनीहरुको गणना पनि एमालेकै जनप्रतिनिधिका रुपमा हुन्छ र एमालेले कारवाही गरेका दिन उनीहरुको पद रिक्त हुन्छ ।
कांग्रेसको रुख चिह्नमा पनि एकीकृत समाजवादीले पोखरामा चुनाव लड्ने चर्चा भइरहेको छ ।
गठबन्धनको भागवण्डामा समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पद लिने र उपप्रमुखसहित सबै वडाध्यक्ष कांग्रेसले लिने समझदारी भएको छ ।
एकमात्र उमेदवारलाई फरक चुनाव चिह्नमा भोट नजाला भनेर कांग्रेसकै चुनाव चिह्न रुखमा समाजवादीका उमेदवार लड्ने चर्चा भइरहेको छ । तर, यस्तो भएमा समाजवादीको सिटमा त्यसरी निर्वाचित भएका जनप्रतिनिधिको गणना हुने छैन । अन्य दलहरुबीच पनि एकल चुनाव चिह्नमा निर्वाचनमा गए यही जोखिम हुन सक्छ ।
तर, निकट भविश्यमा एकता सुनिश्चित भएका दलका हकमा भने यो अभ्यासले फाइदा पुग्नेछ ।

Comments
Kamal Panthi

Recent Posts

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago

विज ग्लोबल विज एकेडमी द्वारा केयर गिभर SSW कार्यक्रम सम्पन्न

विज ग्लोबल (Wiz Globle ) विज एकेडमी (Wiz Academy) एवं योकोहामा वेलफेयर सिटी म्यानेजमेन्ट एसोसिएसन …

55 years ago