नेपालको शक्ति बलिङबाट ब्याटिङमा रूपान्तरित

२०७८, २६ माघ बुधबार ०८:५०

काठमाडौँ: चारदेशीय ट्वान्टी–२० शृंखला र ट्वान्टी–विश्वकप छनोटको अन्तिम तयारी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जोडतोडले चलिरहेको थियो । यसपछि नेपालसामु प्रशिक्षणलाई एक दिने समय बाँकी थियो । सोमबार छिटपुट वर्षाको सम्भावना र अन्य कारणले नेपालको प्रशिक्षण नहुन सक्ने भएकाले खेलाडीहरू अन्तिम तयारी जसरी मिहिनेत गरेका थिए ।

म्याच सिनारियोका क्रममा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १३ ओभरभित्र १ सय २४ रनको साझेदारी गरेका थिए । कुशल ९१ रन बनाएर ‘डगआउट’ मा फर्किंदा उनमा निराशा भाव झल्कन्थ्यो । आफ्नो जिम्मवोरी पूरा गरेर फर्किए पनि कुशलमा ब्याटिङको ‘भोक’ अझै थियो । उनको प्रयासमा नेपालले बोर्डमा १ सय ८० रनको हाराहारी स्कोर बनाएको थियो ।

यो नेपालको ब्याटिङ शक्तिको एउटा झलक थियो । कुशल, आसिफ, शरद भेषावकरसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्लसहित नवप्रवेशी विवेक यादव र आकाश बमका कारण नेपाली ब्याटिङ बलियो बनेको छ । शरद र ज्ञानेन्द्रले यसमा अनुभवी खेलाडीको जिम्मेवारी निभाइरहेका छन् ।

वैशाखमा काठमाडौंमा सम्पन्न नेदरल्यान्ड्स र मलेसियासम्मिलित तीनदेशीय प्रतियोगितापछि नेपालको ब्याटिङ शक्ति मैदानमा देखिँदै आएको छ । पारस खड्का घाइते भएको अवस्थामा तत्कालीन प्रशिक्षक डेव ह्वाटमोरले कुशल र आसिफलाई ब्याटिङमा ओपनिङ जोडी बनाएका थिए । उनीहरूले खेलेको ‘फियरलेस’ क्रिकेटले वर्षौंदेखिको नेपालको ओपनिङ जोडीको समस्या हलमात्र गरेनन्, मध्यक्रम पनि दरिलो बनाइदिए । उनै कुशल र आसिफ त्यसयता नेपालको मुख्य आशा बन्दै आएका छन् ।

आइतबारको प्रशिक्षण नेपाली टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइएको थियो । कुशल र आसिफले मैदानको चारैतिर प्रहार गर्दा करण केसी र अविनाश बोहरा बलिङ आक्रामणमा थिएनन् । दुवैले बलिङ गरेका हुन्थे भने पनि नेपालको ब्याटिङ खुल्थ्यो । लोकेश बम कोभिड–१९ को संक्रमणका कारण दुई सातापछि मैदानमा फर्किएका थिए । कुशल र आसिफको ब्याटिङ लयमा आइतबार लोकेश बमको ब्याटले आक्रामक भएर साथ दिएको थियो ।

एउटा के सत्य हो भने नेपाल अहिले ब्याटिङमा भर पर्न लागेको छ । कुनै समय ‘खिया लागेको ब्याटिङ’ नेपालको मुख्य हतियार भएको छ । कुशल, आसिफ, लोकेशलगायतका ब्याटरको प्रभाव देखिरहँदा नेपाली बलरको कमजोरी उदांगिएको थियो । कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखियालगायतका बलर कुशल, आसिफ, लोकेशविरुद्ध कसरी बलिङ गर्ने सोच्न बाध्य भएका छन् ।

विश्वका अधिकांश फ्रेन्चाइज लिग खेल्दै आएर ‘ग्लोबल स्टार’ को छवि बनाएका सन्दीपमाथि दोहोरो जिम्मेवारी छ । उनी ओमान भ्रमणबाट नेपाली टोलीको नेतृत्व लिँदै छन् भने बलिङ नेतृत्वको जिम्मा पनि सन्दीपमाथि नै छ । सन्दीप, करण, अविनाश, जितेन्द्र, कमलसिंह ऐरी, शाहब आलम नेपाली टोलीका प्रमुख बलर हुन् । अलराउन्डरको हिसाबमा दीपेन्द्र, शरद, आरिफ र कुशल मल्लले बलिङमा सघाउने छन् ।

विगतको तुलनामा नेपालको बलिङ केही कमजोर देखिएको छ । त्यही भएर होला प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार ओमान गएको नेपाली टोलीमा सागर ढकाल थपेका छन् । देव्रेहाते स्पिनर सागरले असोजमा चितवन टाइगर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जिताउँदा सर्वाधिक १४ विकेट लिएका थिए । उनी प्लेयर अफ द सिरिज बनेका थिए । तर कोभिड–१९ संक्रमणका कारण उनले प्रधानमन्त्री कपमा ३ खेलमात्र खेल्न पाए । त्यसमा ६ विकेट लिएका थिए । त्यसमध्ये तीन विकेट फाइनलमा एपीएफ क्लबविरुद्ध थियो ।

नेपाली टोलीको संयोजनलाई लिएर प्रशिक्षक दासानायकेको चिन्ता पनि बलिङमै छ । ‘यही कारण नेपाली टोलीले पछिल्लो २–३ साता बलिङमै केन्द्रित भएर धेरै मिहिनेत गरेको छ, विस्तारै नेपालको बलिङमा सुधार भइरहेको छ र हामीले जे चाहेका थियौं, त्यो स्थितिमा बलरहरू आइसकेका छन्,’ दासानायकेले नेपालको बलिङलाई लिएर भनेका थिए ।

सायद दासानायकेले नेपाली ब्याटिङमै चिन्ता हुने बुझेका थिए। त्यही भएर उनी श्रीलंकाका पूर्वखेलाडी रुवान कल्पगेलाई ब्याटिङ कन्सल्टेन्टको रूपमा ल्याउन चाहन्थें । तर नेपालको ब्याटिङमा उनले नसोचेको सुधार पाए । श्रीलंकाका पूर्व तीव्र गतिका बलर धम्मिका प्रसादलाई बलिङ कन्सल्टेन्ट बनाएका छन् । २१ सदस्यीय नेपाली टोली मंगलबार ओमान लागेको छ । ईपीएलमा दासानायकेले प्रशिक्षण दिएको भैरहवा ग्लाडियटर्सबाट खेलेका प्रसाद पनि श्रीलंकाबाटै मस्कट पुग्नेछन् ।

सन् २०११ देखि २०१५ सम्म पनि नेपालको प्रशिक्षक रहेका दासानायकेले ६ वर्षपछि पुनः नेपाल फर्केर आउँदा देखेको परिवर्तन बलिङबाट ब्याटिङमा बढेको शक्तिलाई लिन्छन् । उनले भने, ‘नेपालले ब्याटिङ स्किलमा धेरै प्रगति गरेको छ । माथिल्लोक्रमको ब्याटिङमा फियरलेस ब्याटर छन् । यो नै ६ वर्षबीच मैले देखेको ठूलो भिन्नता हो ।’

देव्रेहाते स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी नेपाली क्रिकेटबाट अलग भएयता नेपालको बलिङ धार कमजोर बन्दै आएको छ । शक्तिले २०१८ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए भने २०१९ यता नेपालबाट कुनै खेल नखेलेका वसन्त अमेरिका लागिसकेका छन् । अझ नेपाली टोलीका नयाँ बल बलर सोमपाल कामी चोटका कारण यसपालि ओमान भ्रमणमा नरहेपछि बलिङमा नेपालको चिन्ता थपिएको हो ।

नेपालले एकपल्टमात्र विश्वकप छनोट पार गरेको छ । सन् २०१३ मा यूएईमा भएको छनोटबाट नेपाललाई विश्वकपमा पुर्‍याउँदा मुख्यगरी ब्याटिङमा पारस र शरदबाहेक बलर नै चम्किएका थिए । त्यसको अर्को वर्ष बंगलादेशमा नेपालले तीनमध्ये दुई खेल जित्दा बलरहरू शक्ति (हङकङविरुद्ध) र जितेन्द्र (अफगानिस्तानविरुद्ध) प्लेयर अफ द म्याचमा चुनिएका थिए ।

पहिलाको टिम र अहिलेको टोलीबीचको भिन्नता केलाउँदै शरदले आइतबार प्रशिक्षण दौरान भने, ‘हाम्रो पहिला जहिल्यै पनि बलिङ शक्ति भएको टोली हुन्थ्यो । अहिले ब्याटिङमा हामी अलिक बढी विश्वस्त छौं । ब्याटिङमा पहिलाभन्दा अहिले हामी एकरूपको प्रदर्शन दिन सकिरहेका छौं । बलिङ पनि हाम्रो राम्रो छ, डेथ बलरहरू छन्, स्पिनरहरू छन् । संयोजन जस्तो भए पनि खेलको दिनमा हामीले कस्तो खेल्छौं भन्ने हो । सबै टोलीले राम्रो तयारी गरेर आएका छन् । नतिजामा केन्द्रितभन्दा पनि प्रक्रियामा राम्रो गर्‍यौं भने मलाई लाग्छ नतिजा राम्रो नै आउँछ ।’

नेपालको शक्ति बलिङबाट ब्याटिङमा रूपान्तरित भएको पछिल्ला केही प्रतियोगितामा पनि देखिएको छ । विश्वव्यापी ट्वान्टी–२० को असरले हुनसक्छ नेपालको ब्याटिङ होस् वा बलिङ प्रभावित बनेको छ । नेपाली ब्याटर खुलेर खेल्न लागेका छन् भने नेपाली बलरलाई अन्य देशविरुद्ध खेल्दा रन अंकुश लगाउन कठिन हुँदै आएको छ । वैशाखको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपाली खेलाडीको ब्याट मजाले खुल्दा नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रन बनाएको थियो ।

त्यसभन्दा अघि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा केवल एकपल्टमात्र २ सयभन्दा माथिको स्कोर बनाएको थियो । त्यो पनि कमजोर मानिएको भुटानविरुद्ध २०१९ को दक्षिण एसियाली खेलकुदमा थियो । तर नेपालले २ सयमाथिको स्कोर रक्षा गर्न सकेन । नेदरल्यान्ड्सले ३ बलअगाडि नै २ सय ९ रन बनाइदियो । नेपाली बलर नराम्रोसँग चुटिए । सन्दीपले ४ ओभरमा ४८ र अविनाशले ४३ रन खर्चे । करणको ३.३ ओभरमा डच टोलीले ३८ रन जोडेको थियो ।

कुशलले ५ मध्ये चार खेलमा अर्धशतक बनाउँदै आसिफसँग पहिलो विकेटमा दरिलो साझेदारी गर्दै नेपालको ब्याटिङ शक्ति प्रदर्शन गरेका थिए । नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलाको अन्य दुई खेलमा मलेसियाविरुद्ध २१७–७ र नेदरल्यान्ड्सविरुद्ध २३८–३ को स्कोर बनाएको थियो । नेदरल्यान्ड्सलाई फाइनलमा ९६ रनमै सीमित गरी नेपालले आफ्नो बलिङ धार प्रस्तुत गरेको थियो । करणले ३ तथा सन्दीप र कमलले २–२ विकेट लिएर नेपालको बलिङ पनि कम नरहेको देखाएका थिए । नेपाली बलिङको यही धार ओमानमा ब्युँतिने आस गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु