होलीको ऐतिहासिक कथा

२०७८, ३ चैत्र बिहीबार १५:२३

काठमाडौं: हिन्दु समाजमा प्रचलित मान्यता अनुसार ‘असत्यमाथि सत्यको विजय’ अर्थात् देवताहरूको पराक्रमका अगाडि असुर प्रवृत्तिको विनाशको इतिहास भनेर होलीको वर्णन गर्ने गरिन्छ । होली पर्व (फागु पूर्णिमा) विशेष गरी नेपाली तथा भारतीय हिन्दुहरूले प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाउने प्रमुख चाड हो । हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । कथित असुर कुलका भनिने हिरण्यकशिपुले ईश्वरभक्त पुत्र प्रह्लादलाई जलाउन सृष्टिकर्ता भनिने ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी आफ्नै बहिनी (प्रह्लादकी फुपू) होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न आदेश दिए । प्रह्लादलाई भस्म पार्न होलिका आगोमा बस्दा आफू स्वयम् जलेर भस्म भएकी तर विष्णुभक्त प्रह्लादलाई भने केही नभएको मिथकका आधारमा त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु गरिएको मानिन्छ । यो चाडले वसन्त ऋतु आगमनको संकेत पनि गर्छ । विभिन्न रङ खेलेर मनाइने होली रङहरूको पर्व भनेर पनि चिनिन्छ ।

होलीको मिथकले अरूको कुभलो चिताउनेहरू आफैं जलेर नष्ट हुन्छन् भन्ने भाष्य निर्माण गरे पनि होलीसँगै जोडिएको अर्को पाटो होलिकादहनले भने केही प्रश्न उठाउँछ । होली विजयोत्सव हो कि विभेदोत्सव ? सत्य र असत्य सापेक्षिक हुन्छ कि हुँदैन ? यदि हुन्छ भने होलीको ऐतिहासिकताले सत्य र असत्यमाथि, धर्म र पापमाथि, विजय र पराजयमाथिका स्थापित भाष्यहरूमाथि पनि प्रश्न उठाउँछ । यसले देवता र दानवलाई धर्म र पाप, सत्य र असत्य, उत्कृष्ट र निकृष्टको कसीमा बाँधेका मान्यताहरूको विवरण माग गर्छ । को किन र केका आधारमा देवता बनाइएका थिए र को केका आधारमा असुर बनाइएका थिए ? देवताहरू किन महान् र असुरहरू किन नीच ? देवभक्त हुनु अर्थात् आस्तिक हुनु कसरी धर्म र देवताको पूजा नगर्ने नास्तिक हुनु कसरी पाप ? देवभक्त भएकै कारण प्रह्लादलाई नजलाउने आगोले आगोबाट नजल्ने वरदान पाएकी होलिकालाई किन जलाउँछ ? हामी लिखित मिथकका आधारमा होलिकालाई त जलाउँछौं, तर पितृसत्तात्मक समाजको पारिवारिक जाँतोमा पिसिएकी एक विवश नारीको निरीहता बुझ्न खोज्दैनौं । जहाँ स्त्रीको सृजन नै पिता, पुत्र र पतिको आदेश शिरोपर गर्नका निम्ति भएको हो भनिन्छ, त्यहाँ स्त्रीहरूका अगाडि पिता, पति र दाजुहरूको आदेश अस्वीकार गर्ने सुविधा हुन्छ कि हुँदैन ? त्रेता युगमा स्त्री विद्रोह वर्जित थियो कि थिएन ? थिएन भने राजघरानामै पनि रामकी पत्नी सीताले आफ्नो पवित्रताको प्रमाण दिन किन चुपचाप अग्निपरीक्षाबाट गुज्रिनुपरेको थियो ? किन गर्भवती अवस्थामा कठिन वनवास भोग्नुपरेको थियो ? किन सीताले आफूमाथि भएको अन्याय चुपचाप ग्रहण गरिरहिन् ? किन विद्रोह गर्न सकिनन् ? पितृसत्तात्मक समाजमा नारी विद्रोह वर्जित हुनुका यस्ता असंख्य दृष्टान्त छन् ।

धर्मशास्त्रमा नारी
नारीवादी लेखिका सिमोनले लेखेकी छन्, ‘साहित्य, संस्कृति, इतिहास तथा परम्परा पुरुषद्वारा लेखिएका हुन् र पुरुषद्वारा निर्मित विधानमा महिलालाई सधैं दोस्रो दर्जामा राखियो ।’ पितृसत्ताद्वारा रचित धर्मशास्त्रका स्त्री पात्रहरू कोचाहिँ तत्कालीन पुरुष प्रभुत्वको जाँतोमा कुल्चिइएका छैनन् होला ? अन्याय र अत्याचारमा पिल्सिएका स्त्रीहरूको फेहरिस्त निकै लामो बन्छ । सती, पार्वती, वृन्दा, गोमादेखि माधवी, द्रौपदी र सीतासम्म आइपुग्दा कुनचाहिँ स्त्री पात्रले पितृसत्ताको प्रकोपबाट आफूलाई सकुशल उम्काउन सकेका छन् र ? धर्मशास्त्र होस् या वैदिक साहित्य, ती पितृसत्तात्मक व्यवस्थाद्वारा लिखित दस्तावेज हुन् । जहाँ स्त्री पात्रको निर्माण, प्रयोग र वर्णन पितृसत्ताको विकासको निरन्तरताकै उद्देश्यका निम्ति गरिएको छ । कतै पुरुष पात्रकै छाया बनाएर पुरुषकै वरिपरि नचाइएको छ भने कतै थेग्नै नसक्ने अन्यायको चाङमा राखेर सहनशील र महानताको पगरी गुथाइएको छ अनि कतै इतिहासले घृणा ओकल्ने गरी तुच्छ करार गरिएको छ । तिनै स्त्रीद्वेषी शास्त्रलाई समाज चलाउने विधानका रूपमा प्रयोग गरेर कालान्तरसम्म महिलाहरूलाई नियमकानुन र परिधिको लगाममा बाँधेर सांस्कृतिक प्रभुत्वद्वारा भाग्यवाद र नियतिवादको दलदलमा फसाई पितृसत्ता अनुकूल हुने गरी निर्माण र विकास गरिएको छ । त्यसै गरी होलीको मिथकले अन्याय गरेकी कथित असुर घोषित एक स्त्री पात्र हुन् होलिका, जो अहंकारी दाजु र कथित पराक्रमी देवताहरूको युद्धको रापमा पिल्सिन बाध्य भई पितृसत्ताको आगोमा जलेर नष्ट भइन् । न्याय र अन्याय, सत्य र असत्य, धर्म र पाप, विजय र पराजयको भाष्य स्थापित गर्न धर्मको अग्निमा उनको बलि चढाएर नयाँ कथा रच्दै एउटा सन्देश प्रवाह गरियो- यसरी हुन्छ, ‘असत्यमाथि सत्यको विजय’ ।

पितृसत्ताको अग्निमा बलि चढाइएकी होलिका
आज पनि हाम्रो समाज पितृसत्तात्मक छ । मनुले भनेजस्तै, बाल्यकालमा छोरीहरू पिता र दाजुहरूको नियन्त्रणमा हुनुपर्छ, बिहेपछि पति अनि वृद्धावस्थामा छोराहरूको संरक्षकत्व र नियन्त्रणमा बस्नुपर्छ । यो मान्यतालाई शिरोधार्य गर्ने समाजमा युगौंसम्म महिलाहरूलाई शिक्षाबाट वञ्चित राखेर घरभित्रै थुन्ने सामाजिक कानुन बनाइयो । आज त महिलाहरू स्वतन्त्रतातर्फ बल्ल बामे सर्दै छन् भने प्राचीन समयका महिलाहरूको अवस्था कस्तो थियो होला ? त्रेता युगका महिला कस्ता थिए होलान् ? उनीहरूको निजत्व र स्वतन्त्रता केकति परिबन्धित थियो ? त्यही परिस्थितिमा चेपिएकी होलिकाको अवस्थिति कस्तो रह्यो होला ? को थिइन् होलिका, आज्ञाकारी बहिनी या एक असुर जातकी स्त्री ? के चुकाउनुपर्‍यो उनलाई प्राण त्यागेर, आज्ञाकारी बहिनी हुनुको मूल्य या असुर कुलमा जन्म लिनुको पीडा ? एउटै अग्निमा बसेको छोरा प्रह्लादचाहिँ जीवितै छ (देवभक्त भएकै कारण) । किन चढाइयो इतिहासको आगोमा एउटी बहिनीको बलि ? प्रत्येक वर्षको होलीमा तिनै एउटी असुरकी बहिनी, सदियौंअघि धर्मको अग्निमा बलि चढाइएकी होलिकालाई निर्ममतापूर्वक दहन गरेर खुब उत्साहित हुँदै भनिन्छ- ‘विजयोत्सव’ ।

होलीलाई सांस्कृतिक पर्वका रूपमा मनाउनु एउटा पाटो होला तर हाम्रा परम्परागत पर्वहरूले सांस्कृतिक हिंसा र विभेदलाई प्रश्रय दिइरहेका छन् भने तिनको शल्यक्रिया र पुनर्व्याख्या अनिवार्य हुनुपर्छ । संस्कृति समयसँगै परिमार्जन र रूपान्तरण हुने विषय हो । धर्म, संस्कृति र परम्पराका यस्ता अध्यायहरूबाट कहिले फाल्ने सांस्कृतिक हिंसा र विभेदका पाटाहरूलाई ? तीज, स्वस्थानी, ऋषि पञ्चमी आदिजस्ता महिलामाथि सांस्कृतिक हिंसा गर्ने पर्वहरूलाई कहिलेसम्म संरक्षण गरिरहने ?

इतिहासको एउटा बर्बर संस्कृति सतीप्रथा, जसले सदियौंसम्म स्त्रीलाई जिउँदै आगोमा पोलिरह्यो । अर्को मिथक होलिकादहन, जसले प्रत्येक वर्ष विजयोत्सवको झुटो बहानामा एउटी स्त्रीको पुत्ला जलाउँछ । जिउँदै स्त्री जलाउने सतीप्रथा होस् या निर्जीव पुत्ला जलाउने होलिकादहन, यो स्पष्ट छ, दुवै स्त्रीविरोधी प्रथा हुन् । कतै देवी बनाएर त कतै दानव बनाएर, कतै महान् त कतै नीच बनाएर ।

सदियौंदेखि स्त्रीलाई जिउँदै पोल्ने प्रथाको सांकेतिक निरन्तरता हो, होलिकादहन । कहिलेसम्म यस्ता स्त्री पोल्ने प्रथाहरूले सांस्कृतिक निरन्तरता पाइरहने ? कहिलेसम्म स्त्रीहरूको देवत्वकरण र दानवीकरण गरिरहने ? कहिलेसम्म आस्थाका नाममा होलिकादहन गरी स्त्री पोल्ने प्रथालाई निरन्तरता दिइरहने ?

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु