एमसिसी सदनमा टेबुल गर्न सभामुखलाई प्रचण्डको ‘निर्देशन’

२०७८, ८ फाल्गुन आईतवार १२:३५

काठमाडौँ – एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ ।

एमसिसी पेश गर्ने मार्गमा बाधक बन्दै आएको आरोप सभामुखमाथि लाग्ने गरेको र उनले माओवादीको एजेण्डालाई प्राथमिकता दिएको भन्ने गरिन्छ ।

आइतबार गठबन्धनको बैठकपछिको परिवेशले त्यसलाई साथ दिएको देखिएको छ । बालुवाटारमा गठबन्धनको बैठक सकिए लगत्तै माओवादी अध्यक्ष प्रचण्ड गाडी चढेर सिधै बानेश्वर पुगे । उनी त्यहाँ केहीबेर सभामुख सापकोटासँग छलफल गरेर निस्किएका छन् ।

प्रचण्ड निस्किएपछि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक सुरु गरेका छन् । प्रचण्डले गठबन्धनको निर्णय अनुसारको सन्देश सभामुख सापकोटालाई प्रवाह गरेपछि उनले सोही अनुसार कार्यव्यवस्था समितिको बैठक सुरु गरेका हुन् ।

योसँगै एमसिसी सदनमा पेश हुने मार्गमा अवरोधका रुपमा प्रस्तुत गरिएका सभामुख र माओवादी अध्यक्ष प्रचण्डबीचको तालमेलले आइतबार एमसिसी पेश हुने गरी कार्यसूचि तयार हुने सम्भावना बढेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु