मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न!

२०७८, २७ माघ बिहीबार ०९:५८

काठमाडौँ: महँगो मूल्यमा भारतीय नुन खाँदै आएका मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न मान्छन् । बारागुङ मुक्तिक्षेत्र–३ तेताङस्थित कालीगण्डकी नदीदेखि करिब एक किलोमिटरभित्र रहेको नरसिङखोला छेउ नुनखानी छ । पोका नुन नआउने बेलासम्म मुस्ताङीहरू कि त तिब्बतको नुन कि यही खानीको नुन प्रयोग गर्दै आएको विगत सम्झन्छन् ।

स्थानीय वर्षामा पोखरीमा पानी जम्मा गर्ने र हिउँदमा पानी जमेपछि त्यही नुनिलो ढिक्का प्रयोग गर्थे । स्थानीय न्हाँ गुरुङका अनुसार २०६२ सालसम्म यहाँको पोखरीबाट वार्षिक ६० मुरी नुन निस्कन्थ्यो । साविकको छुक्साङ गाविसका तेताङ, छुक्साङ, चैले, ताम्बेलगायत गाउँका बासिन्दाले यहींको नुन सस्तो मूल्यमा पाउँथे ।
मुस्ताङको नुन खानीबाट चन्द्रशमशेरको पालामा समेत नुन झिकिएको इतिहास छ । सय वर्षअघि त्यहाँका खानीबाट नुन निकालिएको प्रसंग पर्सिभल ल्यान्डनले लेखेको पुस्तक नेपालमा पनि धेरथोर चर्चा गरिएको देखिन्छ ।

खानी तथा भूगर्भ विभागले यो नुनखानी उत्खननको प्रक्रिया थाल्न गत साउनमा बोलपत्र आह्वान नै गरेको थियो । तर त्यसपछि उत्खननको काम भने अघि बढेको छैन । भीर पहराबाट निक्लने नुनिलो पानीको मूल थोरङ्ला पासबाट झर्ने नरसिङ खोलामा मिसिने गर्छ । स्थानीयवासी भने महँगो नुन किनेर खान बाध्य छन् ।

खानी विभागको अध्ययनअनुसार नरसिङखोलाको पहाडमा गरिएको रासायनिक परीक्षणमा ७०.२८–९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको भेटिएको थियो । अध्ययनले नरसिङखोला क्षेत्रको २ किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको देखिएको मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । ‘मुस्ताङको नुन उत्खनन गरी हिमालय साल्टको ब्रान्डिङ गरी बिक्री गर्न सकिन्छ,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु