काठमाडौँ: कुनै बेला एक किलोको ९ हजार रुपैयाँसम्म पुगेको कुरिलोको खुद्रा मूल्य अहिले २ सय ५० रुपैयाँमा झरेको छ । कलिलो, लामा डाँठ भएको र मोटाइ हेरेर कुरिलोको मूल्य निर्धारण हुने व्यवसायी बताउँछन् ।

हाल कुरिलो किलोको २ सय ५०, ३ सय र ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको शंखमूलकी तरकारी व्यवसायी सुनीता खतिवडाले सुनाइन् । ‘कुरिलो हेरेर मूल्य निर्धारण हुन्छ, कहिले बढ्छ, कहिले घट्छ,’ उनले सुनाइन् । ‘मेरो किसान’ अनलाइनले भने किलोकै ५ सय ५० रुपैयाँ लिइरहेको छ ।
कुरिलोको होलसेल मूल्य मंगलबार २ सय ५० देखि ३ सय रुपैयाँ थियो । यसको औसत मूल्य २ सय ७५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा उल्लेख थियो । उपत्यकामा जेठदेखि भदौ अन्तिमसम्म कुरिलो उत्पादन हुने गरेको किसान बताउँछन् । असार–साउनमा दिनकै कुरिलो टिप्न पाइने भए पनि अन्य मौसममा दिन बिराएर पाइने उनीहरूको भनाइ छ ।

भक्तपुरस्थित विविचा गाउँका किसानले एक रोपनी जग्गाबाट १० किलो कुरिलो टिपिरहेको बताए । २० रोपनी जग्गामा लगाइएको खेतीबाट अहिले दिनको ६० देखि एक सय किलोसम्म कुरिलो टिप्ने गरेको विविचा गाउँकी सरिता ख्याजुले जानकारी दिइन् । हिजोआज दिनकै टिप्नुपर्ने भए पनि गत वर्षको तुलनामा राम्रो नभएको उनले सुनाइन् । ‘यस वर्ष सुरुदेखि नै मल पाइएन, जसले गर्दा कुरिलो राम्ररी निस्केको छैन,’ उनले भनिन्, ‘एक दिन ६० किलो र अर्को दिन सय वा १ सय २० किलोसम्म कुरिलो टिप्छौं । मल पाए अझै बढ्ने थियो,’ उनले भनिन् ।

फागुनदेखि नै झार गोड्ने, मल हाल्ने, खनजोत गर्ने काम सुरु भए पनि पर्याप्त मात्रामा मल नपाएको उनको गुनासो छ । विविचा गाउँका किसानले कम्तीमा १ रोपनीदेखि अधिकतम २० रोपनीसम्म क्षेत्रफलमा कुरिलो लगाएका छन् । पछिल्लो समय यहाँका धेरै किसान कुरिलो खेतीतर्फ आकर्षित छन् । सुरुमा कुरिलोबाट आम्दानी प्रशस्त नहुँदा किसान जग्गा भाडामा लिएर खेती गर्न डराउँथे ।

अहिले भने यहाँका ८० प्रतिशतभन्दा बढी किसानले कुरिलो खेती गरिरहेका छन् । अहिले उनीहरूले होलसेलमै किलोको ३ सय २० रुपैयाँसम्ममा कुरिलो बेचिरहेका छन् ।

कालीमाटीमा चैत पहिलो साता कुरिलोको औसत मूल्य प्रतिकिलो ७ सय थियो । अन्तिम साता आइपुग्दा औसत मूल्य प्रतिकिलो ३ सय २५ रुपैयाँ पुगेको तथ्यांक समितिको छ । ‘वैशाख पहिलो साता औसत मूल्य प्रतिकिलो ३ सय रुपैयाँ थियो, अन्तिम साता प्रतिकिलो ४ सय रुपैयाँ पुग्यो,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘जेठ पहिलो साता औसत मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ थियो भने जेठ ३१ मा प्रतिकिलो २ सय १५ रुपैयाँ पुग्यो ।’

असार १ देखि १५ सम्म कुरिलोको औसत होलसेल मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ रहेको समितिको तथ्यांक छ । कुरिलोको प्रतिकिलो औसत मूल्य प्रतिकिलो असार १६ मा २ सय ७५, असार १७, १८ र १९ मा २ सय १० र २० गते २ सय २५ रुपैयाँ छ । आन्तरिक उत्पादन निस्कनासाथ मूल्य घट्दै जाने र उत्पादन बन्द भएपछि महँगिने समितिका सूचना अधिकारी श्रेष्ठले बताए । कुरिलो आयात र निर्यात दुवै भइरहेको भन्सार विभागले जनाएको छ । विभागको आयातको तथ्यांक हेर्दा निरन्तर बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष ०७७/७८ मा २ हजार रुपैयाँको १ सय ६० किलो कुरिलो आयात हुँदा चालु आर्थिक वर्षको पहिलो ११ महिनामै २ लाख २० हजार रुपैयाँ बराबरको ११ हजार ५ सय १३ किलो कुरिलो आयात गरिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा २ लाख ८४ हजार रुपैयाँको २० क्विन्टल ६० किलो कुरिलो कतार र अमेरिकामा निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा फ्रान्समा ५९ लाख ६६ हजार रुपैयाँको ७ क्विन्टल कुरिलो निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको नेपाली कृषिसम्बन्धी तथ्यांकीय जानकारी–०७६ अनुसार देशभर १ सय ६२ हेक्टर क्षेत्रफलमा कुरिलो खेती गरिन्छ । यसबाट बर्सेनि १ हजार १ सय ५२ टन कुरिलो उत्पादन हुने गर्छ । सात प्रदेशमध्ये वाग्मतीमा सबैभन्दा बढी ८ सय ४१ टन कुरिलो उत्पादन हुन्छ । मधेस र सुदूरपश्चिममा भने अहिलेसम्म उत्पादन नभएको मन्त्रालयको भनाइ छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago