भौगोलिक कठिनाइले गर्दा भोट हाल्न तीन दिन

धादिङ: धादिङको रुबी भ्याली गाउँपालिका–५ नेबेरका स्थानीय भोट हाल्न तीन दिन छुट्याउँछन् । उनीहरू भोट हाल्नकै लागि राति बास बस्न बाध्य छन् । ‘मतदान केन्द्र लापा मावि सदाचेत पुग्न नै एक दिनको समय छुट्याउनुपर्छ,’ नेबेरका मनसिंह तामाङ भन्छन्, ‘अघिल्लो दिन बिहानै हिँड्यो भने बेलुका मतदान केन्द्रमा पुगिन्छ, भोलिपल्ट भोट हालेर कपुरगाउँ बास बस्न पुग्ने र पर्सिपल्ट घर फर्कन्छौं ।’

मनसिंह उमेरले ७६ वर्ष लागे । उमेर बढ्दै गएकाले हिँडडुल गर्न पहिलेको जस्तो सक्दैनन् । उनी रात बसेर पनि हरेक निर्वाचनमा भोट हाल्न पुगेकै हुन्छन् । ‘२०४६ सालदेखि भोट हाल्दै आएको छु, केही परिवर्तन होला, सुखसुविधा पाइएला भनेर रात बसिवरी भोट खसालेको छु,’ उनी भन्छन्, ‘गाउँमा परिवर्तन र सुविधा त अहिलेसम्म केही पाइएन नै संघीयता हुँदासमेत भोट हाल्न जाँदा पनि ४६ सालदेखिकै दुःख दोहोरिरहने भयो ।’
उत्तरी धादिङको रुबी भ्याली गाउँपालिका–५ नेबेर गाउँ पहाडको बीचमा छ । गाउँबाट मतदान केन्द्र भएको स्थान सदाचेत आइपुग्न भीर, खोलानालाको बाटो झन्डै एक दिन लाग्छ । वृद्धवृद्धाहरूलाई एक दिनमा आइपुग्न धौधौ पर्छ । विभिन्न राजनैतिक परिवर्तन सँगैको चुनावमा लापाको नेबेरवासीले ७ घण्टासम्म पैदल हिँडेर गई मतदान गरे । राजनीतिक परिवर्तनसँगसँगै गाउँमा पनि परिवर्तन र सुखसुविधाको आस गर्दै पटक–पटक दुःख गरी भोट हाले पनि कहिल्यै परिवर्तन र सुखको अनुभूति गर्न नपाएको नेबेरकै ७२ वर्षीय लालमाया तामाङले बताइन् । सुखसुविधा गाउँमै आउँछ कि भन्ने आस लालमायालाई अझै छ । त्यही भएर यसपालि पनि भोट हाल्न जाने तयारीमा छिन् । ‘गाउँगाउँमा सिंहदरबार भन्थे, व्यवस्था फेरियो तर अवस्था अझै फेरिएको छैन,’ उनी भन्छन्, ‘भोट हाल्न जान साह्रै दुःख छ, यसपालि त त्यति हिँड्न पनि सक्दिनँ होला, कसैले पुर्‍याइदिने व्यवस्था मिलाइदिए हुन्थ्यो ।’

नेबेरकै ७४ वर्षीय तार्जुङ तामाङ भन्छन्, ‘गाउँपालिका भएपछि त पक्कै हुन्छ जस्तो लागेको थियो तर फेरि पनि पुरानै ठाउँमा मतदान केन्द्र कायम भएछ ।’ यसपालि पनि भोट हाल्न जाने तयारीमा रहेकी तार्जुङ भौगोलिक बनावटअनुसार मतदान केन्द्र हुनुपर्ने माग गर्छिन् । अघिल्लो निर्वाचनमा भोट हाल्न अघिल्लो दिन नै मतदान केन्द्रमा पुगेकी उनी यसपालि पनि भोट हाल्न जान तयारी गरिरहेकी छन् । सधैं भीरपाखा गर्दै हिँडिरहनुपर्ने बाध्यता हट्छ कि तार्जुङमा यही आशा छ । नेबेरमा ७५ घरधुरी र तीन सयभन्दा बढी जनसंख्या छ । भूकम्पपछि घरधुरी बढेका छन् । भूकम्पपछि धादिङबेंसी आसपासमा बस्दै आइरहेकाहरू केही गाउँमै फर्किसकेका छन् । नेबेरका मतदाताहरू वैशाख २९ गते बिहान नै मतदान केन्द्र लापा हिँड्ने तयारीमा छन् । बेलुका मतदान केन्द्र आसपासमा पुगेर बास बस्ने, भोलिपल्ट भोट हालेर कपुरगाउँ बास बस्न पुग्ने र पर्सिपल्ट घर फर्कने तयारी गरेका छन् । नेबेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेतलगायत बस्तीका मतदाता पनि अघिल्लो दिन नै मतदान केन्द्रमा पुग्ने गरेका छन् ।

७४ वर्षका तेन्चेतका मैछिरिङ तामाङ पञ्चायतकालदेखि नै भोट दिएको बताउँछन् । डाँडाकाँडा, खोलानाला, भीरपाखा छिचोल्दै हरेक निर्वाचनमा भोट हाल्न पुग्छन् । ‘यसपालि पनि भोट हाल्न मतदान केन्द्रमा जाने तयारीमा छन् । युवा अवस्थामा साथीहरूसँग गफिँदै हिँड्न रमाइलो हुन्थ्यो, जोस जाँगर पनि आउँथ्यो, अहिले त्यति हिँड्न सक्दिनँ,’ उनी भन्छन्, ‘हरेक चुनावमा रात बसेर भोट हाल्न पुग्छु ।’ मैछिरिङलाई आफ्नो गाउँले परिवर्तनको रूप फेर्छ कि, केही सुविधा हुन्छ कि भन्ने आस छ ।

साविकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुबी भ्याली गाउँपालिका बनेको छ । रुबी भ्याली गाउँपालिकाअन्तर्गत ८ वटा मतदानस्थल छन् । वडा १ र ५ मा भने एक/एकवटा मतदानस्थल कायम गरिएको छ । यस भेगमा उम्मेदवारहरूलाई भोट माग्न जान पनि कठिन छ । वडा सदस्य उठेका नेबेरका दर्ज्युङ तामाङ भन्छन्, ‘भौगोलिक कठिनाइले गर्दा भोट हाल्न सबैजना मतदान केन्द्रसम्म पुग्न सक्दैनन्, उम्मेदवारहरू भोट माग्न पनि विरलै पुग्छन् ।’ यसरी रात बसेर भोट हाल्न जाने मतदातालाई उम्मेदवारले नै बस्ने र खाने व्यवस्था मिलाइदिने गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago