रोल्पा: माडी–२ घर्तीगाउँकी १७ वर्षीया लालसरी घर्ती उपचार नपाउँदा ८ वर्षदेखि घरमै थला परेकी छन् । सुरुमा खुट्टा सुन्निएको थियो । बिस्तारै समस्या बल्झिए पनि अस्पताल पुर्याउन नसक्दा उपचार हुन सकेको छैन ।
लामो समय थलिएकाले मेरुदण्डसमेत चल्दैन । उनको रेखदेख र उपचारमा खटिंदै आएकी आमा भीमकुमारीको चार वर्षअघि मृत्यु भएपछि झन् समस्या भएको हो । उनका बाबु अपांगता भएका छन् । उनले उपचारमा सघाउन सक्दैनन् । पर्याप्त अन्न उत्पादन हुने जग्गा/जमिन नभएकाले बाबु कुशलसिंहले घर्तीगाउँ बजारमा ज्यालादारी काम खोज्दै परिवारको भरथेग गर्दै आएका छन् ।
कुशलसिंहका ५ छोरीमध्ये लालसरी साइली हुन् । दाहिने खुट्टामा खटिरो देखिएपछि ८ वर्षअघि आमाको साथमा दाङ र काठमाडौंमा पुर्याइएकी लालसरीको उपचार बीचैमा रोकियो, जब उनकी आमाको मृत्यु भयो । छोरीको उपचार गर्दागर्दै लालसरीकी आमा भीमकुमारीको मृत्यु भएपछि उनकी बहिनी बिरसनाले सघाउँछिन् । घरमा अपांगता भएका बुबाका अतिरिक्त वृद्ध हजुरआमा र दुई साना बहिनी छन् । ठूला दुई दिदीको बिहे भइसकेको छ । साना बहिनीहरू १४ वर्षकी काइली विपना र ९ वर्षकी कान्छी टीकाले लालसरीको हेरचाह गर्नमै समय दिएकाले राम्रोसँग पढ्न पाएका छैनन् । आर्थिक अभावले दुई दिदीले पनि पढ्न पाएनन् । घरबाट समय निकालेर उनीहरू पनि लालसरी र अरुलाई सघाउन माइती आइरहन्छन् ।
आर्थिक अभावले उनलाई सुविधायुक्त अस्पतालमा उपचारका लागि पुर्याउन सकिएको छैन । काकी बिरसनाले लालसरीलाई जुन जुन अस्पतालमा पुर्याइन्, आर्थिक अभावले त्यहाँबाट चिकित्सकलाई नभेटी फिर्ता ल्याइयो । लामो समय बसालेर अस्पतालमा उपचार गराउन नसकेको बिरसनाको दुखेसो छ । ‘उपचार गराउँदा गराउँदै दिदीको मृत्यु भयो,’ उनले भनिन्, ‘मैले सहयोग गर्दै आएकी छु । तैपनि, उपचार गर्न सकेनौं ।’ लालसरीको उपचार खर्च जुटाउने क्रममा ७ लाख रुपैयाँमा खेत बेच्नु परेको बुबा कुशलसिंहले बताए । ‘ऋण खोजेर उपचार गर्नु पर्यो । अझै ऋण छ,’ उनले भने । भत्केको घरको पुनःनिर्माण पनि बिरसनाले नै गरिदिएकी हुन् । ‘सुरुमा एउटा खुट्टामा खटिरोजस्तो सानो घाउ देखिएको थियो । दाङ र काठमाडौंमा पुर्याएर उपचार गराउने प्रयास गर्यौं तर केही सीप लागेन,’ हजुरआमा नौला घर्तीमगरले भनिन् ।
समयमै उपचार नपाएपछि लालसरीको मेरुदण्डमा समस्या देखिएको छ । दुवै खुट्टा सुन्निएर चलाउन सक्ने अवस्था छैन । खुट्टाबाट पिप चुहिन्छ । उनी लत्रिएरै ठाउँ सर्ने प्रयास गर्छिन् । तैपनि, उनलाई साथ दिने ८० वर्षकी हजुरआमा नौला र दुई बहिनीहरू मात्रै छन् । बिरसना भन्छिन्, ‘अघिल्लो महिना रोल्पा अस्पतालमा पुर्याएर उपचार गराएँ । तैपनि, रोग पत्ता लागेन ।’ त्यहाँ लालसरीलाई दुई पोका रगत चढाइएको उनी बताउँछिन् । लालसरीले बसेको ठाउँमै दिसापिसाब गर्छिन् । सानोमा पढाइमा तीक्ष्ण उनी हाल राम्ररी बोल्न पनि सक्दिनन् । उमेर अनुसार उनको जीउ पनि सानो लाग्छ । आमा छँदै उनलाई दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा पुर्याइयो । खेत
बिक्री गरेर काठमाडौंस्थित कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा पुर्याइयो । ‘डाक्टरले के रोग लागेको हो भनेर पत्ता लगाउन सकेनन्, औषधि मात्रै लेखेर दिए र फेरि पछि आउनु भने ।’ स्यानी आमा बिरसनाले स्मरण गरिन् ।
पछिल्लो पटक थोरै खर्च जुटाएर उनकै पहलमा लालसरीलाई काभ्रेस्थित शिर मेमोरियल अस्पतालमा पुर्याइयो । त्यहाँ पनि लामो समय बसाल्न सकिएन । आर्थिक सहयोग जुटाउन पाए उनलाई त्यहीं पुर्याउने बिरसनाको इच्छा छ । उनले आफ्नी दिदीको इच्छा लालसरीलाई सन्चो बनाउने भएको र बीचैमा मृत्यु भएकाले आफैंले उक्त काम पूरा गर्ने बताइन् ।
घर्तीगाउँका यातायात व्यवसायी भीमसेन घर्तीमगरले सहयोग संकलन अभियान चलाएका छन् । ‘लालसरीको उपचारमा सहयोग जुटाउन सुरु गरेदेखि अहिलेसम्म लगभग १ लाख ५० हजार रकम जुटेको छ । अब केही रकम संकलन गरेपछि उनलाई राजधानीका अस्पतालमा पुर्याउने योजना छ,’ उनले भने ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…