न्युनतम मापदण्डसमेत पालना नगरी रंगशाला निर्माण

बिर्तामोड: प्रस्तावित अर्जुनधारा रंगशालामा योजनाविना नै निर्माणको काम थालिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी निर्माण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । अर्जुनधारा नगरपालिका–७ मा स्थानीय समाज उद्दार कल्याण संघले रंगशाला निर्माण सुरु गरेको हो ।
संघले युवा तथा खेलकुद मन्त्रालय र नगरपालिकाबाट रकम जुटाएको छ । २ बिघा नम्बरी तथा ३ बिघा ८ कट्ठा सरकारी गरी ५ बिघा ८ कट्ठा जमिनमा संघले रंगशाला बनाइरहेको छ । तर, उसले रंगशाला निर्माणका लागि न्युनतम मापदण्डसमेत पालना नगरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
संस्थाले तीन वर्षदेखि रंगशाला घेराबाराको काम गरिरहेको छ । डीपीआर नहुँदा रंगशालामा कतिवटा गेट राख्नुपर्ने, उपयुक्त स्थान कहाँ हुने, शौचालय, काउन्टर, कार्यालय, चेन्जिङ रुमलगायतका भौतिक संरचना कुन स्थान र कति संख्यामा बनाउनुपर्नेबारे संस्थाका पदाधिकारीलाई जानकारीसमेत छैन ।

माटो परीक्षणसमेत नगरी रंगशाला जस्तो ठूलो परियोजनामा संरचना निर्माण थाल्नु राज्यको ढुकुटीको चरम दुरुपयोग भएको भन्दै स्थानीय सञ्जय थापाले आक्रोश व्यक्त गरे ।
योजनाविनाको रंगशाला निर्माणमा तीन वर्षयता एक करोड २० लाख रुपैयाँ खर्च भइसकेको छ । यसमा युवा तथा खेलकुद मन्त्रालयको ८३ लाख र अर्जुनधारा नगरपालिकाको करिब ३५ लाख रुपैयाँ खर्च भएको हो । एक करोड २० लाख खर्च हुँदासमेत रंगशाला घेराबाराको काम पनि सम्पन्न नभएको नगरपालिकाका इन्जिनियर नीरज अधिकारीले बताए । ‘रंगशालामा तीन वर्षदेखि घेराबाराको काम भइरहेको छ तर यो वर्ष पनि पूरा हुने अवस्था छैन,’ उनले भने, ‘आगामी वर्षदेखि डीपीआर नबनाई नगरपालिकाले रंगशाला निर्माणका लागि बजेट छुटयाउँदैन ।’

स्थानीयले रंगशाला निर्माणमा गुणस्तरीय कामसमेत नभएको आरोप लगाएका छन् । ‘सोयल टेस्टबिनै गरिएको निर्माणको काम कति पक्का हुन्छ भन्ने यसै पनि अनुमान लगाउन सकिन्छ,’ निवर्तमान वडाध्यक्ष नवीन ढुंगानाले भने । संस्थाले आफ्नो स्वामित्वमा रहेको दुई बिघा जग्गा रंगशाला निर्माण गर्न भन्दै २०७६ मा नगरपालिकालाई दिने लिखित सहमति गरेको छ । सहमतिअनुसार उक्त जग्गामा नगरपालिकाले रंगशाला निर्माणको काम गर्नुपर्ने उल्लेख छ । तर तीन वर्षदेखि रंगशाला निर्माणको काम संस्थाका पदाधिकारी आफैंले गर्दै आएका छन् ।

नगरपालिकासँग सहमति एकखाले छ । कामचाहिँ अर्कै किसिमले भइरहेको छ । यसले हामी स्थानीयलाई अचम्मित मात्र होइन, सशंकित पनि बनाएको छ,’ स्थानीय कुमार भट्टराईले भने ।

संस्थाका अध्यक्ष धर्मानन्द गुरागाईंले स्थानीयको सुझाव सल्लाहअनुसार नै रंगशाला निर्माणको काम भइरहेको दाबी गरे । ‘धेरै दु:ख र लडाइँ गरेर रंगशालाका लागि बजेट ल्याउन सफल भयौं । कुनै काम आफूखुसी गरेका छैनौं,’ उनले भने । उनले घेराबाराको काम सकिन लागेको र अब प्यारापिट, कभर्डहल, शौचालय, चेन्जिङ रुमलगायतका काम सुरु गर्ने बताए ।

संस्थाका सचिव मेदनीप्रसाद ढुंगेलले ७ करोड ४३ लाख रुपैयाँको गुरुयोजनाअनुसार रंगशाला निर्माणको काम थालेको बताए । उनले सबै काम प्राविधिकबाट स्वीकृत गराएरै गरिरहेको दाबी गरे । समाज उद्दार कल्याण संघ नगरपालिकाभित्रको एक सामाजिक संस्था हो । सामाजिक कार्य गर्न स्थानीयले २०५० सालमा संस्था गठन गरेका थिए ।

अर्जुनधारामा जिल्लाकै पुरानो शनिश्चरे बजार छ । उक्त बजारदेखि करिब एक किलोमिटर पश्चिममा विरिङ नदी छ । दुई दशकअघि नदीमा पक्की पुल थिएन । २०६४/६५ तिर स्थानीयको मागअनुसार तत्कालीन जिल्ला विकास समितिको १५ लाख र साबिक अर्जुनधारा गाविसको ५ लाख गरी २० लाख रुपैयाँमा नदीमा पुल निर्माण थालिएको थियो । पुल निर्माणपछि ४ लाख रुपैयाँ बचत भएको थियो । उक्त रकम स्थानीय क्षेत्रको सामाजिक कार्यमा खर्चिने भन्दै पुल निर्माण समितिले समाज उद्दार कल्याण संघमा राखेका थिए ।

सोही रकमबाट खेलमैदान निर्माणका लागि भन्दै संस्थाले नदी किनारको दुई बिघा जग्गा खरिद गरेको थियो । खरिद गरेको जग्गासँगै रहेको थप ३ बिघा ८ कट्ठा जग्गा पनि संस्थाले नै संरक्षण गर्दै आएको छ । संस्थाको २ बिघा र सरकारी ३ बिघा ८ कट्ठा जग्गामा रंगशाला निर्माणको काम भइरहेको हो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago