काठमाडौं: पछिल्लो समय नेपाल राष्ट्र बैंकले विलासिता बस्तुको एलसी नै खोल्न नपाउने निर्देशन जारी गरेपछि मुलुक तातेको छ। नेपाल चरम आर्थिक सङ्कट तर्फ धकेलिँदै गएको रुपमा सर्वसाधारणले उक्त निर्देशनलाई लिन थालेका छन्। सर्वसाधारण मात्रै होइन,अर्थशास्त्रीदेखि नीति निर्मातासम्मले मुलुक श्रीलङ्का जस्तै आर्थिक सङ्कट उन्मुख त हुन लागेको होइन ? भन्दै सार्वजनिक बहस नै छेडिएको छ। उक्त बहसहरू मार्फत अहिले नै मुलुक त्यस्तो अवस्थामा पुगि नसकेको भएपनि सजगता भने अपनाउनु पर्ने सुझाव चौतर्फी रुपमा आउन थालेका छन्।
मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै जानु, मुद्रा स्फीति बढ्दै जानु, रसिया/युक्रेनको युद्धको प्रभाव बजारमा देखिनु, विदेशी लगानी घट्नुले नेपाल श्रीलङ्का जस्तै हुन लागेको हो की भनेर बहस हुन थालेको हो। किनकि श्रीलङ्कालाई यिनै कारणले चरम आर्थिक सङ्कटमा धकेलेको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसिले मङ्गलवार प्रकाशित गरेको समाचार अनुसार श्रीलङ्का प्रमुख पाँच कारणले चरम आर्थिक सङ्कट उन्मुख भएको हो। जसमा विदेशी सञ्चितको कमी,महामारीको प्रभाव, रुस-युक्रेन युद्ध-प्रेरित मुद्रास्फीति, कृषि क्षेत्र सङ्कट र एफडीआईमा तीव्र गिरावट छन्। उसले औँल्याएको सबै जसो विषय नेपालसँग मिल्दाजुल्दा छन्।
नेपालमा पनि मुद्रा स्फिति बढ्दो क्रममा छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म मुद्रास्फीति ५.९७ प्रतिशत पुगेको छ। विदेशी मुद्राको सञ्चिति घटेको छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई रु.१०२४ अर्ब ६० करोड कायम भएको छ। विदेशी विनिमय सञ्चिति घटेसँगै माघसम्म शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो। माघमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आउँदा ५४० अर्ब १२ करोड सीमित छ। व्यापार घाटा चुलिँदै गएको छ भने वैदेशिक लगानी पनि सन्तोषजनक छैन। कृषि क्षेत्र मार्फत हुने आन्तरिक उत्पादनले मुलुक धानिन छोडेको छ भने रसिया र युक्रेनको युद्धले पेट्रोलियमदेखि खाद्यान्नमा समेत असर सुरु गरिसकेको छ।
यस्तै समस्याबाट सुरुवातमा भएको आर्थिक सङ्कट अहिले आएर भयावह अवस्थामा पुगेको छ। राष्ट्रिय आय भन्दा राष्ट्रिय खर्च र निर्यात भन्दा आयात बढी हुन पुगेको छ। श्रीलङ्काले बैदेशिक सहयोग प्राप्त नगरेसम्म उसले आर्थिक सङ्कटबाट पार पाउने स्थिति छैन। सङ्कटबाट बच्न एसियाली विकास बैंक,भारत र चीनसँग उसले थप ऋण मागेको छ।
चरम आर्थिक सङ्कटको सामना गरिरहेको मुलुकमा यति बेला राजनीतिक किचलो समेत चरम उत्कर्षमा पुगेको छ। सत्तारुढ गठबन्धनले संसदमा बहुमत गुमाएको छ। प्रधानमन्त्री महिन्दा राजापाक्षेको मन्त्रिपरिषद्का २६ मन्त्रीले हिंसक प्रदर्शनका बीच राजीनामा दिएपछि सोमबार ‘एकता सरकार’ गठन गर्न आह्वान गरेका राष्ट्रपति गोटाबाया राजापाक्षेले गरेको प्रस्तावलाई विपक्षीले अस्वीकार गरे। राष्ट्रपतिले सोमबार राजीनामा दिन अस्वीकार गरे पनि संसदमा ११३ सिट ल्याउने दललाई सरकार सुम्पन तयार रहेको बताएका छन्। इन्धन, अत्यावश्यक वस्तु र बिजुलीको चरम अभावका बीच जनता सडकमा उत्रिएर सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन्।
श्रीलङ्काको विदेशी सञ्चितिको ७० प्रतिशत घटेको छ र जम्मा २.३१ अर्ब डलर मात्र बाँकी छ। चिनी, दाल र खाध्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको आयातमा उच्च परनिर्भरताले आर्थिक मन्दीमा इन्धन थपेको छ। श्रीलङ्काले यस वर्ष १० अर्ब डलरको व्यापार घाटा सामना गर्न सक्ने सिएनबिसिले लेखेको छ। कृषिलाई शतप्रतिशत अर्ग्यानिक बनाउन गत वर्ष सबै रासायनिक मलमा प्रतिबन्ध लगाउने राजापाक्षे सरकारले गरेको निर्णयले देशको कृषि उत्पादन, विशेष गरी धान र चिनी उत्पादनमा नराम्ररी असर परेको छ। उसले मुलुकलाई अर्ग्यानिक बनाउन उक्त निर्णय गरेको भनिए पनि खासमा विदेशी मुद्रा बाहिर जानबाट रोक्न उक्त कदम चालिएको थियो। जुन गलत साबित भएको छ।
विदेशी मुद्रा सञ्चिति गर्न भन्दै लगाइएका प्रतिबन्धले लगानीकर्तालाई शेयर बजारतर्फ डोर्याउन सहयोग गर्यो। मुलुकले आर्थिक सङ्कट झेलिरहेको अवस्थामा त्यहाँको शेयर बजारले भने अचम्मको प्रतिक्रिया दियो। यहाँसम्म की त्यहाँको शेयर बजारले गत जनवरी (पुस १९ गते) मा मात्रै अहिले सम्मकै उच्चतम रेकर्ड कायम गर्यो। सो दिन बजारले १३ हजार १०९.८ अंकको रेकर्ड कायम गरेको थियो। बजारले सन् २०११ मा बनेको रेकर्डलाई गत पुसमा ब्रेक गरेको हो। यस अघि २०११ मा सूचकले ७८३५.५ को रेकर्ड बनाएको थियो। त्यसपछि १० वर्ष त्यही सेरोफेरोमा घुमिरहेको सूचकले आर्थिक मन्दी तर्फ उन्मुख भएपछि नयाँ पुन: नयाँ रेकर्ड कायम गरेको हो।
मुलुक आर्थिक सङ्कट उन्मुख हुँदै गर्दा सूचकले भने नयाँ नयाँ रेकर्ड बनाउँदै गयो। सरकाले आयातमा प्रतिवन्ध लगाउँदै गर्दा लगानीकर्ता भने शेयर बजारमा केन्द्रित हुँदै गएपछि सूचक नयाँ रेकर्ड उन्मुख भएको थियो। सन् २०२० मे ११ देखि बढ्न सुरु गरेको बजारले १७ महिना २२ दिनसम्म बढ्दो क्रमलाई निरन्तरता दियो। ३६२७ अंकको न्यूनतम बिन्दुबाट बढ्न सुरु गरेको बजारले ९४८२ अंकको वृद्धि पछि मात्रै विश्राम लियो। करिब १८ महिना लगातार बढेको बजार यति बेला भने घट्दो क्रममा छ। गएको दुई महिनामै बजारले ४७११ अंक गुमाएको छ। अहिले श्रीलङ्का स्थित कोलम्बो स्टक एक्सचेन्जको कारोबार मापक सूचक एएसपिआइ ८५८० अंकमा छ।
राजनीतिक किचलोले प्राथमिकता नपाउन्जेलसम्म बजारले सकारात्मक प्रतिक्रिया दिँदै आएकोमा सरकारको विषयलाई लिएर किचलो सुरु भएपछि भने बजार घट्दो क्रममा देखिएको हो। यद्यपि सूचक पहिलेको रेकर्ड भन्दा माथिल्लो स्तर मै छ। शेयर बजारका पुराना लगानीकर्ता भने अझै नाफामै छन्। आर्थिक मन्दीले सबै क्षेत्र सङ्कट उन्मुख हुँदै गर्दा शेयर बजारका लगानीकर्ता भने अहिले पनि मुनाफामा देखिएका छन्।
महामारी वा आर्थिक सङ्कटले विश्वलाई नै चपेटामा पार्दै लैजाँदा शेयर बजारले भने भिन्नै प्रतिक्रिया दिने गरेको छ। कोभिडको माहामारीकाबीचमा पनि विश्वका धेरै शेयर बजारले नयाँ रेकर्ड कायम गरेका थिए। अहिले श्रीलङ्कामा सबै क्षेत्रका लगानीकर्ताको घाटा बढ्दै जाँदा शेयर बजारका लगानीकर्ता भने नाफामा छन्।
चरम अभाव र आर्थिक अवस्था कमजोर हुँदा शेयर बजारले सकारात्मक प्रतिक्रिया दिनुलाई रहस्यपूर्ण मान्न सकिन्छ। यद्यपि आर्थिक सङ्कटकाबीच दिने शेयर बजारको सकारात्मक प्रतिक्रियाले आर्थिक गतिविधिलाई बढावा दिन अहम् भूमिका खेलिरहेको रुपमा लिन सकिन्छ।
तर आर्थिक सङ्कटकाबीच शेयर बजारले दिने सकारात्मक प्रतिक्रियाको टिकाउ भने निक्कै कमजोर सावित हुने गरेको छ। अन्य आर्थिक गतिविधि चलायमान हुने बित्तिकै बजार पुरानै लयमा फर्किने गरेको देखिन्छ। क्षणिक लाभका लागि आउने टुरिस्ट लगानीकर्ता आ आफ्नै क्षेत्रमा फर्किएपछि शेयर बजार पुरानै लयमा फर्किने गर्छ। जुन नेपालको अहिलेको आर्थिक सङ्कटको विषयले पनि बजारलाई माथि लैजान सक्ने सम्भावना छ। आयातमा लागेको प्रतिबन्धकाबीच लगानीकर्ता शेयर बजारमा आउन सक्छन्। तर उनीहरूको प्रवेशले बजार बढेमा भने लगानीकर्ताले अहिलेदेखि नै चनाखो हुनु पर्ने देखिन्छ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…