आज विश्व रेडियो दिवसः समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका महत्त्वपूर्ण

२०७८, १ फाल्गुन आईतवार १४:०२

काठमाडौँ । आज विश्व रेडियो दिवस, रेडियो पत्रकारितामा भरोसा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । समाज विकास, परिवर्तन र रुपान्तरणमा रेडियोको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ । विशेषगरी विपद्का बेलामा रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

समूहमा बसेर रेडियो सुन्ने प्रचलन २०६२÷६३ सालको जनआन्दोलनसम्म कायम नै थियो । त्यसपछि समूहमा बसेर रेडियो सुन्ने घटे पनि २०७२ साल वैशाखमा भूकम्प गएका बेला रेडियो सूचनाका लागि सशक्त माध्यम बनेको थियो । धेरैले सूचना तथा जानकारी रेडियोबाट मात्रै पाउने गरेका थिए ।

रेडियोलाई सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रुपमा लिइन्छ । तर, सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ । तर, गाउँघर र दूरदराजमा अहिले पनि रेडियो निर्विकल्प सञ्चारको माध्यम हो ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।

२०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथाले प्रसारण सुरु भयो । त्यसपछि अहिले देशका विभिन्न ठाउँमा रेडियो खुलेका छन् ।

खोलिएका रेडियोको सङ्ख्या हजारौँ पुगिसकेको छ । इटलीका वैज्ञानिक जिमार्कोनीले रेडियोका आविष्कार गरेका हुन् । उनले सन् १८९५ मा रेडियो तरङ्ग पत्ता लगाएका थिए । त्यसको २४ वर्षपछि मात्रै रेडियोको व्यावहारिक रुपमा प्रसारण सुरु गरिएको थियो ।

सन् १९१९ को अक्टोबरमा अमेरिकामा पहिलो पटक रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु