फौजसहित सेनाको हेलिकोप्‍टरले गस्ती गर्ने

२०७९, ३० बैशाख शुक्रबार ०७:३४

काठमाडौँ: नेपाली सेनाले काठमाडौँ उपत्यकामा तयारी फौजसहित हेलिकोप्टरले गस्ती गर्ने भएको छ । आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । उपत्यकामा स्थानीय निर्वाचनको मतदान केन्द्रमा सुरक्षा दिन नेपाली सेनालाई पनि तैनाथ गरिएका छन् ।

प्रत्येक मतदान केन्द्रको सुरक्षा गर्न बढीमा ३० मिनेटमा नेपाली सेना पुग्ने प्रवक्ता नारायण सिलवालले जानकारी दिए । ‘काठमाडौँमा तयारी फौज सहितको हेलिकप्टर तैनाथ गरिनेछ,’ उनले इकागजसँग भने । निर्वाचनको सुरक्षाका निम्ति जगेडा, रिजर्भ फौजसमेत खटिएको उनले बताए ।

जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ ।

निर्वाचनलाई लक्षित गरी देशभर ७१ हजार सेना खटिएका छन् । सिलवालका अनुसार देशभर ७१ हजार सेना परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजना स्थानीय निर्वाचन २०७९ योजना अन्तर्गत नेपाली खटिएका हुन् ।

इटहरी, पोखरा, सुर्खेत र काठमाडौँमा विशेष सुरक्षाका लागि सेना खटिएको उनले प्रस्ट पारे ।

Comments

ताजा खबर