आमाको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा छोरासहित पक्राउ परेका चार जना पुर्पक्षको लागि कारागार चलान

२०७८, ६ फाल्गुन शुक्रबार ०६:४७

पाल्पा: आफ्नै आमाको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा छोरासहित पक्राउ परेका चार जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
तानसेन नगरपालिका–६, स्कुलडाँडाकी ६५ वर्षीया वृद्धा सरस्वतीदेवी घर्तीको हत्यामा उनीहरू संलग्न भएको अदालतको ठहर गरेको छ ।
हत्यामा संलग्न पाल्पाको तानसेन वडा नम्बर ६ बस्ने ४२ वर्षका कमलबहादुर घर्ती, तानसेन वडा नम्बर ७ का ३१ वर्षका विजय परियार, रिब्दीकोट वडा नम्बर ४ घर भई तानसेन वडा नम्बर ६ बस्ने २३ वर्षका हरि सुनार र बगनासकाली वडा नम्बर ६ भई हाल तानसेन वडा नम्बर ६ मा बस्ने २७ वर्षका सुनील परियारलाई कारागार चलान गरिएको हो । कमलबहादुर सरस्वतीका छोरा हुन् ।

गएको पुस २३ गते सरस्वती घर्ती घर नजिकैको जंगलमा मृत भेटिएकी थिइन् ।
सोही दिन नै चार जना मिलेर महिलाको हत्या गरिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए ।
मृतकका कान्छो छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।

Comments

ताजा खबर