नेपालको गृह जिल्लाका वडाध्यक्ष उम्मेदवारले १ मत मात्रै पाए

२०७९, ७ जेष्ठ शनिबार ११:०३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको गुजारा नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष उमेदवारले जम्मा एक मत पाएका छन् । नेकपा समाजवादीका उमेदवार दीपक चौधरीले वडा भरबाट एक मत मात्रै पाएका हुन् । त्यस्तै उक्त वडाका अन्य तीन वडाध्यक्षका स्वतन्त्र उम्मेदवार शेख कैमुल हक, राजकुमार चौधरी र शेख सैयादले सुन्य मत पाएका छन् ।

उक्त वडामा एमालेका गजेन्द्र चौधरी ८ मतको झिनो अन्तरले वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन् । ५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित चौधरीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए । गुजारा नगरपालिकामा नेकपा समाजवादीबाट मेयरमा केशव राय र उपमेयरमा एतवरियादेवीले उम्मेदवारी दिएका छन् । नगरपालिकाको मतगणना हालसम्म जारी छ ।

Comments

ताजा खबर