यस साताको अन्त्यमा नेप्से परिसुचक पछिल्लो हप्ताबाट २.५१% ले बढेसँगै २६३१.३२ अंकमा कायम रहेको छ भने कारोबार बढेर करिब १२.१५ अर्बको भएको छ।

फाल्गुन ३० गते सोमबार अनलाईन प्रणाली टिएमएस (TMS) मा समस्या देखिएका कारण दिउँसो १२:५३ बजे बन्द भएको शेयर बजार त्यस दिनभरका लागि बन्द भयो र यस सम्बन्धमा नेप्से तथा नेपाल धितोपत्र बोर्डबाट पनि चुस्तता देखिएको पाईएन।

सम्बन्धित निकायमा पुरानो शैलीको व्यवस्थापन र कार्य सम्पादन रहदा सम्म भविष्यमा नेपालको शेयर बजारको यात्रा कस्तो होला ठम्याउनु मुस्किल छ। त्यसकारण, भोलीको दिनमा पनि यस्ता समस्या नदेकिएलान भन्न सकिन्न।

विश्व शेयर बजार प्रविधीमैत्री भएका बेला हामी अझै शेयर बजारको ढुङ्गे युगमा छौँ। त्यसकारण निकट भविश्यमा प्रविधीलाई अपनाउदा यस्ता समस्या धेरै आउछन र त्यसको समाधान गर्नको लागि नेपाली शेयर बजारका सबै व्यवस्थापकिय निकायहरु योग्य र सक्रिय हुनु जरुरी छ।

सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या आएपश्च्यात शेयर बजार बन्द गरिएपनि त्यसको असर बाँकी दुई दिनको शेयर कारोबारमा देखियो। मंगलवार र बुधवार खुलेको शेयर बजार सोमबारको घटनाले गर्दा लगानीकर्तामा परेको मनोवैज्ञानिक प्रभावका कारण दुवै दिन दोहोरो अंकले घट्न पुग्यो। त्यसैले, अबका दिनमा समस्या रोकथामका उपायहरू अपनाउनु जरुरी छ नत्र भने नेपालको शेयरबजार ट्रेडर र लगानीकर्ता माझ आकर्षक नरहला र यसले आगामी दिनमा शेयर बजारलाई थप जटिलता तर्फ नधकेल्ला भन्न सकिन्न।

अघिल्लो साता झैं यस साता पनि बैंक वित्तिय संस्थाहरुको निक्षेपमा वृद्धि आएको छ। गत साता रु.५ अर्बले बढेको निक्षेप परिचालन यस साता रु.७ अर्बले बढेको छ। यस्तै, अघिल्लो साता रु.३ अर्बले बढेको कर्जा प्रवाह यस साता भने रु.१ अर्बले घटेको छ। यस अवधिमा “क” वर्गका वाणिज्य बैंकहरुको निक्षेप रु.४ अर्बले बढेको छ भने कर्जा प्रवाह रु.१ अर्बले घटेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म बैंक वित्तिय संस्थाहरुले रु.४,८९७ अर्ब निक्षेप परिचालन गरी रु.४,६९६ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.४०% र ८८.७८% स्वामित्व रहेको छ भने बाँकी हिस्सा ‘ख’ वर्गका बिकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरुको रहेको छ। पौष महिनामा मात्र बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.१११ अर्बले बढेको थियो भने कर्जा प्रवाह रु.४७ अर्बले विस्तार भएको थियो। यस्तै, माघ महिनामा निक्षेप रु.२६ अर्बले घटेको थियो भने कर्जा रु.१२ अर्बले थप विस्तार भएकोमा फागुन महिनामा भने निक्षेप र कर्जामा क्रमश रु.२४ अर्ब र रु.१८ अर्बको वृद्धि आएको छ।

त्यस्तै, अघिल्लो साता ९०.३८% रहेको कर्जा-निक्षेप अनुपात (CD Ratio) यस साता बढेर ९०.५४% कायम हुन आएको छ। मौद्रिक नीति अनुसार बैंक वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र कायम गर्नु पर्ने अधिकतम CD Ratio ९०% रहेको छ। CCD Ratio सम्बन्धि व्यवस्था खारेज भएकोले बैंक वित्तिय संस्थाहरुले आफ्नो प्राथमिक पूंजी (Core Capital) कर्जा प्रवाहको लागि उपयोग गर्न पाएका छैनन्। यस्तै, बैंक वित्तिय संस्थाहरुले तरलता व्यवस्थापन गर्नको लागि अघिल्लो साता रु.५.८१ अर्ब Overnight रिपो लिएकोमा यस साता पनि रु.४.०४ अर्बको रिपो लिएका छन् जसको वार्षिक व्याजदर ५.५% रहेको छ। साथै, बैंक वित्तिय संस्थाहरुले CD Ratio, नगद मौजदात अनुपात नियामकिय सिमा भित्र राख्न तथा अल्पकालिन तरलता व्यवस्थापन गर्नका लागि अन्तिम उपाएको रुपमा प्रयोग गरिने अस्थायी तरलता सुबिधा (SLF) उपकरण यस साता पनि प्रयोग गरेका छन्। अघिल्लो साता रु.२४३.२३ अर्बको अस्थायी तरलता सुबिधा लिएकोमा यस साता रु.२१०.२९ अर्बको सो सुबिधा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ लागे यता रु.४,७४४.५९ अर्ब यस उपकरण प्रयोग गरेर तरलता व्यवस्थापन गरेका छन्। यस्तै, अघिल्लो साता ६.९९% रहेको अन्तर बैंक व्याजदर यस साता बढेर ७.०२% पुगी फेरी ६.९९% कायम हुन आएको छ। बैंक वित्तिय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तारको वृद्धिदर बढि हुनु, Overnight रिपो र अस्थायी तरलता सुबिधा उपकरणहरु प्रयोग गर्नु र अन्तर बैंक व्याजदर पनि उच्च रहनुले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापन असहज रहेको जनाउछ। बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या भएकोले राष्ट्र बैंकले गएको साँढे ६ महिनामा १३ पटक गरी रु.२७० अर्ब बराबरको रिपो जारी गरिसकेको छ जस मध्ये गत बिहिवार जारी गरिएको १४ दिने रु.१० अर्बको रिपो बहेक अन्य रु.२६० अर्ब परिपक्क भईसकेका छन्। यस्तै, मंसिर १७, २४ र फागुन ६ गते राष्ट्र बैंकले “सोझै खरिद” (Outright Purchase) उपकरण प्रयोग गरी बैकिङ्ग प्राणालीमा रु.५५.९१ अर्ब बराबरको तरलता प्रवाह (Inject) गरेको छ। विभिन्न उपकरण प्रयोग गरेर तरलता प्रवाह गरेता पनि बैंकिङ्ग प्राणलीमा तरलता सहज हुन सकेको छैन।

यस्तै, फागुन महिनामा बढेको बैंक वित्तिय संस्थाहरुको व्याजदर चैत्र महिनामा भने यथावत रहेको छ। माघ महिनामा १०.०५% रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको व्याजदर बढेर फागुन महिनामा ११.०३% पुगेकोमा चैत्र महिनाको लागि बैंक वित्तिय संस्थाहरुले फागुन महिनाको व्याजदर लाईनै निरन्तरता दिदै यथावत राखेका छन्।

त्यस्तै, अघिल्लो साता बढेर रु.२६.३८ अर्ब सङ्कलन भएको सरकारको आय यस साता भने ३९.९२% ले घटेर रु.१५.८५ अर्ब सङ्कलन भएको छ। चालु आ. व. को ८ महिनामा कुल रु.७३६.६२ अर्ब सङ्कलन भएकोमा चैत्र ३ गते सम्म रु.७४३.२७ अर्ब सङ्कलन भएको छ जसमा ८५.३५% कर राजस्वबाट रहेको छ भने बाँकी अन्य गैर कर राजस्व, अनुदान प्राप्त तथा अन्य आय रहेका छन्। आर्थिक वर्षको ८ महिना ३ दिन समय व्यतित भएको अवस्थामा लक्ष्यको ५९.९२% आय सङ्कलन भएको छ।

खर्च तर्फ गत साता बढेर रु.२१.९३ अर्ब खर्च भएकोमा यस साता भने ९.१२% ले घटेर रु.१९.९३ अर्ब खर्च भएको छ। चैत्र ३ गते सम्म कुल खर्च रु.६८०.८० अर्ब पुगेको छ जुन बजेट लक्ष्यको ४१.६९% मात्र रहेको छ। खर्च मध्ये चालु खर्च लक्ष्यको ५०.८१% भएको छ भने पूंजीगत खर्च र वित्त व्यवस्थापन तर्फ लक्ष्यको क्रमश २१.१०% र ३१.५२% खर्च भएको छ।

अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार रु.८६.५४ अर्बले घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिक समीक्षामार्फत रु.१,५४६.२८ अर्ब मात्र खर्च हुने संशोधित अनुमान पेस गरेका छन् जस मध्ये चालु तर्फ रु.१,०३५.४६ अर्ब, पूंजीगत तर्फ रु.३४०.३२ अर्ब र वित्त व्यवस्थापन तर्फ रु.१७०.४९ अर्ब खर्च हुने अनुमान गरिएको छ।

आर्थिक वर्षको दुई तिहाई समय व्यतित भईसकेको अवस्थामा चालु खर्च लक्ष्यको ५०% भइसक्दा पूंजीगत खर्च भने २०% मात्र भएको छ। संशोधित खर्चको अनुमान अनुसार यो अनुपात २३% हुन आउछ जसको अर्थ बाँकी रहेको ४ महिनामा सरकारले रु.२६३ अर्ब खर्च गर्नुपर्ने छ जुन चुनौतिपूर्ण देखिन्छ। यस्तै, संशोधित बजेट अनुसार बाँकी रहेको चार महिनामा सरकारले कुल रु.८६५.४८ अर्ब खर्च गर्नुपर्ने देखिन्छ।

नेप्से सुचकको औसत मुल्य र आय अनुपात ३४.१७ रहेको छ, जुन अघिल्लो हप्ता भने ३३.१४ थियो। बैंकिङ्ग समुहको २०.०६, लघुवित्त समुहको ३२.८७, उत्पादन समुहको २७.९२ र बिकास बैंकको ३२.६९ सँगै नेप्सेको औसतमुनि रहेका छन भने बाँकी औसतभन्दा माथि छन। मुल्य आम्दानि अनुपात, बजार मुल्य र किताबी मुल्य अनुपात र डिभिडेन्ड ईल्ड्को हिसाबले वाणिज्य बैंक तुलनात्मक रुपमा अरु सेक्टर भन्दा मूल्यवान (Undervalued) देखिन्छ। आधारभुत अनुपातहरु PE र PB जति थोरै भयो उती राम्रो मानिन्छ भने Dividend Yield चाँही जती बढी भयो त्यतिनै राम्रो मानिन्छ। यि औसत संगै समग्र बजारको लगानी वातावरण, लगानी गर्ने कम्पनीको समुहको व्यापार वृद्धिको संभावना, बजार मनोवैज्ञानिक स्थिति, कम्पनीको आय वृद्धि, स्थिरता जस्ता आदि कारकहरु पनि हेर्नु आवश्यक हुन्छ। केहि सामान्य डाटा तल तालिकामा दिइएका छन्।

गएको चार हप्तामा, सेक्टर रोटेसन (Sector Rotation) को हिसाबले शिर्ष ३ मा होटल तथा पर्यटन, अन्य र निर्जीवन बिमा समुहका लगानीकर्ताले अधिक कमाएका छन् भने ट्रेडिङ्ग, उत्पादन र लगानी समुहका लगानीकर्ताहरूले तुलनात्मक हिसाबले थोरै कमाएका छन।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago