विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ प्रतिवेदन

काठमाडौं: एक वर्षअघि पुरातत्व विभागले बेलायती विज्ञ समूहद्वारा पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा गरिएको ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण)को प्रतिवेदन नेपाल आइपुगेको छ।

सर्भे गरिएको तीन महिनापछि प्रतिवेदन आउने जनाइए पनि कोरोना महामारीलगायत विभिन्न कारणले नौ महिनापछि मात्र आएको हो। बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत साल फागुनमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो।

बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकीस्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नं वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो। सर्भेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो। “डाटा एनालाइसिस गर्दा सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको थियो, बेलायतबाट आएको सर्भे प्रतिवेदनबाट विस्तृतमा आउनेछ”, पाठकले भने।

सर्भेको विस्तृत प्रतिवेदन करिब एक महिनापछि सार्वजनिक गरिने विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताए। “बेलायती विज्ञ टोलीबाट पाँचखालको सर्भेको प्रतिवेदन आइपुगेको छ, एक महिनापछि सार्वजनिक गर्नेछौँ”, उनले भने।

पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको उनको भनाइ छ। उनका अनुसार हालै मात्र पाँचखालको सर्भे गरिएको सबै स्थानको प्रतिवेदन आएको हो। उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्भे गरेको थियो।

विस्तृत प्रतिवेदन सार्वजनिक भएपछि पाँचखालमा थप उत्खनन् गर्नुपर्ने बताइन्छ। विभागले पनि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेको जनाएको छ। पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको थियो। यसअघि विभागले युनेस्कोलाई समेत सन् २०२० जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ। पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो।

सर्भे मेशिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ। विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदाको भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले एक वर्षअघि बेलायतबाट विज्ञ टोली मगाइएको हो। त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो।

काभ्रेको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ। पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ। पाँचखाल नपा–२ माल्टारस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायत सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको सो प्रतिवेदनमा उल्लेख छ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीराम पाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो। साथै, स्थानीय प्रस्तर प्रयोग गरि एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा भरपुर प्रयास भइरहेको बताउँदै सर्भेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणको ‘माष्टर प्लान’ बनाउने बताए। पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नु परे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको थियो।

खोज अनुसन्धानकर्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन्। “पुरातत्वविद्का अनुसार सर्भेमा पाँचखालकै भमरकोट गढीमा समेत सम्भावना देखिएको थियो”, स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले भने । समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनः निर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ।रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago