काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सम्मुखमा ६७ बुँदे अपिल सार्वजनिक गर्दै आफ्ना विरोधी राजनीतिक दल र शक्तिहरूमाथि आक्रोश पोखेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणा सार्वजनिक गर्दै सत्ता गठबन्धन, गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेस, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत आफ्ना विपक्षीमाथि आक्रोश पोख्दै एमाले आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ आम मतदातासमक्ष प्रस्तुत भएको बताएका हुन् ।

त्यसक्रममा ओलीले एमालेमा मात्रै देश विकास गर्ने राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास भएको भन्दै राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्न सक्ने सामर्थ्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले रहेको दाबी गरेका छन् ।

‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्विलो राष्ट्र बनाउन चाहन्छौँ, त्यो एमाले बिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन, हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो’, ओलीले भनेका छन् । उनले राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा (एमाले) कुनै हालतमा नस्विकार्ने भन्दै विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबुत राख्ने क्षमता एमालेमा रहेको उल्लेख गरे । अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवश भएको स्वयम् दलहरूले सार्वजनिक गरिरहेको दाबी गरेका ओलीले स्थापनाकालदेखि आजसम्म एमाले निरन्तर स्पष्टताका साथ यिनै आदर्शमा अडिग छ र अटल रहेको बताए । पत्रकार सम्मेलनमा ओलीले नेपाली काँग्रेसमाथि १० बुँदामा प्रहार गरेका छन् । उनले काँग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको निष्कर्ष समेत निकालेका छन् ।

‘यसैबीच नेपाली काँग्रेसको षड्यन्त्रले चरम उत्कर्ष लियो । काँग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्त्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीति र देश हितका सन्दर्भमा उल्टो बाटो समात्यो’, ओलीले काँग्रेसप्रति प्रहार गर्दै भनेका छन्, ‘काँग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो । संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।’

ओलीले संविधानको रक्षा गर्न, जनअधिकारको संरक्षण गर्न र देशलाई थप षडयन्त्रको चक्रव्यूहबाट जोगाउन संसद् विघटन गर्नुपरेको तर अदालतले त्यसलाई उल्ट्याइदिएको प्रस्टीकरण दिएका छन् । ‘सार्वभौम नेपाली जनताको आफ्नो सरकार जनादेशबाट निर्माण गर्ने आधारभूत संवैधानिक अधिकारमाथि कुठाराघात भयो । विकास निर्माण, सुशासन, सामाजिक परिवर्तन र रूपान्तरणको युगान्तकारी विकास अभियान फेरि एकपटक अवरुद्ध हुन पुग्यो’, अध्यक्ष ओलीले भनेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बहुदलीय शासन व्यवस्थापछिको करिब ३२ वर्षको अवधिमा नेकपा (एमाले)ले करिब ७ वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ३ वर्ष संयुक्त सरकारमा सहभागी भई जम्मा करिब १० वर्ष सरकारमा रहेको जनाएका छन् ।

तर त्यस अवधिमा काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब ७ वर्ष संयुक्त सरकारमा सहभागी भई करिब २७ वर्ष सरकारमा रहेको इतिहास पनि ओलीले खुलाएका छन् ।

ओलीले २७ वर्ष काँग्रेस सरकारमा रहँदा आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने, बिना कारण अन्य दलका सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने, सांसदलाई विदेश लगेर बन्धक बनाउने, मुद्दा मामिला गर्न पटक–पटक अदालत जाने, महाभियोगको डर, त्रास देखाई अदालतको स्वतन्त्रता हनन गर्ने, संसद् भङ्ग गरी राजालाई सत्ता सुम्पिनेलगायतका काम गरेको आरोप लगाएका छन् ।

यस्ता छन् काँग्रेसमाथि ओलीका १० आरोप

१.देश–जनता–राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्ग प्रशस्त गर्ने ।

२. काँग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो ।

३. संसद्लाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो । स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।

४.निजामती सेवा नै खलबलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने, प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लङ्घन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्ने ।

५.सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने ।

काँग्रेस शासनकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न सुरु भए, न त सम्पन्न नै भए । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासीनता देखाइयो ।

६. काँग्रेस देशलाई गरिबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ ।

७.राणा, राजा र काँग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन् । सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन ।

८. काँग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ । काँग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन । अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ । ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ ।

९. नेपाली काँग्रेस फेरि एकपटक नेपाल र नेपालीको विकास, स्थिरता र स्थायित्वका लागि अवरोध बनेर उपस्थित भएको छ, यसलाई पन्छाउन जरूरी भएको छ ।

१०. सरकारलाई तिर्नु÷बुझाउनुपर्ने यकिन भइसकेको राजश्व मिलेमतोमा छूट माफी गरी देश र जनताको सम्पत्ति÷राजश्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago