नेपाल एसियन कपमा छनोट हुन सक्दैन- प्रशिक्षक

काठमाडौँ: कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेपछि गत वर्ष चैतमा भनेका थिए– साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्य हो । नेपालले ऐतिहासिक फाइनल पनि खेल्यो । प्रत्येक खेलमा जित निकाल्ने उनको चाहना हो । उनी निकै बलिया टिमको सामना गर्दा पनि आक्रामक खेल्दै जितको लक्ष्य राख्ने गर्छन् । उनी शुक्रबार भने फरक रूपमा देखिए । उनले भने, ‘नेपाल एसियन कपमा छनोट हुन सक्दैन ।’

एसियन कप २०२३ तेस्रो चरणको छनोटका खेलहरू जेठ अन्तिम साता हुँदै छ, जहाँ नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । कुवेती भूमिमा हुने निर्णायक छनोटका लागि ट्रेनिङ थालेको पहिलो दिन नै अल्मुताइरीले महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिताका लागि नेपाली टिम योग्य वा तयार नभएको बताए । उनले बारम्बार दोहोर्‍याए, ‘हामी एसियन कपमा छनोट हुन सक्दैनौं । यो वास्तविकता हो ।’ उनले थपे, ‘प्रतियोगिताअघि हाम्रो छनोट सम्भावना भने छ । एसियन कपमा पुग्ने सपना पनि देख्नुपर्छ । तर, हामी वास्तविक धरातलमा उभिनुपर्छ । हामीले कडा चुनौती भने दिनेछौं । भ्रमणका लागि मात्रै कुवेत जाने छैनौं ।’

आयोजक चीनसहित १३ देशले यसअघि नै एसियन कप २०२३ खेल्ने पक्का गरिसकेका छन् । यो तेस्रो चरणको छनोटका ६ समूहमा २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । यसबाट समूह विजेता ६ टिमसँगै दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम गरी ११ देश एसियन कपमा पुग्नेछन् । छनोटको समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध खेल्दै छ । कुवेत सिटीमा हुने खेलबाट नेपाली टिम एसियन कपमा पुग्न योग्य छैन त ?

प्रशिक्षक अल्मुताइरीको बोलीअनुसार त नेपाली फुटबल समर्थकले आफ्ना टिमले एसियन कपको छनाट पार गर्ने आस गर्नु ठीक होइन । विश्वकप/एसियन कप छनोटमा अस्ट्रेलिया, जोर्डनविरुद्ध खेल्दा पनि आक्रामक खेल्ने, जितकै चाहना राख्ने र ठूला कुरा गर्ने उनको व्यवहार यसपालि फेरिएको हो । नेपाली फुटबलको वास्तविकता पनि उस्तै छ । दक्षिण एसियाली स्तरबाट माथि कहिल्यै उक्सिन सकेको छैन । साफ च्याम्पियनसिपको झन्डै तीन दशक इतिहासमा एकपल्ट मात्रै फाइनलमा पुग्न सक्यो, जुन उचाइमा नेपाली टिम गत असोजमा माले (माल्दिभ्स) मा भएको संस्करणमा पुगेको थियो । साफको उपाधि होडमा पहिलोपल्ट पुगेको टिमलाई भारतले ३–० ले हराएको थियो । फाइनलको त्यो स्कोरले पनि अन्तर्राष्ट्रिय फुटबलमा नेपालको हैसियत देखाउँछ ।

एसियाली फुटबलमै सबैभन्दा कमजोर टिम भएको क्षेत्र दक्षिण एसिया नै हो । यहाँ च्याम्पियन हुन नसक्ने टिमले महादेशकै उत्कृष्ट २४ टिममा पर्ने लक्ष्य राख्नु निकै महत्त्वाकांक्षी सपना हुन्छ । त्यसैले पनि ‘सेलिब्रेटी प्रशिक्षक’ अल्मुताइरी आफ्ना समर्थकलाई दिवास्वप्न बाँड्न चाँहदैनन् ।

गत फागुनमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४ क्लबमा करिब ३ सय खेलाडी थिए । तर, उनले अन्तर्राष्ट्रिय खेल खेल्नसक्ने खेलाडी ४५ भन्दा बढी नभएको बताए । अहिलेको छनोटमा उनले २५ खेलाडी बोलाएका छन् । उनले घरेलु फुटबलको सिकाइमै प्रश्न गरे, ‘मैले लिगमा सबै खेल हेरें । तर, लिग सकिँदासम्म कुनै पनि क्लबले कस्तो शैलीमा फुटबल खेल्छ भन्ने पत्ता लगाउन सकिनँ ।’

तत्काल वा अहिले नै बार्सिलोनाजस्तो खेल्न टिम नपाउने उल्लेख गर्दै उनले भने, ‘राम्रो खेलाडी उत्पादन गर्न समय लाग्छ । सानैदेखि सँगसँगै खेलेका खेलाडीहरूले नै माथि आएर सिनियर लेभलमा राम्रो गर्ने हो । यसका लागि नेपालमा (हामीसँग) २० भन्दा बढी फुटबल एकेडेमी चाहिन्छ । ग्रासरुटका कार्यक्रम चाहिन्छ । एकेडेमी र ग्रासरुट फुटबल खोइ कहाँ छ ?’ उनले अन्तर्राष्ट्रिय स्तरमा खेल्ने दुई खेलाडी (रोहित चन्द र किरण चेम्जोङ) मात्रै नेपाली टिममा भएको पनि बताए । किरण, रोहित, सुजल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङबाहेक २९–३० वर्षका अरू सिनियर खेलाडी नभएको उल्लेख गर्दै उनले भने, ‘यू–१६ देखि एकैपल्ट आएका खेलाडी धेरै छन् । तहगत रूपमा आउनुपर्छ ।’

एसियन कप छनोटको ‘ड्र’ ले पनि धेरै कुरा प्रस्ट पार्दछ, जहाँ नेपाली टिम सबैभन्दा कमजोरहरूको ‘पट’ मा थियो । त्यसैले पनि छनोटमा लगातार जोर्डन, कुवेतजस्ता बलिया टिमविरुद्ध खेल्नुपर्ने परिस्थिति नेपाललाई आइलागेको हो । दोस्रो चरण छनोटमा नेपाली टिम कुवेतविरुद्ध ७–० (कुवेत सिटी) र १–० (थिम्पु) तथा जोर्डनविरुद्ध ३–० (अम्मान) र ३–० (कुवेत सिटी) ले हारेको थियो । कुवेती टिमलाई घरेलु मैदान र मौसमको साथ हुनेछ । जोर्डन पनि खाडी मुलुक हो ।

यसै पनि जोर्डनलाई एसियाली फुटबलको राम्रै टिम मानिन्छ । इन्डोनेसियाको लिग फुटबल निकै राम्रो छ, एसियाकै आकर्षक लिगमा पर्छ । त्यहाँको पर्सिजा जकार्ताका स्थापित मिडफिल्डर हुन् नेपालका रोहित चन्द । तर, इन्डोनेसियाको राष्ट्रिय टिमको प्रदर्शन र नतिजा भने लिगजस्तै राम्रो छैन । तर, पर्सिजाले दुई वर्षअघि आसियन च्याम्पियनसिपको फाइनल खेलेको थियो । फिफा वरीयतामा जोर्डन ९१, कुवेत १४६, इन्डोनेसिया १५९ र नेपाल १६८ औंमा छन् । फिफा वरीयताले फुटबल स्तर सही मापन त गर्दैन, तर यसले केही फरक भने पार्छ नै । त्यसैले पनि अल्मुताइरी पहिलाजस्तै एसियन कप छनोटमा महत्त्वाकांक्षी नभएको हुनसक्छ ।

तयारी पनि पहिलाजस्तो पाँचतारे होटलमा छैन । एन्फालाई चुनावी माहोलले छपक्कै छोपेको छ । त्यहीभित्र रहेको होस्टेलमा राष्ट्रिय टिमका खेलाडीहरूलाई राखिएको छ । कतार र कुवेतमा गएर प्रशिक्षण गर्ने भनिएको छ । तर, कहिले जाने निश्चित गरिएको छैन । मैत्रीपूर्ण खेलका लागि अफगानिस्तान, यमन र ओमानलाई प्रस्ताव गरेको छ । पक्का भने भइसकेको छैन ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago