तुलसीपुर: जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ । घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ ।

स्थानीयवासी सङ्गीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ । तर उनीहरूले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन् । किनकि उनीहरूका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै दरिभान घर्तीको परिवारले विसं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो । तर उनीहरूले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरूले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरूले भोगचालन गर्दै आएका छन् ।

जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन् । त्यहाँका करिब ४० घरको यस्तो समस्या छ । भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयवासी सङ्गीता बस्नेतले बताए । ‘हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौँ’, उनले भने, ‘भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौँ, त्यत्तिमात्रै हाम्रो नाममा आएपनि खुसी हुने थियौँ ।’

अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरूले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताए। ‘हामीले किनबेच पनि गर्न पाएका छैनौँ, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौँ’, उनले भने, ‘घर हालौँ भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ ।’

घर्तीको परिवार विसं २०१६ मा त्यस स्थानमा बसोबास गर्न आएको हो । उनीहरूले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन् । जतिबेला छ महिना त्यस ठाउँमा बस्ने र बाँकी छ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो । औलो रोगको जोखिमले पनि त्यहाँका नागरिक पहाड जाने गर्थे । त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीयवासी घर्तीले बताए । ‘हामी छ महिना दाङ बस्थ्यौँ, छ महिना पहाड बस्थ्यौँ’, उनले भने, ‘त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीलाई थाहा भयो ।’ त्यहाँका स्थानीयवासीले यसरी जग्गा बिग्रिएको भन्ने पनि थाहा पाएका थिएनन् । विसं २०५२/५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरूले जग्गा यसरी बिग्रिएको भन्ने थाहा पाए ।

अहिले मालपोत एउटाले तिर्ने र भोगचलन अर्कैले गर्ने अवस्था सिर्जना भएको छ । ‘मालपोत कर हामीले तिर्छौँ’, स्थानीय मीनप्रकाश विश्वकर्माले भने, ‘तर जग्गा अर्कैले भोग गर्ने गरेका छन् ।’ राजनीतिक दलहरूले मिलाउन चाहेमा यो मुद्दा मिल्ने भए पनि यस विषयमा राजनीतिक दलहरूले पनि आफ्नो स्वार्थलाई बढी ध्यान दिएको समेत उनीहरूको गुनासो छ ।

त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो । स्थानीय दुर्गाकुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरु पाखो बारीमा चित्त बुझाउन बाध्य भए । ‘हामीले खेत भनेर किन्यौँ, केही वर्ष जोतभोग पनि गर्यौँ’, बस्नेतले भन्नुभयो, ‘तर पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दाबी ग¥यो, हाम्रो भागमा पाखो बारीमात्रै पर्यो ।’ अहिले जग्गा बढी परेका व्यक्तिहरूले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको छैन । यस विषयमा पटक–पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । ‘हामीले नापी कार्यालयलाई झक्झक्यौँ, पटक–पटक वडालाई पनि भन्यौँ, उपमहानगरपालिकामा पनि गयौँ’, उनले भने, ‘हुन्छ–हुन्छ भन्ने भयो तर कुनै निकायबाट यसमा चासो दिइएन ।’

यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयवासीको भनाइ छ । नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयवासी नआएको कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताए । ‘म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि समस्या लिएर आउनुभएको छैन’, उनले भने, ‘यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयवासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ ।’ रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago