झापा सुपर लिग मेचीनगरमा वैशाखमा हुने

२०७८, १ चैत्र मंगलवार २१:३४

काँकडभिट्टा — झापा मेचीनगरमा आगामी वैशाखमा झापा सुपर लिग क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ देखि ७ सम्म काँकडभिट्टा ‘झापा सुपर लिग’ क्रिकेट टुर्नामेन्ट हुने भएको हो ।

आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रदेश १ मै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । स्थानीय काँकरभिट्टा माविको मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाका चार वटा टिमले भाग लिने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।

अक्सनमार्फत लिइएका खेलाडीहरुलाई विभिन्न चार टिममा समावेश गरिने छ । जसअन्तर्गत धुलावारी टाइगर्स, बोष्टर्न क्रिकेट इगन, भद्रपुर राइजिङ किङस र विराट वरियर्स प्रतियोगितामा सहभागी बन्ने छन्। प्रतियोगिताका विजेताले २ लाख ११ र उपविजेताले १ लाख ११ हजार रुपैयाँ पाउने छन ।

साथै विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने छन्। जसअन्तर्गत उत्कृष्ट ब्याट्समेनले १५ हजार, उत्कृष्ट बलरले १० हजार, उत्कृष्ट विकेट किपरले ५ हजार रुपैयाँ पाउने छन्।

ब्याट्सम्यानले छक्का प्रहार गर्ने बललाई क्याच गर्ने दर्शकलाई पनि नगद १ हजार ५ सय रुपैयाँ दिइने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

पूर्व क्रिकेटर मनोज कटुवालले झापा सुपर लिगले जिल्लामा पुनः क्रिकेटको माहोल सिर्जना हुने र नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । झापा क्रिकेट संघका अध्यक्ष प्रवीन थापाले कोरोना कहरपछि थलिएको नेपाली खेलकुदलाई यो प्रतियोगिताले राहत प्रदान गर्ने बताए।

Comments

ताजा खबर