एमाले र गठबन्धनबिच कडा प्रतिस्पर्धा

हेटौंडा: उम्मेदवारहरुको दैनिकी आजभोलि अति व्यस्त र थकानपूर्ण देखिन्छ । बिहान सवेरै उठ्ने, समर्थक र कार्यकर्ता जम्मा पार्ने, झण्डा हातमा बोकेर र्‍याली निकाल्ने, टोलटोल धाउने , वडा–वडामा पुगेर सभा गर्ने । दिनभर व्यस्त देखिन्छन् उनीहरू ।

जतिजति चुनावको दिन नजिक आउँदै छ, उति नै उनीहरूको दौडधुप बढ्दो छ । चुनावी प्रचार प्रसार, घरदैलो र कोण सभा गर्दागर्दै उनीहरुको दिन बित्ने गरेको छ । उम्मेदवार र कार्यकर्तारुको यस्तो क्रम केही सातादेखि नै चलिरहेको छ ।

पर्यटकीय नगरीको रुपमा परिचित मकवानपुरको थाहा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु मतदातालाई आफूतिर आकर्षित गर्न घरदैलो, र्‍याली र कोणसभामा व्यस्त छन् । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विष्णुबहादुर विष्टले मेयरमा उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट अच्युतम ढकाल मेयरको प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धन आफ्नो विरासतलाई निरन्तरता दिन चुनावी माहोल बनाउँदै घरदैलोमा पुगिरहेको छ । त्यसैगरी एमालेका उम्मेदवार र कार्यकर्ताहरु पनि बिहानैदेखि अवेरसम्म घरदैलो र कोणसभामा व्यस्त छन् । शनिबार गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवार साविकको आग्रा गाविसमा घरदैलो गर्न पुगेका थिए ।

२०७४ सालको निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनबाट माओवादीका लवशेर विष्ट उक्त नपाको मेयरमा विजयी भएका थिए । यसबीचमा विष्टको कामलाई लिएर थाहा नगरपालिकासँगै जिल्लामा पनि सकारात्मक प्रतिक्रिया आए ।

अहिलेको निर्वाचनमा पनि माओवादी र कांग्रेस गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । गठबन्धनबाट माओवादीको तर्फबाट विष्टले मेयरमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका भरत गोपालीले उपमेयरमा उमेदवारी दिएका छन् । १२ वटा वडामा फैलिएको उक्त नगरपालिकाका २ वटा वडामा मात्र कांग्रेस र माओवादीबीच गठबन्धन भएको हो ।

सत्ता गठबन्धनको विरासतलाई चुनौती दिँदै एमालेले अच्युतम ढकाललाई मेयरमा र कल्पना बलामीलाई उपमेयरमा उमेदवारी गराएको छ । रुपचन्द विष्ट (थाहा) को जन्मथलो र पर्यटकीय क्षेत्र भएकाले थाहा नगरपालिकाको निर्वाचन सबैको चासोको विषय बन्न पुगेको छ । रुपचन्द्र विष्ट‘थाहा’को योगदानलाई चिरस्थायी बनाउन भन्दै उक्त नपाको नाम थाहा नगरपालिका नामाकरण गरिएको थियो। दामन, पालुङ, आग्रा, बज्रबाराही, चित्लाङ र टिष्टुङसहित साविकको ६ वटा गाविस समेटेर उक्त नगरपालिका घोषणा गरिएको हो ।

यसअघि माओवादीले जितेको यस नपामा गठबन्धनको विरासत भत्काउन एमाले प्रयासरत देखिएको छ । आफूहरूसँग प्रस्ट मिसन र जुझारु संगठन भएको एमालेका नेताहरू बताउँछन् । गठबन्धनका नेताहरू भने आफूहरूसँग जनताको साथ रहेको बताउँछन् ।

२०७४ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाले माओवादीका उम्मेदवारलाई सघाएको थियो । तर जनमोर्चाले अहिले मेयरमा आफ्नै उमेदवार शुभराज गोलेलाई उठाएको छ । जसकारण गठबन्धनको उम्मेदवारलाई चुनौती थपिएको छ ।

२०७४ को निर्वाचनमा गबन्धनका उम्मेदवार लवशेर विष्टले ९ हजार ९१ मत ल्याएर विजय भएका थिए भने उनका निकटतम प्रतिष्पर्धी विष्णुप्रसाद ढकालले ६ हजार ५ सय ४९ मत ल्याएका थिए । उपमेयरमा खड्ग गोपालीले ७ हजार ३ सय ७ मत ल्याएर जितेका थिए भने उनको प्रतिद्धन्द्धी कल्पना बलामीले ६ हजार ७ सय ४५ ल्याएका थिइन् ।

यद्यपि थाहा नगरपालिकामा २०७४ निर्वाचनभन्दा अहिलेको निर्वाचन गठबन्धन र एमाले दुवैका लागि पेचिलो बन्दै गएको छ । थाहा नगरपालिकाका मेयर लवशेर विष्ट पदबाट राजीनामा दिएर गठबन्धनका उमेदवारलाई जिताउन मैदानमा उत्रेका छन् । आफूले गरेका राम्रा कामलाई निरन्तरता दिन गठबन्धनको उम्मेदवार विजयी गराउन पदबाट राजीनामा दिएर चुनाव प्रचार प्रसारमा लागेको बताए ।

एमाले थाहाका इन्चार्ज ढकाल भने पार्टी विभाजनको खासै असर नपरेको र विगतको भन्दा संगठन विस्तार व्यापक रुपमा गरेकाले आफूहरूको अवस्था बलियो भएको बताउँछन् । संयोग नै मान्नु पर्छ, गत निर्वाचनमा थाहाको मेयरमा विष्ट र ढकालबीच प्रतिष्पर्धा थियो भने अहिले पनि मेयर पदमा उनीहरूबीच प्रतिष्पर्धा छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago