खोटाङ: जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गरेका थिए ।

समिट एयरको नाइनएन–एएमजी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक भट्टराईले लामीडाँडा विमानस्थलमा नियमित उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताएका थिए । तर लामीडाँडा विमानस्थलमा परीक्षणपछि अहिलेसम्म नियमित उडान भएको छैन ।

विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको छ । ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सर्य कन्ट्रक्शन प्रालिले कालोपत्र गरेको हो ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर विसं २०२६ देखि निर्माण सुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि विसं २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो ।

अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा दुखित भएका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यता भएपछि स्थानीय बासिन्दा आक्रोशितसमेत भएका हुन् ।

तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको स्थानीयवासी एवं नेपाली कांग्रेस रावाबेँसी गाउँपालिका कार्यसमितिका पार्टी सभापति फटिककुमार श्रेष्ठले आरोप लगाए । उनले भने, ‘तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ ।’

लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको ठूलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल उपयोगविहीन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना हुँदै आएको छ ।

लामीडाँडा विमानस्थलको उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्ने गरी पहल भइरहेको प्रदेश नं १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बताए। ‘लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो’, प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित मन्त्री राईले भने, ‘राज्यकोषको ठूलो लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थलमा नियमित उडान भर्ने गरी चाँडै सम्बन्धित निकायमा पहल गर्छु ।’

जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका हुन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक पर्ने खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको रु सात करोड २४ हजार ३८० लागतमा कालोपत्र गरिएको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरिएको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago