तराईका जिल्लामा कति हदसम्मको चोरी पैठारी

विराटनगरः पूर्वी तराईका जिल्लामा कति हदसम्मको चोरी पैठारी हुँदो रहेछ भन्ने तथ्य भन्सार कार्यालय विराटनगरले दिएको खाद्यान्न आयातको तथ्यांकले पुष्टि गरेको छ।

कार्यालयले उपलब्ध गराएको तथ्यांकमा कोभिडमा लकडाउन र नाका सील भएका बेला ठूलो परिमाणमा वैध आयात वृद्धि भएको र अवैध आयात रोकिएको देखिएको हो। विशेषतः गहुँ, मकै, धान र चामलको पैठारी कोभिडको समयमा वृद्धि भएको छ। कार्यालयको तथ्यांकमा कोभिडको पहिलो लहरमा गहुँ आयात अचाक्ली वृद्धि भएको देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ को प्रथम अर्ध-वार्षिक अवधिमा विराटनगर नाकाबाट ९ हजार ५४३ टन गहुँ आयात गरिएको थियो। तर यही गहुँको पैठारी गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाका अवधिमा अर्थात् कोभिड कालमा ३६ हजार ८ सय ५३ टन गरियो।
तर बोर्डरको सिलबन्दी र लकडाउन खुलेसँगै तस्करी पनि पहिलेझैं मौलायो र गहुँको आयात पुनः खुम्चियो। जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यसको पैठारी ९ हजार ५०१ टन मात्र गरिएको अभिलेख कार्यालयले दिएको छ।

खाद्यान्न व्यवसायी जीवन रिजालले गहुँ आयातको तथ्यांकमा आश्चर्य मान्नु नपर्ने बताए। ‘बरु आश्चर्य त कुन कुरामा देखिएको छ भने चोरीपैठारीको डिग्री कति माथिसम्म रहेछ भन्ने तथ्य यसबाट छर्लङ्ग भएको छ।’ उनी भन्छन्, ‘नेपालका तराईका सबै छोटी नाकाबाट खाद्यवस्तु र खाद्यान्नको खुलेआम तस्करी छ। यो रोकिनेबित्तिकै आधिकारिक आयात साइज वृद्धि हुन्छ। गत आर्थिक वर्षको तथ्यांकमा पनि यही भएको हो।’

त्यस्तै मकैको आयात पनि वृद्धि भएको छ। विराटनगर नाकाबाट आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा २९ हजार ५ सय ११ टन मकै आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ह्वात्तै वृद्धि भएर १ लाख १७ हजार ६१८ टन आयात भएको छ। चालु आवको पहिलो ६ महिनामा भने गत आवको भन्दा ५ हजार टनले कम १ लाख १२ हजार २ सय ६२ टन मकै आयात भएको छ।

महासंघका केन्द्रीय सदस्य एवम् खाद्यान्न व्यवसायी अविनाश बोहराका अनुसार भारतमा आर्थिक वर्ष २०७६ सालमा मकैको उत्पादन राम्रो हुन सकेन। त्यस वर्ष आएको मकै पनि धेरैजसो चोरी नाकाबाटै आयात भयो। तर २०७७ मा भारतको उत्तरी विहार क्षेत्रमा मकैखेती पनि फस्टायो भने कोभिडका कारण बोर्डर सील भएर चोरी आयात बन्द भयो।

यसरी २०७७ मा आधिकारिक आयात बढी भएको देखिएको हो। अर्का खाद्यान्न व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य श्रवण अग्रवालले २०७७ देखि पूर्व क्षेत्रमा पशुपन्छीका दाना उद्योग आक्रामक रूपमा सञ्चालन हुन थालेको बताए। त्यस्तै गहुँको चोकरभन्दा मकै सस्तो पर्न थालेकाले गाईभैंसी पाल्ने कृषक पनि चौपायालाई दाना खुवाउन मकैमा नै आकर्षित भएका छन्।

व्यवसायी अग्रवालले भने, ‘पहिले पहिले मकै बंगलादेशबाट ल्याउनुपर्थ्यो तर २ वर्षयता भारतको विहारबाटै आउन थालेको छ। विहारको गुलाबबाग शहर भारतमा मकैको तेस्रो ठूलो मन्डी हो। पहिलो ठूलो मन्डी मध्यप्रदेश र दोस्रो कर्नाटका हो। तर एमपी र कर्नाटका दुवै राज्य नेपालका सबै नाकाबाट टाढा पर्छन् भने गुलाबबाग शहर विराटनगर नाकाबाट ८८ किलोमिटर मात्र दक्षिणमा छ। त्यसैले गुलाबबागबाट विराटनगर नाका हुँदै मकैको आयात गर्न ढुवानी खर्चका कारण सस्तो पर्छ। नेपालमा आयात गरिने मकैको अत्यधिक मात्रा विराटनगर नाकाबाट भित्रनुको कारण यही हो।’

उनले अघिल्लो आर्थिक वर्षमा अत्यधिक आयात गरिएको मकैको केही मौज्दात बाँकी नै रहेकाले चालु आर्थिक वर्षको पहिलो अर्ध-वार्षिक अवधिमा यसको पैठारी केही घटेको बताए। अग्रवालले तर चालु आवको दोस्रो अर्ध-वार्षिक अवधिमा मकैको आयात गत आवको भन्दा बढी हुने जिकिर गरे।

उनले पशुपन्छीका दाना उद्योगबाट विगतका वर्षमा भन्दा बढी मकैको माग आइरहेको स्पष्ट पारे। विराटनगर नाकाबाट धानको आयात प्रत्येक आर्थिक वर्षमा क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। लकडाउनपछि मोरङ-सुनसरीमा मात्र सानाठूला गरी १० वटा राइस मिल खुलेको व्यवसायी राजु राठीको भनाइ छ।

राठीका अनुसार वृद्धि भएका उद्योगले समेत धमाधम धानको मौज्दात राख्न थालेका छन्। पुसयता विराटनगर नाकाबाट ठूलो परिमाणमा धान भित्रन थालेको छ। यसले आयात बढेको हो। भन्सार कार्यालयका अनुसार २०७६ को साउनदेखि पुस मसान्तसम्म विराटनगर नाका हुँदै ३८ हजार ४ सय ५२ टन धान भित्रिएकोमा २०७७ को सोही अवधिमा ४० हजार २ सय ११ टन आयात गरिएको छ। त्यस्तै २०७८ को सोही अवधिमा ४८ हजार ८ सय ७६ टन धान विराटनगर नाकाबाट पैठारी भएको देखिन्छ।

लकडाउन र नाकासिलको असर चामल आयातमा छर्लङ्ग देखिएको छ। विराटनगर नाकाबाट आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा चामलको आयात दुई गुनाभन्दा बढी छ। त्यस्तै अघिल्लो आवको पहिलो आर्थिक वर्षमा भन्दा चालु आवको सोही अवधिमा चामल आयात घटेको देखिन्छ।

व्यवसायी जितु बोथडा भन्छन्, ‘लकडाउन र नाका सिल गरिएका बेला जोगबनीनेर नेपालको रानी बजारका उपभोक्ता चामल खरिद गर्न ७ किलोमिटर उत्तरको विराटनगरको बजारमा आइपुग्थे। तर अहिले विराटनगरमात्र होइन दुहबी, इटहरी र धरानदेखिका उपभोक्ता चामल खरिद गर्न जोगबनी पुग्छन्। छोटी नाकाबाट हरेक दिन र रात ट्रयाक्टरका ट्रयाक्टर तस्करी गरिने चामलको त भिन्नै पाटो छ।’

विराटनगर भन्सारका अनुसार आव २०७६/७७ मा त्यस नाकाबाट १६ हजार ८ सय ३३ टन चामल भित्रिएकोमा आर्थिक वर्ष २०७७/७८ मा ह्वात्तै वृद्धि भई ३८ हजार ८ सय ६४ टन आयात गरिएको छ। तर चालु आर्थिक वर्षको सोही अवधिमा गत आवको सोही अवधिका तुलनामा आयात घटेको छ। चालु आवको पुस मसान्तसम्ममा २२ हजार ४ सय ६१ टन चामलको आयात गरिएको छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago