नवनियुक्त सेबोनका अध्ययक्ष हमाललाई अर्थमन्त्रीले गराए शपथ ग्रहण

२०७८, ६ फाल्गुन शुक्रबार २१:३९
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजार सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरे ।

पुँजी बजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उनले धितोपत्र बोर्ड र नेप्से बीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रह समेत गरे । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राधिकरणमा ९ वर्ष काम गरेका थिए ।

Comments

ताजा खबर