काठमाडौँ– निर्वाचनको मतगणना सकिएसँगै नयाँ सरकार गठनको दौडधूप तीव्र भएको छ। खासगरी प्रमुख राजनीतिक दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाब–किताबमा जुटेका छन्।

कुल २७५ जना सांसदमा प्रत्यक्षबाट १६५ जना निर्वाचित भइसकेका छन् भने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जनाको नाम राजनीतिक दलहरुले भोलि (शनिबार) सम्ममा बुझाइ सक्नेछन्। योसँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुन–कुन दल मिलेर सरकार बन्छ भन्ने आम चासो पनि बढ्दै गएको छ।

यस पटकको संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ भने पाँच जना स्वतन्त्र सांसदहरुले पनि चुनाव जितेका छन्। यसरी हेर्दा नयाँ सरकार बनाउनका लागि धेरै चुनौती देखिएको छ।

यस्तो हुनसक्छ नयाँ सरकार गठनको अंकगणित

संसदमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ। ५ जना स्वतन्त्र सांसदहरुले जितेका छन्।

समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ। कांग्रेसका कुल सांसद ८९ हुनेछन्।

त्यस्तै, नेकपा (एमाले)को प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ। नेकपा (माओवादी केन्द्र) को १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट हात पारेको छ। उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ। यी सात पार्टीले थ्रेस होल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन्। अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन्।

समानुपातिकबाट सिट नपाए पनि नेकपा (एकीकृत समाजवादी)को १० सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिट र स्वतन्त्र सांसदहरु ५ सिटको संख्यामा रहेका छन्।

संसदको अंक गणित हेर्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ। कांग्रेसको कुल सिट संख्या ८९ छ। स्वभाविक रुपमा संसदको पहिलो ठूलो दलले सरकारको दाबी गर्नेछ। र, आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ। त्यसो त विगतमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् र निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

सोमबार मात्र गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेको अवस्थामा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपी यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन।

नेपाली कांग्रेसको नेतृत्वमा पहिलो विकल्प

नेपाली कांग्रेसको ८९ सिट, नेकपा (माओवादी केन्द्र) को ३२, नेकपा (एकीकृत समाजवादी) को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा १३६ सिट पुग्छ। सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो। यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ। यसमा स्वतन्त्रबाट निर्वाचित दुई सांसदलाई समावेश गराउन सकियो भने बहुमत पुग्छ र सरकार बनाउन सकिन्छ।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा १६५ सिट संख्या पुग्छ। यसो हुँदा बहुमतको सरकार बन्नसक्छ।

अर्को, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलाउँदा १५२ सिट पुग्छ। सरकारको गठनको यो अर्को सम्भावना हो।

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट पुग्छ। यसो हुँदा नेकपा (माओवादी केन्द्र) लाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ।

अर्कोतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको १४३ सिट पुग्छ। यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाको रुपमा लिन सकिन्छ। माथि उल्लेख गरिएका गठबन्धनहरुमा स्वतन्त्र सांसदहरुको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ।

नेकपा (एमाले) को नेतृत्वमा दोस्रो विकल्प

दोस्रो दल बनेको नेकपा (एमाले) ले पनि सरकार गठनको लागि अंक गणित जुटाउन कस्सिएको छ। कतिपय नेताहरुले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी गर्दा १३४ सिट पुग्छ। सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरुको सहयोग लिनुपर्ने हुन्छ।

त्यस्तै, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १४६ संख्या पुग्छ। जुन संख्याले सहजै सरकार गठन गर्न सकिन्छ।

अर्को, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ जहाँ फेरि ५ सिट स्वतन्त्र सांसदहरुको सहयोग अनिवार्य हुन्छ।

त्यस्तै, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ र सरकार गठन गर्न सकिन्छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारको विकल्प

अर्को अत्यन्तै सहज विकल्पको रुपमा नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बनाउँदा १६७ सिट पुग्छ। सहजै सरकार बनाउन सकिन्छ।

यद्यपि, संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा उपाध्यक्षजस्ता पदहरुमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरु हुनेछ।

उता सातै प्रदेश सरकार गठन गर्न सहज हुने गरी पनि संघीय गठबन्धन गर्न दलहरु अग्रसर हुन्छन्। यसले गर्दा आगामी दिनमा कुन–कुन पार्टी मिलेर संयुक्त सरकार बनाउनेछन् भन्ने प्रतिक्षाको विषय बनेको छ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago