काठमाडौं: स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदै छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय निर्वाचनको मिति तोकेको छ । तर, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीका मतदाताले भने वडाका जनप्रतिनिधि टुंगो लगाइसकेका छन् । हल्जी, जाङ, तिल गाउँका स्थानीयले ३० मंसिरमै बैठक बसे नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् ।
यी तीन गाउँमा स्थानीय नीति–नियम लागू हुँदै आएको छ । त्यसकै आधारमा वडा नम्बर ६ मा निर्वाचन सम्पन्न भएको हो । कात्तिक अन्तिम साता र मंसिरको पहिलो साता लिमेली जनताले बैठकमार्फत महत्वपूर्ण निर्णय गर्ने गर्छन् । वडा नम्बर ६ मा हालकै वडाध्यक्ष पाल्जोर तामाङ दोहोरिएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए ।
अब सरकारले तोकेको ३० वैशाखको निर्वाचनमा लिमीमा वडाध्यक्षदेखि वडा सदस्य कसैको मतदान हुने छैन्, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका तीन गाउँमा तीनवटा मतदान केन्द्र छन् । सुनखानी आधारभूत विद्यालय हल्जीमा दुई सय २६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा दुई सय पाँच र हिमशिखर प्राथमिक विद्यालय तिलमा एक सय १० गरी मतदाताको संख्या पाँच सय ४१ छ ।
लिमेली जनताको कात्तिक र मंसिरमा महत्वपूर्ण बैठक हुने गरेको वडाध्यक्ष तामाङले बताए । ‘बर्सेनि तीन गाउँमा बैठक हुन्छ, विशेषगरी कात्तिकको अन्तिम र मंसिरको पहिलो साता बस्ने बैठक विशेष महत्वपूर्ण हुन्छ । सो बैठकले कुनै नयाँ निर्णय गर्ने गर्छ,’ उनले भने । खेतबारी जोत्ने, अन्न भिœयाउँदा गाउँवासीको बैठक बस्ने गर्छ । गाउँको अध्यक्षको निर्देशनविना कुनै पनि स्थानीयले काम गर्न पाउँदैनन् । सार्वजनिक मात्रै होइन, निजी कामका लागि पनि अध्यक्षको अनुमति चाहिन्छ । ‘अध्यक्षको अनुमतिविना कुनै काम गर्न पाइँदैन,’ जाङका एक युवाले भने ।
लिमी गाउँमा कात्तिक र मंसिरमा बस्ने बैठकमा उपस्थित हुन नसक्नेले आफ्नो हैसियतअनुसार हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन रहेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार बैठक बस्ने मिति, समय र स्थान पहिले नै तोकिएको हुन्छ । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरका मूलीले मात्र बस्न पाउने नियम बनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय हुम्लाले हिमपात र भौगोलिक विकटताका कारण मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट लिमी छुटेको जानकारी दिएको छ । १७ मंसिरदेखि ९ पुससम्म भएको नामावली संकलन विशेष कार्यक्रममा लिमी गाउँ छुटेको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…