कर्णालीमा निर्वाचनको तयारी

२०७९, २९ बैशाख बिहीबार ०७:३७

सुर्खेत: कर्णाली प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम सम्पन्न भएको छ । परिचालन गरिएका कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदानस्थलमा खटिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये दुई सय ९८ मतदान स्थल अति संवेदनशील, ४ सय ११ संवेदनशील र एक सय ९८ वटा मतदानस्थल सामान्य रहेका छन् । प्रदेशभर पाँच हजार बढी प्रहरी, ७ हजार सात सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ ।

तोडफोड र झडपका घटनाहरु बढी भएका जिल्लाहरुमा सुरक्षाकर्मी बढाइएको छ । हरेक जिल्लामा प्रहरी, म्यादी प्रहरी, सेना लगायत एक हजार चार सयदेखि एक हजार सात सयसम्मको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । झडप र तोडफोडका घटना बढी भएकाले रुकुमपश्चिम, सल्यान र मुगुलगायतका जिल्लाहरुमा थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

कर्णालीका हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण आजसम्ममा केही स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । भौगोलिक विकटताका कारण जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने भएकाले दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ लागिसकेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु