१० दिनसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म आन्तरिक उडान बन्द हुने !

२०७८, ५ फाल्गुन बिहीबार २३:३७

काठमाडौं: रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ । तयारीस्वरूप मंगलबार साँझ विमानस्थल परिसरमा राष्ट्रिय गान गुन्जिएको थियो । राष्ट्रिय गान बज्न सुरु भएपछि विमानस्थलको अगाडिपट्टि सांगीतिक फाउन्टेन (पानीका फोहरा) सञ्चालन भएका थिए ।
पानीका विभिन्न रङसँगै निस्किएको पानी र धुनले विमानस्थल वरपर दर्शक जम्मा भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार बिहानै शुक्रबार उडान हुने धावनमार्ग सफाइ थालिएको थियो । धावनमार्ग पखाल्ने काम दिउँसो सकिएको विमानस्थल कर्मचारी बताउँछन् । ‘धावनमार्गमा रहेका विद्युतीय र चुम्बकीय वस्तु हटाउने काम भएको छ,’ आईसीबी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले भने, ‘वरिपरिको घाँस काटिएको छ ।

कुनै खालको समस्या नआओस् भनेर रनवे पखालिएको हो ।’ सफाइको काम निरन्तर चल्ने उनले जानकारी दिए । ‘यसबाहेक जनशक्तिलाई कहाँ र कसरी परिचालन गर्ने भन्नेमा लागिरहेका छौं,’ उनले भने, ‘कुन सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी उडान नहुन्जेलसम्म चलिरहन्छ ।’ विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) तय गरिएको छ । विमानस्थलमा जडित उपकरण दुरुस्त छन्/छैनन् भन्नेबारे प्रस्ट हुन उक्त परीक्षण गर्न लागिएको न्यौपानेले बताए ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गरेर उक्त उडानबारे जानकारी गराएको थियो । यहाँ पानीका फोहरा मंगलबार साँझ परीक्षण गरिएको हो । फागुन १५ सम्म यान्त्रिक परीक्षण हुने न्यौपानेले जनाए । त्यसका लागि प्राधिकरण र विमानस्थल निर्माण आयोजनाले तयारी गरिरहेको उनले बताए । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले उडानको जिम्मेवारी पाएको छ । त्यसका लागि एरो थाईको जहाजले बिहीबार बिहान थाइल्यान्डबाट उडान गर्नेछ । त्यहाँबाट बंगलादेशको ढाकामा आएर इन्धन भरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको न्यौपानेको भनाइ छ ।

‘कागजी प्रक्रिया पूरा भए बिहीबार साँझ नै काठमाडौंबाट भैरहवाका लागि उड्नेछ,’ उनले भने, ‘ढिलाइ भए शुक्रबार बिहानै भैरहवा अवतरण हुनेछ र पहिलो उडान गर्नेछ ।’ यहाँ अवतरण गरेपछि अपनाउनुपर्ने प्रावधानबारे समेत प्राधिकरणलाई जानकारी गराएको उनले जानकारी दिए । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी प्रतिदिन दुई वटा परीक्षण उडान हुनेछन् ।

उक्त अवधिभरि बिहान १० देखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछ । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई दृष्टिगत गरी प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको मागअनुसारको समयसम्म उडान सुविधा दिने जनाएको छ । परीक्षण अवधिभर आकाशमा ड्रोन क्यामेरा नउडाउन र रेडिएसन आउने कुनै प्रकारका लाइट नबाल्न प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रकाशन गरी आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा विमानस्थलमा १० दिनसम्म परीक्षण उडान सञ्चालन हुन लागेको हो । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सकिइसकेको छ । परीक्षण उडानपछि मात्र विमानस्थलबाट व्यावसायिक उडान गर्ने तयारी गरिएको छ । एरो थाईले गर्ने परीक्षण उडानपछि आउने एयरेक साइकल प्रोसेस रिपोर्टले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको प्रमाणित गर्ने न्यौपानेले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु