बर्तुङ्गमा सुपथ पसल खुल्यो, बजारको अस्वस्थ प्रतिस्पर्धा न्यूनिकरण हुने

२०७९, २६ बैशाख सोमबार ०८:२८

बसन्ती ढकाल, पाल्पा, २६ बैशाख ।
असमान मुल्यका कारण महंगीको मारमा परेका तानसेनबासीलाई अब केही राहत मिल्ने भएको छ । तानसेनको बर्तुङमा ‘बर्तुङ्ग सुपथ पसल’ खुलेको छ । बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले पसल सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पसलको उद्घाटन गर्नुभएको हो ।

तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सहकारीले सन्चालन गरेको हो । सुपथ पसल खुलेपछि यहाँका उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन नगर प्रमुख शाहिले आग्रह गर्नुभयो। बजारको मूल्यमा एकरुपतामा ल्याउन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न उहाँले सुझाव दिनुभयो ।

सुपथ पसलबाट सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउने, कृषकले उत्पादन गरेका खाद्यान्न सहकारीले खरिद गरेर बिक्रीवितरण गर्ने र यसलाई सुपरमार्केटको रुपमा बिस्तार गर्ने सहकारीका अध्यक्ष बिधान प्रसाद श्रेष्ठले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुनेछ ।

तानसेन नगरपालिकाको ९ लाखसहित करिब ३० लाखको लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । उपभोक्ताको मागअनुसारका सामग्री घरमै पुर्‍याउने व्यस्था समेत रहेको उहाँले बताउनुभयो ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले ९ लाख सहयोग गर्ने छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
<span;>तानसेन नगरपालिका वडानम्बर ७ का अध्यक्ष मुक्तिराम जिसि, स्थानीय सहकारी संजालका अध्यक्ष महेश्वर पन्त, बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार भबिन्द्र गौतमले सहकारीले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने र सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष बिधान प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिमला ढुंगानाले स्वागत र सचिव जागेश्वोर न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको हो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

यसअघि तानसेनको मेहल्धारामा आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको ‘आगन सुपथ पसल’ सन्चालन भैसकेको छ भने तानसेनको बसपार्कमा नगरपालिका स्तरीय सहकारी संजालले सुपथ पसल संचालनको तयारी गरेको छ ।

Comments

ताजा खबर