एलपी ग्यास अभाव, सिलिन्डर साट्न एक साताको भाका !

काठमाडौं: कोटेश्वर बस्दै आएका सिरहाका सुरेशकुमार यादवको भान्सामा ग्यास रित्तिएको तीन दिन भयो । ‘घरमा दुई वटा सिलिन्डर छन् । नेपाल ग्यास रित्तिएको साता दिन बित्यो,’ उनले भने, ‘त्यसपछि, सगर रित्तिएको तीन दिन भयो । ग्यास लिन गयो अहिले छैन, एक सातापछि आउनु भन्छन् ।’

यादवसँग रहेका दुइटै सिलिन्डर पूर्ण रूपमा रित्तिएको तीन दिन बित्यो । ‘त्यस यता, राइस कुकरबाट खाना पकाएर खाइरहेको छु,’ उनले भने, ‘बिक्रेतासँग ग्यास लिन जाँदा अहिले छैन । पछि आउनुहोस भन्छन् ।’ कोटेश्वरमा रहेका तीन वटा डिलरमा दिनकै गएर बुझे पनि ग्यास आइ नसकेको र रोलक्रमअनुसार आउँछ भनेर सान्त्वना दिएर फर्काउने गरेको यादवले सुनाए ।

रामेछाप स्थायी घर भइ काठमाडौं, धोबीधारा बस्ने कुमार ढुंगेल खाना पकाउने ग्यास लिन स्थानीय बिक्रेता समक्ष पुगे । सगर ग्यासको सिलिन्डर बोकेर पुगेका ढुंगेललाई बिक्रेताले नाम लेखाएर फर्काइदिए । उनलाई बिक्रेताले भने, ‘नाम लेखाएर जानुहोस् । एक सातापछि ग्यास लिन आउनुहोस् । अहिले तपाईंभन्दा अघि धेरै जनाले नाम लेखाउनु भएको छ । पहिला उहाँहरूलाई दिनुपर्छ ।’

‘धन्न वि.सं. २०७२ सालको नाकाबन्दीको समयमा दुई वटा सिलिन्डर जोहो गरेको थिएँ,’ ढुंगेलले रातोपाटीसँग भने, ‘नत्र अहिले समस्या हुने रहेछ । यो रित्तिए पनि घरमा अर्को सिलिन्डरबाट भान्सा चलिरहेको छ ।’ बिक्रेताहरू पुराना सिलिन्डर भर्नुभन्दा नयाँ सिलिन्डर लग्न भन्ने गरेको र नयाँ सिलिन्डर किन्न आफूसँग रकम नभएको ढुंगेलको भनाइ छ ।

प्रत्येक पटक ग्यास बुझ्न पुग्दा प्रतिसिलिन्डर ५ हजारका दरले नयाँ सिलिन्डर किन्न बिक्रेताहरूले अफर दिने उनको गुनासो छ । ‘चलाइरहेको सिलिन्डर साट्न ग्यास नहुने । तर, त्यही ब्राण्डको नयाँ सिलिन्डर भर्न कसरी ग्यास हुन्छ ?’ ढुंगेल प्रश्न गर्छन्, ‘भान्साको सिलिन्डर रित्तिएपछि के गर्ने ? कसरी खाना पकाउने ?’ यसअनुसार अहिले बजारमा भरिएको प्रतिसिलिन्डर ग्यासको मूल्य ५ हजार रुपैयाँमा बिक्री भइरहेको देखिन्छ । जबकि ग्याससहितको नयाँ सिलिन्डरको खरिद मूल्य १६ सय ग्यास र ३ हजार सिलिन्डर गरेर कूल ४६ सय रुपैयाँ आसपास पर्ने नेपाल एलपी ग्यास उत्पादक संघ बताउँछ ।

यसै गरी, दोलखा घर भई पुतलीसडकमा भोजनालय सञ्चालन गरिरहेका सविन कार्कीले समेत रित्तिएको सिलिन्डर भर्न सकेका छैनन् । मझौला स्तरको रेष्टुँरा सञ्चालन गरिरहेका कार्कीको भोजनालयमा तीन वटा सिलिन्डर छन् । ‘एउटा सिलिन्डरले ३ दिन पुग्छ,’ उनले भने, ‘१२ दिनमा तीन वटै सिलिन्डर रित्तियो ।’

‘नियमित रूपमा ग्यास लिने बिक्रेतासमक्ष पुगेर सिलिन्डर रित्तिएको सुनाए,’ कार्कीले रातोपाटीसँग भने, ‘बिक्रेताले ग्यास नपाउने कुरा सुनाए र नयाँ सिलिन्डर किने दिन सक्ने बताए ।’ त्यसपछि, प्रतिसिलिन्डर ५ हजारका दरले कूल १५ हजार रुपैयाँमा तीन वटा नयाँ सिलिन्डर किनेको कार्की सुनाउँछन् । तर, त्यसरी किनिएको सिलिन्डरको ‘सेफ्टी सिल’ तोडिएको छ ।

‘सेफ्टी सिल’ तोडिएको बारे सोधपुछ गर्दा मौज्दात राखेको भन्दै प्रहरीले दुःख दिने गरेको र त्यसबाट बच्न यसो गरेको जानकारी दिएको कार्कीले उल्लेख गरे । ‘यसरी सिल तोडेर नराखे तपाईंहरूजस्ता रेष्टुँरा सञ्चालकको व्यवसाय कसरी चल्छ भनेर उल्टै प्रश्न गरे,’ कार्कीले भने, ‘ऋण लिएर लाखौं लगानीसहित खोलेको सानो भोजनालय सञ्चालन नगरेर सुख छैन । त्यसैले सिल तोडिएको पनि ग्यास किने ।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको स्वीकार्छन् । भन्छन्, ‘चैत ५ देखि १५ गतेसम्म ग्यास आयातमा समस्या भयो । त्यसको प्रभाव अहिले बजारमा देखिइरहेको छ ।’ खास गरी पेट्रोलियम र एलपी ग्यास व्यवसायीले चैतमा ढुवानी कमिशन बढाउन माग राख्दै आपूर्तिमा समस्या सिर्जना गरेका थिए । सोही कारण यतिबेला बजारमा ग्यासको आपूर्ति व्यवस्थामा चाप परेको छ ।

सामान्य अवस्थामा नेपालभर दैनिक १ लाख वटा सिलिन्डर ग्यास खपत हुन्छ । यसका लागि डेढ करोड ग्यास सिलिन्डर बजारमा छन् । यस्तै, दैनिक ८० बुलेट हाराहारी ग्यास भारतबाट नेपालतर्फ भित्रिन्छन् । एउटा बुलेटमा १२ सय ५० वटा सिलिन्डर भरिने ग्यास बोकिएको हुन्छ । लगातार १५ दिनसम्म ग्यास आपूर्ति बिग्रँदा अहिलेसम्म बजारमा चाप परेको मल्ली बताउँछन् ।

यस्तै, संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी अबको एक सातासम्ममा ग्यास आपूर्ति सामान्य अवस्थामा फर्किसक्ने बताउँछन् । उनका अनुसार करिब १५ दिन सम्ममा बिग्रेको बजार व्यवस्था अहिले सामान्य अवस्थामा फर्किने क्रममा छ । यो पूर्ण रूपमा लयमा फर्कन थप साता दिन लाग्ने र त्यसपछि सामान्य बन्ने भण्डारीको भनाइ छ । गर्मी यामलाई ग्यासको अफसिजन समेत भनिन्छ । जाडो यामको तुलनामा गर्मी याममा ग्यासको खपत कम हुने गरेको संघको भनाइ छ ।

‘जाडो याममा चिया, सुप खाइरहनुपर्ने तथा नुहाउँदा गिजर तताइ रहनु पर्नाले ग्यास खपत बढी हुन्छ,’ भण्डारीले भने, ‘तर, गर्मी याममा यी सबै खर्च कट्छन् र ग्यास कम खपत हुन्छ ।’ त्यसैले अबको एक साता सम्ममा बजारको आपूर्ति व्यवस्था सामान्य बन्ने उनको भनाइ छ ।

नेपाल आयल निगमका प्रवक्ता विनीमणि उपाध्याय चैतमा व्यवसायीले ग्यास नउठाउँदा आपूर्ति व्यवस्थामा समस्या आएको जानकारी दिए । उनले व्यवसायीले नउठाउँदा गत महिनामा ३७ हजार मेट्रिक टन मात्रै एलपी ग्यास आयात भएकाले आपूर्तिमा चाप परेको बताए । नेपालमा मासिक औसतमा ४५ हजार मेट्रिक टन ग्यास आयात हुन्छ । गत महिनाको चाप धान्न निगमले हाल दैनिक १२० देखि १३५ बुलेट ग्यास आयात गरिरहेको उपाध्यायको भनाइ छ । यसअघि, निगमले दैनिक औसतमा ८० बुलेट ग्यास आयात गर्थ्यो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago