वडाध्यक्षसहित ७ जना पक्राउ , झुक्याएर २७ रोपनी जग्गा अर्कैलाई पास

संखुवासभा: भोटखोला गाउँपालिका–४ की ७५ वर्षीया विममाया तामाङ आँखा कम देख्छिन्, कान कम सुन्छिन्, लेखपढ गर्न जान्दिनन् । उनलाई २ फागुनमा आफ्नै वडाध्यक्ष किङ साङ भोटेलगायतले वृद्धभत्ताका लागि भन्दै कार्ड बनाउन सल्लाह दिए ।

ललाइफकाइ सदरमुकाम खाँदबारी ल्याइएकी उनले मृत्यु भइसकेका बाबु दलबहादुरको नाममा रहेको ६ कित्ता जग्गा आफ्नो नाममा आएको समेत पत्तो पाइनन् । वृद्धभत्ताको कागज भन्दै औंठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपि समेत निकालियो । आफ्नो नाममा आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन ।
कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङको नाममा वारेस पास भएको छ । वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो । ‘मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई २० हजार दिएका रहेछन्,’ डीएसपी लालध्वज सुवेदीले भने, ‘रकमसँगै लालपुर्जा पनि दिएर उनलाई घर फर्काइएको रहेछ ।’

उनका अनुसार विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । उनले झोलामै सरकारी छाप र लेटरप्याड बोकेर हिँड्ने गरेको प्रहरीको दाबी छ । ‘बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ,’ उनले भने, ‘यसमा ठूलो गिरोह संलग्न छ, हामी अझै अनुसन्धानमै छौं, केहीलाई पक्राउ गर्ने तयारीमा छौं ।’
प्रहरीले गत शनिबारै पत्रकार सम्मेलन गरेर पक्राउ परेका भोटखोलाका वडाध्यक्षसहित ७ जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेका दुई महिला र ५ पुरुषमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, मकालु ४ का अनिश गुरुङ, चैनपुरका पासाङ शेर्पा र खाँदबारीका महेन्द्र पराजुली छन् ।

पराजुली मालपोत कार्यालयका नायब सुब्बा हुन् । पक्राउ परेका वडाध्यक्ष भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ । अन्य ४ कित्ता भने विममायाकै नाममा सुरक्षित छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल एक लाख रुपैयाँको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गा धनी विममायालाई २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ । आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ । भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढी रहेको छ । मुआब्जा धेरै आउने भएपछि यो अपराध भएको प्रहरीले जनाएको छ ।

विममायाको हातमा अहिले बाबुको मृत्यु दर्ता प्रमाणसमेत छैन । वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको उनको दाबी छ । उनले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन् । लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरीका अनुसार अध्यक्ष भोटेले वृद्धभत्ता मिलाइदिने र बजार घुम्न लैजाने भनेर नागरिकता एवं धनीपुर्जासहितका कागजपत्रका लागि मालपोत कार्यालयमा करिब १५ वटाभन्दा बढी खाली कागजमा ल्याप्चे र सहीछाप गर्न लगाएका थिए । उनले कसैलाई हल्ला नगर्न भनेका थिए ।

आफूलाई झुक्याएर जग्गा हडप्नेलाई कडा कारबाही गर्न विममायाले माग गरेकी छन् । बाबु दलबहादुरको २०५८ माघमा मृत्यु भएपछि जग्गाको हकवाला एक मात्रै सन्तान भएकीले विममाया हकवाला हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा गाउँपालिकालाई के भएको हो भन्दै यथार्थ विवरण पठाइदिन हुन भनेर २४ घण्टे प्रस्टीकरण पत्र काटेको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago