उच्च मनोबल र एकताका साथ चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षी लक्ष्य राखेको एमालेले आगामी निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनको सामना गर्दै छ ।
केन्द्रीय तहमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूसँग सहकार्यका लागि संवाद अगाडि बढाएको हो । पाँच दलविरुद्ध एक्लै प्रतिस्पर्धा गर्ने केन्द्रीय कमिटीको मूल निर्णय भए पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने विकल्प राखेको एमालेले विभिन्न दलसँग संवाद गरिरहेको छ । केही दलका शीर्ष नेतासँग एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले र केहीसँग उनीनिकट नेताहरूले संवाद गरेका छन् ।
ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका महामन्त्री धवलशमशेर राणासँग आफैं वार्ता गरेका छन् । नेताहरूका अनुसार एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच विभिन्न चरणमा बालकोटमा वार्ता भएका छन् । थापा नेतृत्वको राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा एमालेसँग तालमेललाई प्राथमिकतामा राख्ने र तालमेल भएका स्थानमा साझा चुनाव चिह्न लिएर उठ्नेबारे टुंगो लगाउने जिम्मा पदाधिकारी बैठकलाई दिने औपचारिक निर्णय गरेको छ । उक्त निर्णयपूर्व ओली र थापाबीच भेटवार्ता भएको थियो ।

राप्रपा नेपालका सहायक महामन्त्री राजाराम बर्तौलाले सहयोग आदानप्रदानका लागि ओली र थापाबीच भेटघाट र सम्पर्क भइरहेको बताए । उनका अनुसार वार्ताका लागि राप्रपा नेपालबाट सुशील श्रेष्ठ र एमालेका तर्फबाट देवेन्द्र दाहाललाई जिम्मा दिइएको छ । ‘पार्टी निर्माणकै क्रममा रहेको हुँदा सम्भवतः धेरै ठाउँमा हाम्रो उम्मेदवारी रहँदैन, केही ठाउँमा उम्मेदवारी दिन्छौं, एमालेको सहयोग लिन्छौं,’ उनले भने, ‘हाम्रो थोरै मतले पनि उहाँहरू (एमाले) लाई के–कति ठाउँमा सघाउ पुग्छ, त्यहाँ गर्ने भन्ने छ । एक–दुई दिनमा हाम्रो अवस्थाबारे जिल्ला–जिल्लाबाट रिपोर्ट आइसकेपछि एमाले नेताहरूसँग बसेर निष्कर्षमा पुग्छौं ।’

राप्रपा नेपालका नेताहरू सत्ता गठबन्धन सशक्त भएर अगाडि आइराखेकाले एमालेसँगको सहकार्य अपरिहार्यजस्तो बनेको निष्कर्षमा पुगेका छन् । ‘यो बेला एमालेलाई थोरै सहयोगले पनि अर्थ राख्छ, हामीलाई पनि आवश्यक भएका कारण सहयोग आदानप्रदान गरौं भन्नेमा पुगेका हौं, पहिलादेखि भइरहेको छलफलले अहिले मूर्तरूप लिन लागेको हो,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले चैत १७ मा नेपालगन्जमा राप्रपा महामन्त्री राणासँग तालमेलबारे छलफल गरेका थिए । छलफलमा उनले दुई पार्टीबीच स्थानीय, प्रदेश र संघीय चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताएका थिए तर एमालेका तर्फबाट यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन । तालमेलबारे औपचारिक प्रस्ताव नआएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘महामन्त्री धवलशमशेर राणासँग केपी ओलीले भेट्नुभएको हो तर एमालेका तर्फबाट औपचारिक प्रस्ताव आएको छैन, हामीले पनि पठाएका छैनौं,’ उनले भने, ‘प्रस्ताव आयो भने हामी छलफल गर्छौं तर अहिले हाम्रै तागतमा उम्मेदवार उठाउने तयारीमा छौं ।’

एमाले उपाध्यक्ष विष्णु पौडेलले भने दुवै राप्रपासँग चुनाव केन्द्रित छलफल नभएको दाबी गरे । ‘कमल थापा र धवलशमशेर राणासँग अध्यक्षको भेटघाट भएको सत्य हो तर त्यहाँ चुनावी तालमेल वा गठबन्धनका बारेमा एमालेको कुनै सोच, दृष्टिकोण, प्रस्ताव, सहमति केही पनि भएको छैन,’ पौडेलले भने, ‘उहाँहरूको चाहना होला तर एमालेले कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको कुनै समूहसँग चुनावी तालमेल र गठबन्धन गर्दैन । लोकप्रिय मान्छे छन् र सूर्य चिह्नबाट लड्छन् भने त्यस्तो ठाउँमा हामी सोच्न सक्छौं ।’ एमाले र राप्रपाबीच २०७४ सालको संघीय निर्वाचनमा झापा जिल्लामा तालमेल भएको थियो । तालमेलकै बलमा ओली अत्यधिक मतले विजयी भएका थिए भने लिङ्देनले पनि चुनाव जितेका थिए ।

दुई राप्रपाबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग पनि तालमेलका लागि अनौपचारिक छलफल गरेको स्रोत बताउँछ । लोसपा नेता केशव झाले अहिलेसम्म एमालेसँग चुनावी तालमेलको बारेमा औपचारिक छलफल नभएको बताए । ‘चुनावमा एक्लै लड्ने एमालेको निर्णय छ, हामी पनि एक्लै लड्ने गरी तयारी गरिरहेका छौं । अब कुराकानी हुन सक्ला किनभने चुनाव नजिक आयो,’ झाले भने, ‘कतिपय ठाउँमा तालमेल गर्न नपर्ला । केही ठाउँमा एमालेसँग तालमेल गर्न पनि सक्छन् साथीहरूले किनभने स्थानीय आवश्यकता र अवस्थाअनुसार जोसँग उपयुक्त हुन्छ, तालमेल गर्न सक्नुहुन्छ भनेर अधिकार दिएका छौं ।’

एमाले र नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका केही नेताहरूबीच पनि अनौपचारिक तहमा वार्ता भइरहेको स्रोत बताउँछ । केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि चन्दले पार्टीलाई सिधै चुनावमा लैजान सकेका छैनन् तर उनको पार्टीले ‘देशभक्त र राष्ट्रवादी’ शक्तिसँग स्वतन्त्ररूपमा सहकार्य गर्ने नीति लिएको छ । बिहीबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचन आयोग पुगेर चुनावी प्रक्रियाबारे जानकारी लिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले ‘गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो, बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन्, त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ’ भन्ने निष्कर्ष निकालेको थियो । ‘शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आकलन गर्ने, मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’ एमालेको नीति छ ।

तर, स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने विकल्प खुला छ । यसमा प्रदेश कमिटीको जानकारी र सहमति आवश्यक पर्ने केन्द्रीय कमिटीबाट पारित अध्यक्ष ओलीको प्रतिवेदनमा छ । सत्तापक्षले गठबन्धन बनाए पनि पहिलो पार्टी बन्न सकिने एमालेले निष्कर्ष छ । विभाजन हुँदा गुमेको शक्ति अन्य पार्टीका नेता–कार्यकर्ता भित्र्याएर पूरा गर्ने ओलीको रणनीति छ । त्यसैअनुसार उनले अहिले देशव्यापी प्रवेश अभियान चलाएका छन् । ओलीले उच्च मनोबल र एकताका साथ चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन पनि दिँदै आएका छन् ।

Comments
Kamal Panthi

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago