विराटनगर: मोरङको जहदा गाउँपालिका– ७ मझारेका ४५ वर्षका महावीर चौधरी मलाहा झापामा खर्बुजा खेती गर्छन् । झापाको माइखोला बगरमा १८ वर्षयता खेती गर्दै आएका उनले खर्बुजाको आम्दानीले २०६५ सालमा जहँदा– ७ मा ९ कट्ठा ६ धुर जग्गा किने ।
पाँच विघा क्षेत्रमा खर्बुजा खेती गर्न हरेक वर्ष ऋण लिन्थे, खरबुजा उब्जनी भएपछि त्यही बेचेर ऋण तिर्थे । तर २०७२ सालको खर्बुजा खेती असिनाले सखाप पार्यो । त्यसपछि उनले प्रफुल्ल साहसँग लिएको एक लाख ऋण तिर्न सकेनन् ।
‘पत्थर गिरेपछि (असिना) ले खेती सखाप भयो, खेती गर्न प्रफुल साहसँग एक लाख ऋण लिएको थियो,’ महावीरकी लिलादेवीले भनिन् । प्रफुल्लले पैसा मागेपछि महावीरले पशुपति साहसँग चार लाख रुपैयाँ ऋण लिए । ‘पशुपतिको ऋण तिर्न सुदेशकुमार साहसँग पाँच लाख ऋण लिनुपर्यो’ लीलादेवीले भनिन् ।
पशुपतिले एक वर्षमा नै पैसा फिर्ता मागेपछि उनले २०७३ असार १६ गते सुदेशकुमार साहसँग पाँच लाख ऋण लिएका थिए । ऋणको ब्याज सयकडा ३ रुपैयाँ थियो ।
यसरी ऋण लिँदा उनले ९ कट्ठा ६ धुर जग्गा धितो राख्ने गरेका थिए । जग्गा धितो राखेर ऋण दिएका प्रफुल र पशुपतिले ऋण तिरेपछि जग्गा फिर्ता गरे, सुदेशले भने चौधरीको जग्गा बेचिदिए ।
माइखोलाको खर्बुजा खेतीबाट हुने आम्दानीले सुदेशको ऋण तिर्न नपुगेपछि मलाहा पैसा कमाउन भरतको पञ्जाब गए । तीन वर्ष पञ्जाबमा कमाएको सबै पैसा सुदेशकुमारलाई नै दिएको महावीर बताउँछन् ।
‘मैले उताबाट पैसा पठाइदिन्थे, यहाँबाट श्रीमतीले लगेर उसलाई तिरिन्’, महावीरले भने,‘ऋण तिरिसकेपछि पनि हाम्रो जग्गा बेचिदिएछ ।’
पटक पटक गरी ऋणको सावा ब्याज १० लाख २० हजार रुपैयाँ बुझाएको उनको दाबी छ । ‘ऋण लिदा पछि उकास्ने गरी जग्गा दिएको थिएँ,’ महावीरले भने,‘पाँच लाख ऋण लिएकामा १० लाख २० हजार रुपैयाँ तिरेपछि जग्गा फिर्ता माग्दा अर्कैलाई बेचिसकेको रहेछ ।’
आफ्नो जग्गामा अर्कैले जोत्न थालेपछि मात्र महावीरले जग्गा बिक्री भएको थाहा पाएका थिए । उनले पाँच लाख ऋण लिएर सोही रकम उल्लेख गरेर जग्गा सुदेशलाई पास गरिदिएका थिए । सुदेशले ४ लाख रुपैयाँमा श्रवण यादवको नाममा राजीनामा पास गरेको थाहा पाएको महावीरले बताए ।
महावीरले खरबुजा खेतीबाट भएको आम्दानीले किनेको कित्ता नम्बर ४४१ को ९ कट्ठा २ धुर र कित्ता नम्बर ३६७ को ४ धुर (जम्मा ९ कट्ठा ६ धुर) जग्गा सुदेशले २०७७ वैशाख २९ गते श्रवण यादवलाई बिक्री गरेका हुन् ।
महावीरका अनुसार २०७३ सालमा लिएको ऋणको किस्तावापत २०७४ सालमा २ लाख ७० हजार, २०७५ सालमा २ लाख, २०७६ सालमा ३ लाख रुपैयाँ घरमा नै लगेर बुझाएका छन् । त्यसपछि ०७७ मा झापाको झापा गाउँपालिकामा २ लाख र सुनसरीको इनरुवामा ५० हजार रुपैयाँ बुझाएको महावीर बताउँछन् ।
उनका अनुसार सो जग्गा ५ लाख रुपैयाँ प्रतिकट्ठा बिक्री हुन्छ । पैसा बुझाइसकेपछि सुदेशले बेचेको जग्गामा श्रवणले माछा पोखरी खन्ने तयारी गरिरहेका छन् ।
साहुकारले जग्गा बेचिदिएपछि उनी न्याय माग्दै भौतारिरहेका छन् । ‘जग्गा माग्दा फिर्ता गर्न मान्दैन, हप्की दप्की गर्छन्’ चौधरीले भने, ‘प्रशासनलाई गुहार माग्दा पनि न्याय पाएको छैन ।’
उनी न्यायाका लागि दैनिकजसो जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय धाइरहेका छन् । एक साताअघि जहदा गाउँपालिकाको न्यायिक समितिले महावीरको समस्यामा छलफल गरेको थियो । छलफलका क्रममा सुदेशले आफूलाई नै हप्कीदप्की गरेको महावीरको गुनासो छ ।
‘जग्गा फिर्ता माग्दा काट्छु मार्छु भन्दै हप्कीदप्की गरे,’ उनले भने, ‘गाउँ समाज राख्दा पनि जग्गा दिएको छैन ।’
सुदेशबाट असुरक्षा भएको भन्द उनले २०७८ साउन ४ गते जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षा माग गर्दै जग्गा फिर्ता गरिदिन निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिएको थियो । ‘सीडीओ कार्यालयले पक्रन भने पनि प्रहरीले सुदेशलाई पक्रेन’, उनले भने,‘ एक पटक समातेर ल्याएको थियो, भोलिपल्ट छुटेछन् ।’
सुदेश जहदामा नेपाली कांग्रेसका स्थानीय नेता हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला महावीर चौधरीको विषयमा अनुसन्धान भइरहेको बताउँछन् ।
‘उहाँको जग्गा पाँचौ पटक राजीनामा पास भएको देखिन्छ, हामीले जग्गा पास गर्ने सबैलाई बोलाएर बुझेका छौं’, उनले भने,‘ थप मानिसलाई बोलाएर बुझ्दैछौं ।’
चौधरीको ५० लाखको जग्गा ५ लाखमा पटक पटक राजीनामा पास भएका कारण ऋणकै लागि पास गरेको देखिएको उनले बताए । पीडितलाई न्याय दिनका लागि प्रहरीले सहयोग गरिरहेको बताउँदै उनले पीडकलाई कानुन अनुसार कारवाही गरिने बताए ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…