रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी

२०७९, २९ कार्तिक मंगलवार २१:०९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ।

लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए। उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए।

उनले भने, ‘आज राजकुमार पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनका उम्मेदवार रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहने हुँदा उहाँले त्यो नागरिकता त्याग्नुभएको छैन।

उहाँको उम्मेदवारी खारेज गरीपाउँ भनेर उजुरी प्राप्त भएकोमा हामीले कानूनी व्यवस्थाअनुसार उक्त उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेका छौँ। त्यसपछि उहाँले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा आइसकेपछि थप प्रक्रिया अघि बढ्छ।’

त्यस्तै उनले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए। निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा २ वटा फर्स्यौट भइसकेको आयोगले जनाएको छ।

 

Comments

ताजा खबर