नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा

काठमाडौँ: नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज जित हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको हो ।

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरी नेपाललाई समूह विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाए ।
ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए । सल्मान नजरको बलमा एलबीडब्लु आउट भएका उनले १६ बल खेली १ चौका र १ छक्का प्रहार गरे । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल आफूले सामना गरेको पहिलो बलमै कलिम सानाको बलमा बोल्ड भए ।

नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ । विजयी हुने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।

आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनल खेल्ने छ । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले पराजित गर्‍यो । फिलिपिन्सलाई ३६ रनमै अलआउट गर्दै ओमानले २.५ ओभरमा ४० रन बनाउँदै सजिलो विजय हात पारेको हो ।

यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भएको थियो । सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पर्थ्यो । तर नेपाली बलरहरूका अगाडि क्यानडा तहसनहस हुन पुग्यो । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चेका थिए ।

कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।

कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाश ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।

अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर पनि सम्भव भएको थियो । नजरलाई अविनाशले आउट गरे । हेयलिगरले सर्वाधिक २४ रन बनाउने क्रममा २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

नेपालले गुलशन झाको स्थानमा कमललाई खेलाएको थियो । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरि यसअघि नै सेमिफाइनलका लागि बलियो आधार बनाएको थियो । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले घुँडा टेकेको थियो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago