गोरखा: पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पक्की पुलसँगै बेलिब्रिज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी पनि बीचमै काम छाडेर सम्पर्कविहीन बनेको छ । गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वीराजमार्ग अन्तर्गत चितवनको चुमखोला जोड्ने बेलिब्रिजको काम चिनियाँ कम्पनी हुवेई सुङजोङले करिब दुई महिनादेखि अलपत्र पारेको हो । पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पक्की पुलदेखि करिब ५० मिटर तल बेलिब्रिज निर्माण सुरु भएको थियो ।

करिब ११ करोड रुपैयाँ लागतमा बेलिब्रिज बनाउन कम्पनीले करिब दुई महिना माटो परीक्षण, डिजाइन, ड्रिलिङलगायत प्रारम्भिक चरणको काम सुरु गरेको थियो । करिब चार महिनामा बेलिब्रिज बनाइसक्ने बताएको हुवेई दुई महिनायता सम्पर्कविहीन छ । एक सय मिटर लामो पुल निर्माणका लागि ब्लु इनर्जी प्रालिले चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो । ब्लु इनर्जीले त्रिशूली नदीमा सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्दै छ । बेलिब्रिजको स्टिल संरचना भने सडक विभागले उपलब्ध गराउने सम्झौता छ । बुटारस्थित त्रिशूली नदीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर बन्दै छ ।
प्रारम्भिक चरणको काम सुरु गरेको हुवेईले बीचमै छाडेर निर्माणस्थलमा रहेको मेसिनरीलगायत सामग्रीसमेत लगेको बुटारका सन्तोष घिमिरेले बताए । पप्पु कन्स्ट्रक्सनको लापरबाहीले बुटार र पृथ्वीराजमार्ग जोड्न २०७१ असारबाट सुरु भएको पक्की पुल पनि ७ वर्षदेखि अलपत्र छ । पक्की पुल नबनेपछि जलविद्युत् आयोजनाका निर्माण सामग्रीसँगै स्थानीयलाई आवागमनमा सहज होस् भनेर त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण सुरु भएको थियो ।

चिनियाँ कम्पनीले काम छाडेपछि निर्माणको जिम्मा नेपाली कम्पनीलाई दिने तयारी थालिएको सुपर त्रिशूली हाइड्रोपावरका निर्देशक नीरञ्जन रेग्मीले जानकारी दिए । ‘ग्लोबल टेन्डरमार्फत कम्पनी छानेका थियौं, पुलको कन्ट्याक्ट पनि भएको छ,’ उनले भने, ‘बैंक ग्यारेन्टी माग गरेका थियौं, बैंक ग्यारेन्टी पेस गर्ने दिन सबै सामान उठाएर लगेछन्, त्यसपछि सम्पर्कमा आएनन् ।’ अहिले पुलको ‘स्ट्रक्चर’ को काम अघि नबढेको उनले बताए ।
डिजाइन, ड्रिलिङको काम भइसक्यो, बर्खाअगावै पिलर गाड्ने काम सकिहाल्न पाए अरू काम बर्खामा पनि गर्न सकिन्थ्यो,’ रेग्मीले भने, ‘अहिले फिल्डका सबै काम रोकिएका छन् ।’ त्रिशूली नदीमाथि एक सय मिटरको बेलिब्रिजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाइको आरसीसी स्ट्रक्चरको पुल बन्न लागेको हो ।

पुल निर्माणको जिम्मा दिने र लिने दुवै कम्पनीबीच छलफलको तयारी भइरहेको हुवेई सुङजोङका इन्जिनियर रजत सिं बताउँछन् । ‘विदेशी कन्ट्याक्टरलाई चाँडो गरौं भन्ने नै हुन्छ, सायद कन्ट्याक्ट रिलेटेड साना कुराले काम रोकिएको होला,’ उनले भने, ‘दुवै पक्षबीच छलफलपछि अरू बाँकी कुरा अघि बढ्ला ।’

पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको १७ करोड ४६ लाखको पुल नबन्दा अतिरिक्त झन्डै ११ करोड खर्चिएर सोही स्थानमा बेलिब्रिज बन्न लागेको हो । समयमै पक्की पुल निर्माण भएको भए हाइड्रोपावरलाई पुलको आवश्यकता थिएन । पप्पु कन्स्ट्रक्सनले निर्माण सामग्री र ‘इक्विपमेन्ट’ बुटारसम्म पुर्‍याउन समस्या परेको बहाना बनाउँदै सम्झौता अवधि गुजार्दै आएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago