नयाँ उपन्यास ‘मायाका मसिना अक्षर‘

काठमाडौँ: लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ । प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो ।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए । विशेषगरी आफूलाई उपन्यासको भाषाले तानेको उनको भनाइ छ । ‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ,’ भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति हुन्छ । सुरेशजीको सुन्दर लेखनीले उनलाई एउटा उचाइमा पुर्‍याउनेछ ।’

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए । ‘प्रेमका कथा धेरै पढेको थिएँ । तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो,’ उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ ।’

प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्न मन लागेकाले नै आफूले यो उपन्यास लेखेको लेखक बडालले जनाए । ‘भ्रमलाई प्रेम मान्नेहरुको दैनिकी लेख्नु थियो,’ उनले भने, ‘यसकारण मैले दिवस र रुबाका घटना उधिन्न थालें । मेरो कथाको पात्र बनेर आइदिने रुबा, दिवस र आरतीलाई पनि धन्यवाद ।’

‘यस कथामा कहीँ न कहीँ हामी युवाको अनुहार देखिनेछ । केही गल्ती गरियो होला, केही धोका खाइयो होला, कसैलाई धोका पनि दिइयो होला । तर जीवनको बुटामा जति जति नयाँ अनुभवका पालुवा पलाउँदै जान्छन्, हाम्रा ज्ञानका जरा पनि फैलिँदै जान्छन्,’ उनी थप्छन्, ‘यसर्थ जीवनका जेजे भोगियो, ती सबै कक्षा थिए भनेर म मान्ने गर्छु । यही दर्शनलाई लिएर यो पश्चात्तापको कथा लेखेको हुँ ।’ मान्छेले गल्ती गर्छ र त्यसलाई स्विकार्छ भने त्यो जति उपयोगी शिक्षा अरु हुँदैन, यस मानेमा यो नायकको कथा होइन, जो सबैलाई पराजित गर्छ । यो त खलनायकको कथा हो, जो आफ्नै अपरिपक्वतालाई जित्छ ।

लेखनमा रूचि भएको दिवस र काठमाडौंमा संघर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरू भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिँदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिँदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ । सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भईरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश फाइनप्रिन्टले गरेको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago