कपिलवस्तु: बारम्बार तरकारी चोरी हुने गरेपछि तनाव र चिन्तामा परेका शिवराज नगरपालिका–२ चन्दनपुरका कलादेव थारूले खेतमा सीसीटीभी जोडेपछि समस्याबाट छुटकारा पाएका छन् । चोरले ज्यादै सताएपछि उनी तरकारी खेती गर्ने कि नगर्ने भन्ने दोधारमा थिए । तरकारीको सुरक्षा गर्न रातभरि खेतमा खाट राखेर जाग्राम बसे । तर सधैं यसरी सुरक्षा गर्न सम्भव थिएन । कृषि प्राविधिकसँगको सल्लाहपछि उनी सीसीटीभी क्यामरा जडान गर्ने निष्कर्षमा पुगेका हुन् ।
आफूले फलाएको गोलभेंडालगायत तरकारी बेचेर ४० हजार रुपैयाँ जम्मा गरे । र, त्यसले खेतमा दुईवटा सीसीटीभी क्यामरा जडान गरे । अहिले उनको खेतबाट चोरी हुने समस्या टरेको छ । ‘तनाव पनि कम भयो,’ उनले भने, ‘आरामले सुत्न पाएको छु ।’ घरदेखि दक्षिणमा रहेको खेतमा एउटा खाँबो झुन्ड्याएर र अर्को टनेल खेतीको धुरीमा सीसीटीभी क्यामरा राखेका छन् । त्यसको कनेक्सन टेलिभिजन सेटमा जोडेका छन् । घरभित्रै रहेको टेलिभिजन सेटबाट उनले खेतको रेखदेख गर्छन् । तत्कालका लागि कम्प्युटर किन्न नसकेपछि टेलिभिजन सेट प्रयोग गरिएको उनले बताए ।
सामान्य लेखपढ गर्न जान्ने उनी आठ महिनादेखि सीसीटीभी क्यामरा जोडेर कृषि कर्ममा रमाएका छन् । उनले १४ कट्ठा जमिनमा साढे ३ वर्षदेखि तरकारी खेती गरिरहेका छन् । ‘मौसमअनुसारको तरकारी खेती गर्छु नै,’ उनले भने, ‘बेमौसमी तरकारी खेतीलाई पनि पछ्याइरहेको छु । किनभने त्यसमा चार गुनासम्म फाइदा हुन्छ ।’ टनेलमा तरकारी खेती गर्दा रोगकिराको समस्या कम हुने उनको भनाइ छ ।
टनेल बनाउन गत असारमा नगरपालिकाले साढे ३ लाख रुपैयाँ अनुदान दिएको थारूले बताए । ‘त्यसमा डेढ लाख थपेर १८ मिटर चौडा र १२ मिटर लामो प्लास्टिकको आधुनिक टनेल बनाएको छु,’ उनले भने, ‘टनेलभित्रै थोपा सिँचाइ प्रविधि पनि जडान गरेको छु ।’ टनेलभित्र काँक्रो, बोडी र भेडे खुर्सानी लगाएका छन् । अहिले दैनिक १२/१५ किलो काँक्रो उत्पादन भइरहेको उनले बताए । ‘काँक्रो बेचेर मात्रै अहिले सातामा एक हजार आम्दानी गरिरहेको छु,’ उनले भने, ‘अझै १५/२० दिन यसरी नै बेच्न पाए त राम्रै हुन्थ्यो ।’
अहिले उनको खेतमा गोलभेंडा, भान्टा, करेला, भिन्डी र खुर्सानी लटरम्म फलेका छन् । यस वर्ष उनले एउटै बोटमा ९ किलोसम्म गोलभेंडा फलाएको बताए । ‘प्रतिकिलो ७० रुपैयाँका दरले ५० क्विन्टल गोलभेंडा नै बेचें,’ उनले भने, ‘तीन महिनाअघि ५ क्विन्टल काँक्रो बेचें ।’ बन्दा, फूलगोभी, सिमी र करेला बेचेर पनि राम्रै आम्दानी गरिरहेको उनले सुनाए । दुई बुहारी र आफू बूढाबूढी १२ घण्टा तरकारीको स्याहारसुसारमै व्यस्त रहने उनले सुनाए । ‘चार वर्षअघिसम्म घरायसी प्रयोजनका लागि तरकारी लगाउँथ्यौं,’ बुहारी इन्दु थारूले भनिन्, ‘अहिले यसैलाई पेसा बनाएका छौं ।’ बजारको समस्या छैन । व्यापारी घरसम्मै आएर लैजान्छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…