एमाले र कांग्रेसबाट १२ जना दौड, को बन्ला बुटवल उपमहानगरको मेयर ?

बुटवल: आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाले सबैको ध्यान तानेको छ । २२ वर्षदेखि उपमहानगरमा कब्जा जमाउँदै आएको एमालेका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ भने २०४९ सालको स्थानीय चुनावपछि लगातार पराजय व्यहोर्दै आएको कांग्रेस यसपालिको चुनावमा गुमेको साख फर्काउने दाउमा छ ।

लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये बुटवल उपमहानगरमा एमालेको संगठन बलियो मानिन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’

तर, उनले भनेझैं यसपालिको निर्वाचन एमालेका लागि त्यति सहज नभएको स्वयं एमालेकै नेताहरू बताउँछन् । एमालेबाट फुटेको एकीकृत समाजवादीका कारण पनि केही मत तलमाथि हुन सक्ने र कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना रहेकाले एमालेका लागि चुनौती देखिएको कतिपयको तर्क छ । एमालेकै एक जिल्लास्तरीय नेता भन्छन्, ‘उम्मेदवार छान्दा विचार पुगेन भने यसपालिको चुनाव एमालेका लागि फलदायी नहुन सक्छ ।’

अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमाले नेता पन्थीको भनाइ छ ।

तर, हालका मेयर सुवेदीले पाँच वर्षे कार्यकालमा मतदातामाझ राम्रो छाप छोड्न नसकेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘मतदातामाझ हालका प्रमुखले काम गरेनन् भन्ने मनोभावना विकास भएको छ, त्यसैले सुवेदीलाई मेयरमा दोहोर्‍याउने हो भने चुनाव विपक्षीको पोल्टामा जान सक्छ,’ एमाले नगर कमिटीका एक नेताले भने ।

बुटवल उपमहानगरपालिकाको मेयरका लागि एमाले र का‌ंग्रेसका गरेर १२ जनाले आकांक्षा देखाएका छन् । नगरप्रमुख सुवेदी आफैँ दोहोरिन चाहेका छन् । पार्टी महासचिव शंकर पोखरेलसँग निकट मानिएका कारण पार्टीले उनलाई अगाडि सार्ने संभावना पनि छ । त्यस्तै उपप्रमुख गुमादेवी आचार्यले पनि प्रमुखमा दाबी गरेकी छन् ।

अघिल्लो चुनावमा दावेदार रहेका एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई र युवा नेता तथा प्रदेश कमिटी सदस्य गोपाल राना पनि मेयरका आकांक्षी छन् । अन्य प्रतिस्पर्धीको तुलनामा यी दुई आंकांक्षी चुनाव जित्नका लागि बलिया उम्मेदवार मानिन्छन् । भट्टराई बौद्धिक व्यक्तित्व भएको र सबै क्षेत्रसँग उनको सन्तुलित भूमिकाका कारण राम्रो प्रभाव देखिएको छ । आफूले टिकट पाए चुनाव जितेर देखाइदिने भट्टराई बताउँछन् । राना भने जनजातिको मत तान्न सक्ने र युवामाझ लोकप्रिय छवि बनाएका कारण बलिया दावेदार हुन् । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् ।

अघिल्लो पटक पार्टीका जिल्ला अध्यक्ष रहेका सुवेदीले टिकट पाएकाले यसपाली आफूलाई दिनुपर्ने माग एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि गरेका छन् । ‘जिल्ला अध्यक्षलाई टिकट दिएर एउटा नजीर बसाल्ने हो भने भविष्यमा पनि सहज हुन्छ,’ उनले भने ।

पार्टी जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक बाबुराम पन्थीले पनि मेयरका लागि आकांक्षा राखेका छन् । विकासका लागि आफैँ फिल्डमा खटिएर काम गर्न सक्ने र मतदाताको मन सजिलै जित्न सक्ने उनको क्षमता पार्टीले बुझ्न नसकेको कतिपय नेता बताउँछन् ।

कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।

त्यस्तै कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले पनि बुटवलमा मेयरको आकांक्षा व्यक्त गरेका छन् । बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago