त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वर्ण पदक जिते

२०७९, ३० आश्विन आईतवार १२:१६

काठमाडौं: करातेको काता विधाबाट विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वर्ण पदक जितेका छन् । पर्वत सदरमुकाम कुश्माको बडागाउँस्थीत सेमी कभर्डहलमा जारी पहिलो दिन महिला काता समूहको फाइनलमा प्रदेश १ लाई आर्मीले पराजित गर्दै स्वर्ण पदक जितेको हो । वाग्मतीले रजत र नेपाल पुलिसले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ भएको एकल कातामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वाग्मती प्रदेशलाई हराउँदै स्वर्ण पदक जितेको हो । एपीएफका तर्फबाट स्वर्णिम मानन्धरले वाग्मतीका रेहन जावेदलाई पराजित गर्दै स्वर्ण पदक दिलाउन सफल भए । वाग्मतीले रजतमा चित्त बुझाउँदा नेपाल पुलिसका महसुस तामाङ र प्रदेश १ का आशिष मगरले कांस्य पदक जिते । एकल कातामा भने नेपाल पुलिस सफल भएको छ । नेपाल पुलिसकी चञ्चला कुँवरले आर्मीकी संगीता मगरलाई पराजित गरिन् । कर्णालीकी एलिसा रसकोटीमगर र सुदूरपश्चिम प्रदेशका वर्षा राउतले कांस्य पदक जिते ।

शनिबार हुने भनिएको पुरुष समूह कातातर्फको फाइनल खेल भने समय अभावका कारण आइतबारका लागि सारिएको कराँतेका मुख्य सहायक प्रशिक्षक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य दीपक श्रेष्ठले बताए । पर्वतमा करातेतर्फ महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी जम्मा १९ वटा इभेन्टमा खेल हुनेछन् । ती इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ६४ वटा कांस्य पदक गरी कुल १ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु