खातै नखोली अब आइएमई पे प्रयोगकर्ताहरुले भिसा कार्ड प्रयोग गर्न पाउने

काठमाडौं: बैंक तथा वित्तीय संस्थाहरुले डेबिट/क्रेडिट कार्ड दिएपनि नेपालमै पहिलोपटक मोबाइल वालेट आइएमई पेले पनि भिसा कार्ड प्रयोगमा ल्याएको छ। बैंक खातै नखोली अब आइएमई पे प्रयोगकर्ताहरुले भिसा कार्ड प्रयोग गर्न पाउने भएका छन्। हुनत मोबाइल बैंकिङका कारण अचेल वित्तीय कारोबार गर्न निकै सहजता थपिएको छ। तर भौतिक रुपमा प्रयोग गर्न मिल्ने डेबिट वा क्रेटिड कार्डको प्रयोग पनि उत्तिकै भइरहेको छ।

मोबाइल बैंकिङ वा वालेटलाई सहज नमानेको ठूलो जमात अझैपनि कार्डलाई कारोबारको पहिलो प्राथमिकतामा राख्छ। यही बजारलाई देखेर आइएमई समूहको आइएमई पेले भिसा कार्ड विना शुल्क दिइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई डेबिट/क्रेडिट वा अन्य प्रकारका कार्ड दिने गरेको भएपनि नेपालमै पहिलोपटक मोबाइल वालेटले कार्ड जारी गरिरहेको छ।

अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि कार्ड लिन निकै सास्ती र झर्को हुन्छ। बैंक जाउ आवश्यक खाता खोल, खाता खोल्न पनि लम्बेतान फारम र अनेकौं विवरण भर्नुको दु:खले ग्राहकहरु आजित हुने गर्छन्।

अझ खाता खोलेर तुरुन्तै एटीएम कार्ड सुचारु भए त ठिकै हो कयौं दिन लाग्ने गरेको गुनासो उपभोक्ताहरुको छ। एउटा एटीएम कार्ड दिन पनि बैंकहरुले हप्ता दिन भन्दा बढी समय लगाउने गर्छन्। यही समस्या लगायतका ‘ह्‍यासल’ लाई क्यास गर्दै आइएमई पेले आफ्नो छुट्टै कार्ड जारी गरेको छ। त्यो पनि छिनकोछिनमै एक्टिभेट हुन्छ, र भिसाको सबै नेटवर्कमा सहजै चल्छ।

आइएमई पे मुख्यगरी दुईवटा प्रयोगकर्ताहरुलाई लक्षित गर्दै आइएमई समूहले संचालनमा ल्याएको हो। एउटा इ-कमर्सलगायतबाट खरिद गरिएको वस्तु वा सेवाको भुक्तानी गर्न ल्याइएको भर्चुअल भिसा कार्ड। अर्को भनेको भौतिक कार्ड। यसको मुख्य उद्देश्य भनेकै पोइन्ट अफ सेल (पोस) भएको बताइएको छ।

आइएमई पेबाट लिने भिसा कार्ड र बैंकहरुबाट त्यही कार्ड लिनुमा धेरै सहजता रहेको आइएमई पेका कामु प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले जानकारी दिए।

‘तपाईंहरुले बैंकको कार्ड लिनुको प्रक्रिया र आइएमई पेको भिसा कार्ड सुचारु गर्न निकै सहज छ। कुनै पनि हाम्रो एजेन्ट लोकेसनमा गएर तुरुन्तै भिसा कार्ड नि:शुल्क लिन र इनेबल गर्न सक्नुहुन्छ। झन्झटिलो छँदैछैन। बैंकहरुले दिने पनि यही कार्ड हो,’ भट्टराईले भने। यही अवस्था बैंकमा भएको भए एकै दिनमा कार्ड पाउन सम्भव नै नहुने तर्क थप्छन् कम्पनीका मार्केटिङ म्यानेजर अजय थापा।

‘उदाहरणका लागि तपाईंसँग बैंकको खाता पहिल्यै तपाईंसँग थियो। कार्ड आजै चाहिएर लिन गएको भए फारम भर्नुसँगै अर्को एक हप्ता बढी समय लाग्थ्यो। पैसा पनि काट्छ। आइएमई पेको कार्ड हामीले नि:शुल्क दिन्छौं। कार्ड आएपछि फेरि एटीएम मेसिनमा छिराएर पिन रिसेट गरेपछि बल्ल चलाउन पाइन्छ,’ थापाले भने।

आइएमई पेकै एपबाट कार्डबाट भुक्तानी गर्न मिल्ने लिमिट, पिन रिसेटदेखि कार्ड लक गर्न मिल्छ। जसका कारण कार्ड हराएको खण्डमा बैंकमै जानुपर्ने वा फोन गर्नुपर्ने अवस्था नरहने बताइएको छ। साथै, उक्त कार्ड अनलाइन कारोबार, एटिएमबाट पैसा झिक्न र पोस भुक्तानी कुन इनेबल गर्ने वा नगर्ने छनोट गर्न मिल्ने कम्पनीले जनाएको छ।

कामु सीइओ भट्टराई नेपालमा पाउने कुनै पनि भिसा कार्ड यति सहज र सरल ढंगले कतैपनि नपाइने दाबी गर्छन्। सँगै त्यही कार्डलाई शुल्क लिने बैंकहरु आइएमई पेले भने कसरी नि:शुल्क दिन सक्छ भन्ने प्रश्न उब्जिनु स्वभाविक हो।

तत्कालका लागि आफूहरुले ‘मोड अफ पेनिट्रेसन’ अर्थात् धेरैभन्दा धेरैसम्म कार्ड पुर्‍याउने र प्रयोग गर्ने रणनीति अनुसार अघि बढिरहेकाले नि:शुल्क दिइरहेको भट्टराई बताउँछन्। त्यसैगरी, आइएमई पेले भिसाको भौतिक कार्ड मुख्य गरी विद्यार्थीलाई लक्षित गरेर ल्याएको हो।

‘बैंक खाता नभएका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले यो कार्ड ल्याएका हौं। धेरै ठूलो कारोबार गर्नुपर्ने र बैंक खाता खोल्न नपर्ने विद्यार्थीहरुलाई सहज बनाउन यो कार्ड विकास गरेका छौं। आजको दिनमा विद्यार्थीहरु झन्झट मानेर बैंक खाता खोल्नै नगएको हामीले देखेका छौं। फारम भरेर, ल्याप्चे हानेर, एक हप्ता कुरेर कार्ड लिने धैर्यता त के उनीहरु गर्नै चाहँदैनन्,’ भट्टराईले भने, ‘यही समस्यालाई देखेर हामीले कार्ड ल्याएका हौं। वालेट भनेको विद्यार्थीले आफ्नै स्मार्टफोनबाट तुरुन्तै आवश्यक विवरण भरेर चलाउन सक्छन्। कतै धाउनु पर्दैन। झन्झट खेप्नु पर्दैन। आइएमई पेमा ब्याजसँगै नि:शुल्क कार्ड पाउने भएपछि उनीहरुलाई सहज हुने नै भयो।’

त्यसैगरी आइएमई पेले आफ्ना रेमिटेन्स ग्राहकहरुलाई पनि कार्डले सहजता थप्ने जनाएको छ। आइएमई पेमा रेमिटेन्सको पैसा हुँदा भुक्तानी वा अन्य प्रकारका समस्या आइपर्ने भएकाले उनीहरुले समेत कार्डको फाइदा लिन सक्ने भट्टराई बताउँछन्।

यस्तै, बैंकपिच्छे एटीएम कार्ड बोक्नुपर्ने झन्झटलाई पनि आइएमई पेले चिर्न खोजेको उनले बताए।

‘कसैसँग ४ वटा बैंक खाता छन् भने ४ विभिन्न एटीएम बोक्नुपर्ने बाध्यता हुन्छ। तर, आइएमई पेमा ती बैंक खाता लिंक गरेर आइएमई पेको भिसा कार्डबाट सहजै चारैवटा खाताको कारोबार गर्न मिल्छ,’ भट्टराईले भने।

कसरी गर्ने आइएमई पेमा कार्ड इनेबल?

आइएमई पेले कार्डसँगै प्रयोगकर्ताहरुलाई छुट्टै कागज दिन्छ। जसमा कार्डको विवरणहरु हुन्छन् सँगै एउटा क्यूआर कोड। आइएमई पेको एप खोलेर त्यही क्यूआर कोड स्क्यान गर्ने। त्यसपछि सोधिएका विवरणहरु भर्ने। र सहजै एपमा पैसा लोड गरेर भिसा कार्डबाट भुक्तानी गर्न मिल्ने आइएमई पेले जनाएको छ।

एप भित्रै प्रयोगकर्ताहरुले भिसाको सेक्सनमा गएर भर्चुअलसँगै फिजिकल कार्डको विवरण हेर्न सक्छन्।

आइएमई पेबाट इ-कमर्स र पोसबाट प्रति कारोबार दुई लाख रुपैयाँसम्म, दैनिक ५ लाख रुपैयाँ, मासिक १० लाख रुपैयाँको लिमिट तोकिएको छ। यस्तै, एटीएमबाट प्रति कारोबार ५ हजार २ सय रुपैयाँ, दैनिक २५ हजार रुपैयाँ र मासिक २५ हजार नै लिमिट तोकिएको छ। मुख्यगरी विद्यार्थीहरुका लागि यो लिमिट पर्याप्त हुने कम्पनीको भनाइ छ।

कार्डबाट भुक्तानी गर्न आइएमई पेमा भने अनिवार्य नगद हुनु अपरिहार्य छ। त्यसैगरी, आइएमई पेको कार्ड एटीएममा प्रयोग गर्दा दुई वटा कारोबार नि:शुल्क भएपनि त्यसपछि शुल्क लाग्ने बताइएको छ। आइएमई पे आफैंमा क्यासलेस कारोबारलाई प्रोत्साहन गर्ने भन्दै वितरित कार्डलाई पनि पैसा झिक्न भन्दा अन्य कारोबारमा प्रयोग गर्न कम्पनीले जोड दिएको छ।

Kamal Panthi

Recent Posts

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरूको प्रदर्शन

काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…

55 years ago

झापाको किच्चकबध स्थलमा आठौँ चरणको उत्खनन, दरबारको जग भेटियो

झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…

55 years ago