विद्यालय अनुगमनमा जनप्रतिनिधिलाई अवरोध

रौतहट: गौर नगरपालिका–४ टिकुलियास्थित आधारभूत प्राथमिक विद्यालयको निरीक्षण गर्न पुगेका जनप्रतिनिधिहरूलाई अवरोध गरिएको छ । वडाध्यक्ष सञ्जय गिरी मंगलबार वडाका सदस्य तथा स्थानीयहरूसहित निरीक्षणका लागि विद्यालय पुगेका थिए । तर कार्यालय सहायक अशोक यादवले उनीहरूलाई विद्यालय प्रवेश गर्न रोकेका हुन् ।
यो विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षदेखि कार्यालय सहायकसम्म सबै एकै परिवारका सदस्य छन् । नाम मात्रको यो विद्यालय बन्द गराउन नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । जसका लागि जनप्रतिनिधि अनुगमन गर्न विद्यालय पुगेका थिए ।
विद्यालयको भौतिक संरचना कमजोर र विद्यार्थी संख्यासमेत न्यून छ । बन्द गर्ने प्रक्रियास्वरूप निरीक्षणमा पुग्दा आफूहरूलाई भित्र प्रवेश गर्न नदिइएको वडाध्यक्ष गिरीले बताए । ‘हामी भित्र हेर्छौं भन्दा कार्यालय सहायक यादवले रोके । गाउँलेलाई समेत भित्र छिर्न दिएनन्,’ गिरीले भने, ‘कक्षा १–६ सम्म जम्मा ८ जना पढ्दा रहेछन् । हदैसम्मको लापरबाही गर्न थालेपछि बन्द गराउने प्रक्रियास्वरूप नै विद्यालय हेर्न गएका हौं । अब यो नाम मात्रको विद्यालय बन्द गराउँछौं ।’

जनप्रतिनिधिलाई प्रवेश गर्न नदिएपछि स्थानीयले प्रतिवाद गरेका थिए । त्यसपछि मात्रै यादव पछि हटेका थिए । यादव प्रधानाध्यापक सावित्री यादवका श्रीमान् हुन् । जनप्रतिनिधिलाई विद्यालय प्रवेश गर्न नदिइरहँदा प्रअ सावित्री भने चुप थिइन् । एकै परिवारका सदस्यले सञ्चालन गरेको यो विद्यालय बन्द गराउनुपर्नेमा स्थानीय पनि सहमत छन् । लामो समयदेखि न्यून मात्रै विद्यार्थी भएको यो विद्यालयमा सरकारले बर्सर्नेि रकम भने खर्च गर्दै आएको छ । गौर नगर प्रमुख शम्भु साहले पनि यो विद्यालय बन्द गर्ने प्रक्रिया सुरु गरेको बताए । ‘विद्यालयमा विद्यार्थी नै न्यून छन् । भौतिक संरचना पनि छैनन्,’ उनले भने, ‘विद्यालय जीर्ण छ । एकै परिवारले चलाएको फेला पारेका छौं । अब पनि सञ्चालन गर्न दिँदा राम्रो सन्देश जाँदैन ।’

नगरपालिकाका शिक्षा शाखा प्रमुख विनयलाल दासका अनुसार उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रामेश्वर यादव, प्रअ उनकी बुहारी सावित्री, बाल विकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक कार्यरत छन् । २०६३ सालमा स्थापना भएको उल्लेख गर्दै विद्यालयमा बोर्ड झुन्ड्याइएको छ । तर, कक्षा ६ सम्म पढाइ हुने विद्यालयमा अहिले दिनहुँ ४–८ जनासम्म मात्र विद्यार्थीको उपस्थिति रहने गरेको छ । ‘कक्षा १ मा ६ जना मात्र भर्ना छन् । कक्षा २ मा ४ जना, ३ मा १२ जना, ४ मा १३ जना, ५ मा १२ जना र ६ मा ३ जना विद्यार्थी भर्ना छन्न् । बाल विकास कक्षामा ४ जना छन्,’ उनले भने, ‘भर्ना भए पनि अधिकांश विद्यार्थी विद्यालय आउँदैनन् ।’

१५ वर्षदेखि सञ्चालित विद्यालयको भौतिक अवस्था दयनीय छ । विद्यालयको छानबिनका लागि अख्तियारले समेत पत्र पठाएको छ । स्थानीयले समेत विद्यालय बन्द गराउन नगरपालिकालाई दबाब दिँदै आएका छन् । तर, राजनीतिक पहुँचको भरमा सञ्चालनमा रहेको विद्यालयमा कार्यालय सहायक यादवले बाहिरबाट जाने जोकोहीलाई हप्कीदप्की गरेर पठाउने गरेका एक स्थानीयले सुनाए ।

यादव परिवार भने विद्यालय सञ्चालनमा अवरोध गरेको भन्दै मुद्दा प्रक्रियामा गएको छ । विद्यालयलाई जग्गा दान गरेकी भनिएकी ७१ वर्षीया सुरुजदेवीले विद्यालय सञ्चालनमा अवरोध गरेको भन्दै नगर प्रमुख साह, वडाध्यक्ष गिरी र शिक्षा विकास तथा समन्वय इकाईविरुद्ध जिल्ला अदालत गौरमा गत जेठ २६ मा रिट दर्ता गराएकी छन् । अदालतले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । रिट दर्ता गर्ने सुरुजदेवी व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरकी श्रीमती हुन् ।

प्रअ सावित्रीलाई कान्तिपुरले फोन सम्पर्क गर्दा श्रीमान् अशोकले उठाए । राजनीतिक प्रतिसोध साध्न विद्यालय र आफ्नो परिवारको बेइजत गरिएको अशोकको आरोप छ । ‘यहाँ क–कसको पृष्ठभूमि के–के छ भन्ने हामीलाई पनि थाहा छ । खाइनखाई विद्यालय चलाएका छौं,’ उनले भने, ‘आपराधिक पृष्ठभूमिका मानिसहरू आएकाले भित्र पस्न नदिएका हौं । विद्यालय बन्द भयो भने बलबालिकाको भविष्य के होला ?’ उनले आफू विद्यालयको कर्मचारी भएको बताए ।

जिल्लाका १८ वटा स्थानीय तहमा झन्डै ४ सय हाराहारी आधारभूत विद्यालय छन् । ती सबैको भवन, भौतिक संरचना पर्याप्त छैनन् । स्थानीय तहले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको हालत दयनीय रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंहले बताए । ‘टिकुलियाजस्ता अरू ठाउँमा पनि विद्यालयहरू होलान्,’ उनले भने, ‘हामीले पनि खोजी गरिरहेका छौं ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago