वृक्षरेखा सर्दै जानुले जलवायु परिवर्तन भइरहेको छ भन्ने संकेत

काठमाडौँ: तापक्रम वृद्धिको गतिलाई निरन्तर माथि सर्दै गरेका बोटबिरुवाले प्रस्ट देखाउँछन् । मुलुकका उच्च भेगमा माथि सरेका झार र बुटाहरूले त्यसको चित्र प्रस्ट पारेको अनुसन्धानमा देखिएका छन् ।

पाटन बहुमुखी क्याम्पसको वातावरण विज्ञान विभागका सहप्राध्यापक डा. नारायण गैरे सन् २०१० तिर नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) मा थिए । हिमाली क्षेत्रको वृक्षरेखा अनुसन्धानका लागि उनी लाङटाङ गए । त्यहाँ तलिसपत्र/ठिग्रेसल्लो पाइने स्थानभन्दा केही माथि तिनैका पालुवाहरू पलाएको पाए । २०११ मा उनले त्यसैका आधारमा जलवायु परिवर्तनसँग जोडिएर हिमाली क्षेत्रमा वृक्षरेखा माथि सर्न सक्ने तथ्य बाहिर ल्याए ।
त्यसको दुई वर्षपछि मनास्लु क्षेत्रमा उनले ठिग्रेसल्लाको वृक्षरेखा अध्ययन गर्ने क्रममा बर्सेनि २.६ मिटरका दरले माथि उक्लिरहेको पाए । सन् २०१७ मा खुम्बु क्षेत्रमा ठिग्रेसल्लासँगै भोजपत्र वृक्षरेखा सर्नेसम्बन्धी अनुसन्धान प्रकाशित भयो । खुम्बु क्षेत्रमा ठिग्रेसल्ला विगत वर्षमा ०.९३ मिटरको दरले सर्दै गएको देखियो, भोजपत्रचाहिँ ०.४२ मिटरको दरले । तर पछिल्ला केही वर्षमा भोजपत्रको वृक्षरेखा सर्ने दर स्थिर छ ।

सन् २०१८ मा बेलायतको एक्सिटर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् १९९३ देखि २०१८ सम्म ल्यान्डस्याट भू–उपग्रहबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरेको अनुसन्धानले उच्च हिमाली क्षेत्रमा बिरुवाहरू फैलँदै गएको देखायो । ४ हजार १ सय ५० मिटरको उचाइदेखि ६ हजार मिटरसम्मको उचाइमा झारहरू उम्रिएको पाइयो । हिउँ हुने ठाउँलाई झारले छपक्कै छोपेपछि उनीहरूले तापक्रम वृद्धिको असर भएको निष्कर्ष निकाले ।

एक अनुसन्धानले नेपालमा सन् १९७७ देखि २०१७ सम्म हिमतालको क्षेत्रफल २५ प्रतिशतले बढेको देखाएको छ । शताब्दीको अन्त्यसम्म विश्वमा १.५ डिग्री तापक्रम बढ्दा हिमालय क्षेत्रका ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै दरमा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने इसिमोडको हिन्दुकुश हिमालय एसेसमेन्ट रिपोर्टले भनेको छ । सरकारी तथ्यांकमा नेपालको औसत तापक्रम वृद्धिदर ०.०५६ प्रतिवर्ष छ । यो अरूको तुलनामा उच्च हो । यसरी तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रको वृक्षरेखा माथि सर्दै गएर हिउँ हुने स्थानमा झार उम्रन थालेका छन् ।

उच्च हिमाली भेगमा दुई मिटरसम्मको उचाइ भएका रूखहरू पाइने स्थान ट्री–लाइन अर्थात् वृक्षरेखा भनेर नेपालमा भनिँदै आएको छ । उच्च हिमाली क्षेत्रका वृक्षरेखालाई जलवायुको सूचकका रूपमा लिइन्छ । यसले हिमाली क्षेत्रको जैविक विविधता र मानिसहरूको रहनसहनमा पनि प्रभाव पर्ने प्राध्यापक गैरेले बताए । ती ठाउँमा रूखहरू बन्ने अवस्था सीमित हुन्छन् अर्थात् त्यहाँभन्दा माथि रूखहरू जान सक्दैनन् । नेपालको हिमाली क्षेत्रमा भोजपत्र, धुपी, ठिग्रेसल्ला, कुनै ठाउँमा रानीसल्लोलगायतका प्रजातिहरूले वृक्षरेखा बनाएका छन् ।

‘जलवायु परिवर्तनसँगै अन्य मानवीय गतिविधिको प्रभाव र भू–उपयोगमा आउने परिवर्तनले नेपालको वृक्षरेखाको भविष्यको अवस्थितिले निर्धारण हुन्छ । यसको सघन अनुसन्धान हुन जरुरी छ,’ उनले भने, ‘वृक्षरेखा सर्दै जानुले जलवायु परिवर्तन भइरहेको छ भन्ने संकेत पनि देखाउँछ ।’

वृक्षरेखा सर्दै जाँदा त्यसले हिमाली क्षेत्रको जैविक विविधतालाई पनि असर गर्ने उनी बताउँछन् । उपल्लो स्थानमा पाइने जंगलहरूमा आश्रित महत्त्वपूर्ण हिमाली जडीबुटीहरू पाइन्छन् । रूख सर्दै जाँदा ती प्रजातिलाई असर गर्छ । भोजपत्रको जंगलमा विशेष गरेर पाइने कस्तूरी मृगलगायतका वन्यजन्तुलाई पनि यसले असर गर्ने उनी बताउँछन् । ‘भोजपत्र माथि उक्लँदै जाने हो भने कस्तूरीको बासस्थान पनि माथि उक्लने भयो तर त्यो प्रजातिलाई त्यो स्थानमा अनुकूलन नहुन पनि सक्छ,’ उनले भने । मुस्ताङमा पनि ठिग्रेसल्ला मास्तिर उक्लँदै गएको छ । डोल्पामा रानीसल्लाका पालुवाहरू वृक्षरेखाभन्दा माथि देखिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालसहितको टोलीको प्लस वान जर्नलमा प्रकाशित आलेखले तापक्रम वृद्धिसँगै कीटजन्य सरुवा रोग बढ्दै गएको देखाएको छ । तापक्रम बढेसँगै २ हजार मिटरको उचाइमा पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू पाइएको छ । पहाडी क्षेत्रहरूमा मलेरिया, फिलाराइसिस, कालाजार, जापानिज इन्सेफ्लाइटिस, डेंगुजस्ता रोगहरू फैलिएको धिमालले बताए ।

‘लामखुट्टे १२ सय मिटरभन्दा कम उचाइ भएका क्षेत्रहरूमा देखिन्थ्यो, अहिले यो हिमाली क्षेत्रहरूमा पनि पुगेको छ,’ उनले भने, ‘हामीले २ हजार मिटरसम्मको उचाइमा मलेरियाका केसहरू भेटेका छौं ।’ तराई र पहाडका ३८ वटा जिल्लामा रेकर्ड भएका मलेरिया सार्ने लामखुट्टे ६५ वटा जिल्लामा भेटिएको थियो ।

मलेरिया गराउने एनोफोलोस लामखुट्टे नेपालमा ४५ प्रकारका पहिचान भएका छन् । धिमालको अनुसन्धानले १ डिग्री तापक्रम बढ्दा मलेरियाको जोखिम २५ प्रतिशतले बढ्ने देखाएको छ ।

डेंगुको सन्दर्भमा पनि अवस्था उस्तै खालको रहेको उनले बताए । सन् २००६ मा तराईका ११ जिल्लामा भेटिएको थियो, अहिले जिल्ला विस्तार भएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस १९७० तिर भारतबाट उत्तर हुँदै नेपालतिर फैलिएको थियो । रूपन्देही र मोरङमा पहिलो पटक देखिएको थियो । पछि यो रोग फैलाउने क्युलेक्स ट्रिटेनिरेन्चस लामखुट्टे २४ वटा जिल्लामा भेटिनुका साथै पहाडी जिल्लामा पनि पाइएको धिमालले जानकारी दिए ।

सन् २०१४ मा पूर्वी नेपालमा चिकेनगुनिया, डेंगु, लिम्फाटिक फिलाराइसेस, जापानिज इन्सेफ्लाइटिस सार्ने लामुखट्टेहरू ७० देखि २ हजार मिटरसम्म रेकर्ड भएका थिए । पछि एनोफेलोज, क्युलेक्स र एडिज प्रजातिका लामखुट्टेका फुलहरू २ हजार ३ सय १० मिटरको उचाइमा पाइएको थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेजमा कार्यरत विपिनकुमार आचार्यसहितको टोलीको एक आलेख २०१८ मा प्रकाशित भयो । १ डिग्री तापक्रम बढ्दा कीटजन्य सरुवा रोगको वृद्धि के हुन्छ भन्नेमा केन्द्रित उक्त अनुसन्धान इन्भाइरोन्मेन्टल रिसर्च एन्ड पब्लिक हेल्थ जर्नलमा प्रकाशित छ । १८८० देखि २०१२ सम्म विश्वको तापक्रम ०.८५ प्रतिशतले बढेको छ । यसको संकेत जलवायु र तापक्रमसँग संवेदनशील डेंगु हुन्छ । १ डिग्री तापक्रम बढ्दा नेपालको ७० प्रतिशत जनसंख्यामा डेंगु फैलन सक्ने चेतावनी अनुसन्धानकर्ताको छ । डेंगु सार्ने लामखुट्टेको अधिकतम उचाइ ९ सय मिटरसम्म भए पनि त्यो १४ सय पुग्ने उक्त आलेखमा चर्चा गरिएको छ ।

तापक्रम वृद्धिसँगै वन्यजन्तुको बासस्थान पनि घट्दै जाने प्रक्षेपणहरू भएका छन् । तापक्रम र वर्षाको अवस्थामा फरक आउँदा मिचाहा प्रजातिका वनस्पतिको बढोत्तरी हुने र त्यसले वन्यजन्तुको आहारालाई प्रभावित गर्छन् । भारी वर्षासँगै आउने बाढीले पनि गैंडालाई असर गर्ने अनुसन्धानले देखाएका छन् । तापक्रम बढेसँगै कस्तूरीको बासस्थान सन् २०७० सम्म २९.४७ प्रतिशतले घट्ने प्रक्षेपण भएका छन् । बासस्थान घट्ने, खाना कम हुने, भेलबाढीका कारण वन्यजन्तुको संख्या पनि त्यही अनुपातमा कम हुने विज्ञहरूले जनाएका छन् । यसका लागि वन्यजन्तु संरक्षणसम्बन्धीका कार्ययोजनाहरू निर्माण गर्दा जलवायु परिवर्तन, अनुकूलन र प्रक्षेपणलाई ख्याल गरेर गर्नुपर्ने देखिन्छ ।

सन् २०१६ मा इकोलोजी एन्ड इभोलुसन जर्नलमा अच्युत अर्यालसहितको टोलीको एउटा अनुसन्धान प्रकाशित भयो । आलेखमा तापक्रम वृद्धिसँगै हिउँचितुवाको बासस्थान खुम्चने प्रक्षेपण गरिएको थियो । हिउँचितुवाको बासस्थान ११.६४ प्रतिशतले खुम्चने उक्त रिपोर्टमा उल्लेख छ । यस्तै, २०३० भित्र हिउँचितुवाको विचरण क्षेत्र फैलावट १४.५७ प्रतिशतले र २०५० मा २१.५७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago